ढकाल सुमधुर साँझबाट अमेरिकाबासीको मन जिते रामकृष्णले



लोकप्रिय गायक रामकृष्ण ढकालले अमेरिकामा समेत एकल साँझ गरेर अमेरिकाबासी नेपालीको वाहवाही पाएका छन्। दर्जनौं कालजयी र अर्थपूर्ण गीतका यी गायकले हालै अमेरिकाको न्युयोर्कस्थित वुडसाइड क्विन्समा हिमालय इभेन्ट्स (मितेरी गु्रप) द्वारा आयोजित ढकाल सुमधुर साँझमा अमेरिकाबासी नेपालीको वाहवाही पाएका हुन्।

उनको पाँचांै एकल साँझमध्ये प्रवासमा भएको यो पहिलो सुमधुर साँझ हो। यसभन्दा अघि रामकृणले २०४५, २०५५, २०७० साल र पछिल्लोपटक ढकाल सुमधुर साँझमार्फत संगीतप्रेमीको मन जितिसकेका छन्। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट गायन यात्रा शुरू गरेका ढकालले कार्यक्रममा आफ्ना लोकप्रिय २ दर्जनभन्दा बढी गीत प्रस्तुत गरी दर्शकको मन जितेका थिए।

अमेरिकास्थित नेपाली दूतावासका वाणिज्य दूत कृषि क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम शुरूआतमा बाँचुन्जेलीलाई गायक ढकाल नेपाली पोशाकमा सजिएका थिए। लाइभ ब्यान्डका साथ एकल साँझमा उत्रिएका गायक ढकालले लगातार १५ गीत गाएपश्चात् विश्राम लिएर अर्को पहिरनमा प्रस्तुत हुँदै आफ्ना रोमान्टिक गीतहरू गाएर दर्शकलाई मोहित तुल्याएका थिए। आफ्नोसँगै स्वरसम्राट नारायण गोपालको गीत प्रस्तुत गरेका आफ्नो मान्छे आफ्नै हुन्छ गायक ढकालले छिटको गुन्यु र बाँचुन्जेलीलाई स्थानीय गायिका वसन्ती राई तथा दीपा ढुंगेलका साथ गाएका थिए। ६ जना वाद्यवादकको साथमा प्रस्तुत भएका गायक ढकाललाई कार्यक्रममा दर्शकले उनका प्रायः सबै गीत सँगै गाएर साथ दिई मनोरञ्जन लिएका थिए।

दर्शकले शुरूदेखि अन्त्यसम्म बसेर मनोरञ्जन लिएका थिए। भरिभराउ हलमा करिब ३ घन्टासम्म चलेको कार्यक्रममा विश्रामको समयमा पनि मानिसले आफ्नो सिट नछोडेको अमेरिकास्थित नेपाल समाचारपत्रका सहयोगीले जानकारी गराएका छन्। न्युयोर्कमा हुने नेपाली कार्यक्रममा डान्सिङ नम्बरका गीतहरू प्रस्तुत हुँदै आए पनि दर्शक रामकृष्णको आफ्नै शैलीको मेलोडियस गीतमा झुमेका थिए।

‘भरिभराउ हलमा सिटभन्दा बढी दर्शको उपस्थिति हुनु न्युयोर्कका लागि नै उदाहरणीय थियो, जसले मलाई उत्साहित बनाएको छ।’ –नेपाल समाचारपत्रसँग कुरा गर्दै अमेरिकाबाट रामकृष्णले भने। कार्यक्रमको संयोजन अभय ढुंगेलले गरेका थिए भने कार्यक्रममा बाँसुरीमा सुशील विश्वकर्मा, तबलामा प्रमोद उपाध्याय, गिटारमा विष्णु सुनुवार, बेस गिटारमा शिशिर श्रेष्ठ, किबोर्डमा डेबिट ढकाल र अक्टोप्याड मादलमा न्हुच्छेमान डंगोल रहेका थिए।

रामकृष्ण निर्णायक रहेको सांगीतिक प्रतियोगिता मेरो भ्वाइसकपको पहिलो सिजन र मेरो डान्स कप तेस्रो सिजनको ग्रान्ड फिनाले आगामी ४ अगस्टमा हुने भएको छ। एक्रोेनको हायोनमा ७ हजार दर्शक अट्ने हलमा हुने प्रतियोगिताको रामकृष्णका साथमा इन्दिरा जोशी, अर्जुन रसाइली र रीमा गुरुङ होडा अमेरिकामा छन्। डान्सकपका लागि केकी अधिकारी र दिलीप रायमाझी निर्णायक रहेका छन् भने होस्टमा रीमा विश्वकर्मा छिन्।

प्रतिक्रिया दिनुहोस्