आममाफीको उपयोग गरौं



नेपालीको वैदेशिक रोगजारको प्रमुख गन्तव्यमध्ये एक युएई सरकारले अवैधरुपमा बसेका विदेशी नगरिकको लागि आममाफी दिँदै स्वदेश फर्कन वा वैधानिकरुपले बस्न तीन महिनाको समयावधि तोकेको छ ।

अगस्ट १ बाट यो निर्णय लागू भएपछि भिसाको अवधि सकिएर म्यादभन्दा बढी बसेका, कम्पनी छोडेर भागेका तथा अन्य तरिकाले अवैधरुपमा बसेका कामदार लाभान्वित हुनेछन् । यो आममाफीको व्यवस्थाले युएईको अध्यागमनको नियमअनुसार लाग्ने जरिबाना तथा शुल्कसमेत मिनाहा हुनेछ । प्रक्रिया पु¥याएर वैध तरिकाले बस्न पनि पाइन्छ । युएई सरकारको यो निर्णयलाई उपयोग गर्न सके हजारौं नेपाली लाभान्वित हुनेछन् ।

गैरकानुनीरुपमा युएईमा रहेका नेपालीलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान नेपाली दूतावासलगायत सम्बन्धित निकायले सूचना जारी गरिसकेका पनि छन् ।
कात्तिक १४ गतेसम्म लागू हुने यो नियमअनुसार नेपाल सरकारले पनि वैदेशिक रोगजारीका लागि युएई पुगेकाहरुका परिवारसम्म यो सूचना पु¥याएर अवैधरुपमा बसेका नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्कन वा त्यहीँ वैधरुपमा बस्ने बनाउन भूमिका निभाउनुपर्छ ।

साथै यो विषयमा विस्तृतरुपमा प्रचारप्रसार गरेर युएई सरकारको यो निर्णयको भरपूर सदुपयोग गर्न मद्दत गर्न पनि सरकारले विशेष भूमिका खेल्नुपर्छ । आममाफी लागू भएपछि अब विनाभिसा लुकिछिपी युएईमा रहेका नेपालीले विनाजरिबाना र विनासजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

युएई सरकारको आममाफी दिने निर्णयअनुसार आफ्ना सबै अवैध कामदारलाई स्वदेश फर्काउन वा वैधरुपमा त्यहीँ काम गर्ने बनाउन युएईमा रहेको राजदूतावास मात्रको सहकार्यले पुग्दैन । सरकारले स्वदेशमा पनि सबै संयन्त्र परिचालन गरी अवैध कामदारहरुलाई दूतावासको सम्पर्कमा पठाउन ठूलो सहयोग पु¥याउन सक्छ । यो आममाफीको सुविधाबारे त्यहाँ रहेका कामदारका परिवारले विस्तृत थाहा पाएमा पनि उनीहरुलाई छिटोभन्दा छिटो यो प्रक्रियामा जान प्रेरित गर्नेछन् ।

विनाकुनै जरिबाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने, कम्पनीबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इमिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाई विनाकुनै प्रतिबन्ध युएईबाट स्वदेश फर्कन सकिने, आफ्नो अवस्था वैधानिक गरिसकेकाहरुलाई उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिनेजस्ता प्रावधान राखेर आममाफी दिइएको छ ।

साथै आफैं इमिग्रेसनमा उपस्थित हुन नसक्नेहरुको हकमा उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित दूतावासको पत्रका आधारमा एक्जिट परमिट दिन सकिने, स्वदेश फर्किन चाहेमा युएईले नो इन्ट्री छापविनै स्वदेश फर्कने अवसर दिने, ४८ घन्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्नेलगायतको प्रावधानले युएईमा रहेका अवैध नेपालीहरुले फाइदा लिन सक्ने भएकाले यो आममाफीको उपयोग गर्न ढिला नगरौं ।

प्रतिक्रिया दिनुहोस्