फुटबलरको कायापलट गर्ने ट्रान्सफर विण्डो



-कविरस शर्मा
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियम अनुसार युरोपेली फुटबल क्लबहरुलाई वर्षको २ पटक खेलाडी किनबेच गर्ने नियम तोकिएको छ । जुन ट्रान्सफर विन्डोको नामले परिचित छ । व्यवसायिक फुटबलमा गर्मी (समर) र जाडो (विन्टर) याम गरी दुई पटक ट्रान्सफर विन्डो खुल्ने गर्दछ । यधपि कारोबार सुरु र बन्द गर्ने समय भने सम्बन्धित देशका फुटबल संघले निर्धारण गर्ने गर्छ । अहिले समर विन्डो ट्रान्सफर बजार खुला छ । ट्रान्सफर विन्डो खुलेसँगै फुटबल व्यवसायमा अर्बौं रुपैया कारोबार भइरहेको छ ।

इंग्लिस प्रिमियर लिगमा मे १६ देखि ट्रान्सफर बजार खुलेको थियो । जुन अगस्ट ९ सम्म खुला रहनेछ । नियम अनुसार इंग्लिस टोलीले अगस्ट ३१ सम्म मात्र खेलाडी बेच्न पाउँछन्, तर किन्न भने पाउँदैनन् । अन्य यूरोपियन टोलीका लागि भने जुन १ देखि बजार खुलेको थियो । जसका कारण ती क्लबले भने अगस्ट ३१ सम्म खेलाडी किनबेच दुवै गर्न पाउनेछन् ।

समर ट्रान्सफर विन्डो क्लबहरुका लागि आगामी सिजनमा बलियो टोली बनाउनका लागि महत्वपूर्ण हुन्छ । सिजनको मध्येमा अर्थात जनवरीमा खुल्ने विन्डोमा भने तुलनात्मक रुपमा त्यति धेरै कारोबार भएको देखिँदैन । अहिले क्लबहरुले खेलाडी भित्र्याउने र बेच्ने काम गरिरहेका छन् । यस सिजनको समर विन्डो सुरु भएयता रियल मेड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउण्डमा इटालियन महारथी क्लब युभेन्टस पुगिसकेका छन् ।

यस्तै रोमाका गोलकिपर एलिसन बेकर पनि ६५ मिलियन पाउन्डको कीर्तिमानी रकममा लिभरपुलमा अनुबन्धित भएका छन् । गोलकिपर किनबेचमा अहिलेसम्मकै यो सर्वाधिक महँगो ट्रान्सफर बन्यो ।

यसरी हुन्छ खेलाडी स्थान्तरण
खेलाडी किनबेचमा एजेन्ट भूमिका महत्वपूर्ण हुन्छ । एजेन्टको प्रमुख काम खेलाडीहरुलाई स्थान्तरणमा सहयोग गर्नु हो । प्रायजसो खेलाडी एजेन्टमार्फत नै स्थान्तरण हुँदै आएको छ । कुनै एक क्लबले आफुलाई उपयुक्त खेलाडीलाई अनुबन्ध गर्न चाहेमा उसले सबैभन्दा पहिला ती खेलाडीको एजेन्टसँग कुरा गर्छ । त्यसपछि मात्र एजेन्टले खेलाडी अनुबन्धित क्लबसँग कुरा अघि बढाउँछ ।

त्यसपछि एजेन्टले खेलाडीसँग प्राप्त प्रस्तावका बारेमा छलफल गर्छन् । खेलाडी मात्रै अर्को क्लबमा जान चाहेर पनि हुँदैन । सम्बन्धित क्लब पनि खेलाडी बेच्न सहमत हुनुपर्छ । किन्न चाहने र बेच्न चाहनेबीच खेलाडीको मूल्यमा सहमति जुट्न समेत आवश्यक हुन्छ । यो ट्रान्सफर विन्डो खुला रहेको बेला मात्रै सम्भव हुन्छ । यो बाहेक खेलाडी, एजेन्ट, दुई क्लब र वकिलबीच अनुबन्धको कुरा टुंगो लाग्न आवश्यक हुन्छ । नयाँ सम्झौतामा तलव र बोनसको विवरण समेत समावेश गरिन्छ ।

एजेन्टको भूमिका
खेलाडीले आफ्नो अनुकुल आम्दानीलाई सहज बनाउन एजेन्टलाई भाडामा लिन्छन् । अनुबन्धको विषय क्लबमा होस् या कम्पनीमा, एजेन्टले नै सबै हेर्छन् । खेलाडी केवल फुटबलमा मात्रै ध्यान दिन्छन । यद्यपी खेलाडी र एजेन्टबीच यो विषयमा छलफल भने हुने गर्छ । खेलाडीले काम गरेवापत एजेन्टलाई भुक्तानी गर्ने गर्छन् । कुनै खेलाडीले उच्च स्तरको प्रर्दशन गरिरहेको छ भने उ ठूला ठूला टिमको नजरमा पर्छ । ती टिमले उसलाई अनुबन्ध गर्न खोज्नु स्वभाविके हो । ती क्लबले खेलाडीलाई लोभलाग्दो तलब, बोनस र अन्य सुविधा दिने प्रस्ताव राख्छन् । केवल ठूला क्लब मात्रै होइन मार्केटिङ कम्पनी पनि त्यस्ता खेलाडीप्रति आकर्षित हुन्छन् । उनीहरुबाट ती ब्यापारिक संस्थाले आफ्ना उत्पादनको विज्ञापन गरिदिओस् भन्ने चाहान्छन् र आकर्षक पारिश्रमिक समेत दिन्छन् ।

यदि कुनै क्लब खेलाडी बेच्न तयार छ भने दुई क्लब र खेलाडीका एजेन्टसँग स्थान्तरण शुल्कका बारेमा कुराकानी हुन्छ । एजेन्टले तलब, प्रर्दशन बोनस, रिलिज क्लोज, म्याच बोनस आदीका बारेमा छलफल गर्छ । कुरा मिलेमा एजेन्टको निर्देशनपछि खेलाडीले आफूले खेल्ने गरेको क्लबमा आफ्नो अनुबन्ध समाप्त गरिदिन्छ र नयाँ क्लबमा स्थान्तरण हुन्छ ।
वास्तवमा खेलाडी स्तान्तरण सबैभन्दा विवादास्पद विषय पनि हो । मेसी, रोनाल्डो, नेयमार जस्ता अन्य चर्चित खेलाडीलाई अनुबन्ध गर्दा क्लबले पनि बलियो प्रायोजक समेत पाउने गर्छ । जसका कारण जर्सी विक्रिका साथै अन्य मर्केन्डाइज आइटमको बिक्रि बढ्ने गर्छ । क्लबले उनीहरुका एप, भिडियो, साइटको तस्विर प्रयोग गर्छ ।

टिमको किट रिलिज गर्दा उनीहरुको तस्विर प्रयोग गरिन्छ । यसले क्लबलाई वित्तिय फाइदा पु¥याउँछ । यी सबै कुरा इमेज राइट्सभित्र पर्छन् । अनुबन्धको समयमा यो अधिकार स्पष्टरुपमा उल्लेख गरिन्छ । क्लबले प्रायोजक समक्ष अधिकतम इमेज राइट्स माग राख्ने गर्छ । तर, यो राइट्को विषयमा निकै विवाद समेत हुने गरेको छ । कहिले काहिँ इमेज राइट्स अथवा तलबको कुरा नमिल्दा खेलाडीले क्लबसँग सम्झौता थप गर्न मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस्