बैठक बहिष्कार गर्नुपर्ने कारण छैनः सभामुख महरा



काठमाडौँ ।
सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दलको बहिष्कारपछि पनि सदन चल्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “यो नयाँ इतिहास नै होइन, विसं २०४८ मा पनि यस्तो अभ्यास भएको थियो, त्यसबेला नेपाली काँग्रेस सत्तामा थियो, यो पहिले नै भएको अभ्यास र परम्परा हो ।”

बहिष्कारपछि पनि सदन चलेको विषयमा सभामुख महराले भन्नुभयो, “सदनमा मन्त्रिसँग प्रश्न उत्तरको व्यवस्था अब छिट्टै हुँदैछ, आज प्रमुख प्रतिपक्ष मात्रै गएको हो, अरु धेरै प्रतिपक्ष त्यहाँ हुनुहुन्थ्यो, म मिलन बिन्दुमै छु, तर यो सदाका लागि नजिर बन्न सक्दैन”, उहाँले भन्नुभयो ।

विषयवस्तुका हिसाबले त्यति ठूलो बहिष्कार नै गर्नुपर्ने कारण नभएको भन्दै सभामुख महराले शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयलाई जानकारी गराउने र सुन्ने विषय भएको बताउनुभयो । सदनमा गृहमन्त्रीले कञ्चनपुरमा निर्मला पन्तको हत्या र सांसद निरुदेवी पालमाथि काठमाडौँमा आक्रमण भएको घटनाबारे जवाफ दिएपछि प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले गृहमन्त्रीसँग थप प्रश्न गर्न खोजेपछि सभामुखले त्यो नमिल्ने भनी उठेर विरोध जनाउनुभएका प्रतिपक्षीलाई आशन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रहलाई प्रमुख प्रतिपक्षका सांसदले बेवास्ता गरेपछि सभामुखले सदनको कारबाही अघि बढाउनुभएको थियो । काँग्रेसका अवरोका बाबजुद प्रतिनिधिसभामा सभामुखले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनसम्बन्धी तथा अर्थमन्त्री डा युवराज खतिवडाले बीमा विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यसलगत्तै नेपाली काँग्रेका सांसदहरुले सदन बहिष्कार गरेका थिए ।

आजैको बैठकमा गृहमन्त्री रामबहादुर थापाले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धि प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन १८ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्