ट्राफिक कार्यालय म्याग्दीको राजश्व झण्डै दोब्बर



प्रताप बानियाँ, म्याग्दी ।

पछिल्लो समय जिल्ला ट्राफिक कार्यालय म्याग्दीले राजश्व सङ्कलनमा भारी वृद्धि गरेको छ । विगत ४ वर्षको अवधिलाई हेर्ने हो भने वर्षैपिच्छे क्रमशः राजश्व सङ्कलनको दरमा रकम थपिँदै गएको छ । एक वर्षको अवधिमा मात्रै ट्राफिक कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गतवर्ष झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०७४/७५ मा जिल्ला ट्राफिक कार्यालय म्याग्दीले कुल ५७ लाख ६६ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ । गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा जम्मा ३२ लाख ६३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको ट्राफिक प्रहरीले गएको आवमा राजश्वको दरमा ह्वात्तै वृद्धि गरेको छ । यो रकम आव ०७३/७४ को तुलनामा गत आवमा २५ लाख तीनहजार पाँचसय रुपैयाँले बढी सङ्कलन भएको छ ।

ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा १३ लाख २३ हजार र ०७२/७३ मा १८ लाख ५२ हजार तीनसय रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । उक्त राजश्व रकम ट्राफिक कार्यालयले विभिन्न शीर्षकबाट सङ्कलन गरेको जानकारी दिएको छ । गतवर्ष जिल्लाभर कुल ८ हजार २०० ओटा विभिन्न प्रकृतिका सवारीसाधनहरु ट्राफिक कार्वाहीमा परेका थिए । तीनै सवारीसाधनहरुबाट गएको वर्ष ५७ लाख ६६ हजारबढी राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताए ।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सबैभन्दा धेरै मोटरसाईकलहरु कार्वाहीमा परेका छन् । २ हजार ३२३ ओटा मोटरसाईकलबाट १७ लाख ९२ हजार, २ हजार ३९ ओटा जीप तथा कारबाट १३ लाख ८८ हजार पाँचसय र १ हजार ५३१ वटा बसबाट १० लाख ६९ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रमुख पाठकले जानकारी दिए । यसैगरी १ हजार १७७ ओटा ट्रकबाट सातलाख ८२ हजार पाँचसय र १ हजार १३० वटा ट्याक्टरबाट सातलाख ३४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको उनले बताएका छन् ।

यस्तै कार्वाहीमा परेकामध्ये मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनेमा २९६ जनालाई कार्वाही गर्दा उनीहरुबाट दुईलाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । जिल्लामा सवारीसाधनको चाप बढेसँगै ट्राफिक प्रहरीको पनि सक्रियता बढेकाले राजस्वमा दोब्बरले वृद्धि भएको ट्राफिक प्रहरीको भनाइ छ । सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीचालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी हाँक्ने चालक तथा सवारी धनीलाई कारवाहीको दायरामा ल्याइएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा विभिन्न १४ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । चालकको लापर्वाही, तिव्र गति, सडकको जिर्ण अवस्था, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्नु र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको ट्राफिक प्रमुख पाठक बताउँछन् । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक व्यवस्थापन गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यार्थी, यातायात व्यवसायी, सवारीचालक र सर्वसाधारणलाई लक्षित गरेर ट्राफिक नियमबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेको प्रहरी जवान बैकुण्ठ पौडेलले बताए ।

कुन महिनामा कति कार्वाही र राजश्व ?

महिना कार्वाही सङ्ख्या राजश्व
साउन ४०० रु. २,६७,०००।–
भदौ ४५० रु. ३,१७,०००।–
असोज ६०० रु. ४,३५,५००।–
कात्तिक ६०० रु. ४,५९,०००।–
मङ्सिर ६५० रु. ४,७१,५००।–
पुस ६५० रु. ४,७५,०००।–
माघ ६५० रु. ४,८०,५००।–
फागुन ७०० रु. ४,६८,०००।–
चैत ७०० रु. ४,९०,५००।–
बैशाख ७५० रु. ५,१२,५००।–
जेठ ८०० रु. ५,५०,०००।–
असार १२५० रु. ८,४०,०००।–
जम्मा ८२०० रु. ५७,६६,५००।–

स्रोतः जिल्ला ट्राफिक कार्यालय, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्