उपप्रधान तथा रक्षामन्त्रीसँग राजदूत जावेदको शिष्टाचार भेट



काठमाडौँ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित रक्षामन्त्रीको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिनुभयो । सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि रहीआएको सुमधुर सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
पाकिस्तानमा हालै सम्पन्न निर्वाचनका लागि बधाई दिँदै उहाँले नयाँ प्रजातान्त्रिक सरकार गठन हुन लागेकोप्रति खुशी व्यक्त गर्नुभयो । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा मात्र नभएर जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै रक्षामन्त्री पोखरले सम्बन्ध विस्तारका लागि दुवै पक्ष मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो ।
दुई देशको राष्ट्रिय सेनाबीच समेत मैत्रीपूर्ण सम्बन्ध रहनुका साथै सैनिक सहयोगको आदानप्रदान भइरहेकोमा आगामी दिनमा पनि यस प्रकारको सहकार्य निरन्तर रहिरहनुपर्नेमा रक्षामन्त्री पोखरेलको जोड थियो ।
दुई देशबीच आर्थिक, सामाजिक तथा सैनिक क्षेत्रमा आगामी दिनमा के कस्तो सहकार्यलाई प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा पनि उहाँहरुबीच विचार विमर्श भएको प्रवक्ता राजभण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा पाकिस्तानका राजदूत डा जावेदले नेपाल र पाकिस्ताबीचको द्विपक्षीय तथा कूटनितिक सम्बन्ध अत्यन्त प्रगाढ र सुमधुर रहेको बताउनुभयो ।
पाकिस्तानले नेपाली सेनाका मेडिकल अधिकृतलगायत विभिन्न सैनिकहरूका लागि तालिम तथा प्रशिक्षणलगायतका सहायता उपलब्ध गराउँदै आएको र भविष्यमा नेपालले उपयुक्त ठानेको त्यस क्षेत्रमा आवश्यकतानुसार सहायता उपलब्ध गराउने राजदूत जावेदको भनाइ थियो ।
उहाँले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशको तर्फबाट हुने उच्चस्तरीय भ्रमणले थप मद्दत पु¥याउने हुँदा यसलाई आगामी दिनमा निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्