खानेपानीले ल्याएको खुशी



-सुनील महर्जन, काठमाडौं

खानेपानीको सधै हाहाकार, मध्य वर्षातमा पनि अवस्था उस्तै । सार्वजनिक धारामा राति १० बजेपछि ग्रागीको लाईन राख्न शुरु हुने गर्दछ । बिहान ३ बजेपछि ग्रागी भरिने गर्दथ्यो । एक ग्रागी पानीको लागि रातभर नसुतिकन बस्नुपर्ने अवस्था स्थानीय महिलाका लागि कम कष्टकर थिएन ।

एक ग्रागी पानी थाप्न रातभरि लाईन बस्नुपर्दाको कष्टको तस्वीर टोखावासीको आँखामा करिब सात वर्षपछि पनि उस्तै झझल्को छ । ‘बिहान ३ बजे नै धारामा लाईन बस्न जानुपथ्र्याे । लाईनमा बसेर पानी ल्याउँदा खाना पकाउन ढिला हुने र छोराछोरीलाई स्कुल पठाउन निकै हतारले काम गर्नुपर्ने स्थिति थियो ।’ स्थानीय महेश्वरी डंगोलले भनिन् ‘ पानीकै कारण कपडा धुन समस्या । शनिवार एक दिन लुगा धुन दिनभर लाग्दथ्यो ।पानी लिन पालो नपाउने स्थिति थियो ।’


पानीको लागि खेप्नुपरेको कष्टकर सम्झिँदै रत्नकुमारी श्रेष्ठले रातभरि लाईन बसेर पनि धमिलो पानी आँउदा कष्टको सीमा नै थिएन । तर अहिले टोखाको स्थिति फेरिएको छ । वर्षोवर्षसम्म पानीको विकराल समस्या भोग्नुपरेको टोखाबासीको घरघरमा अहिले सहजै पानी आउने गर्दछ । पानी लागि कष्ट उटाउने दिनहरु गएको छ ।पानी आउँदाको सबैभन्दा फाईदा तिनै महिलाहरुलाई भएको छ ।‘ घर भित्रै पानी आएको छ । पानी भएपनि खाना पकाउनदेखि लुगा धुन, सरसफाई सबै काम छिटो भएको छ । सबैभन्दा त खुशी अहिले पानीको लागि झगडा गर्नुपरेन ।’ स्थानीयवासी नन्दकुमारी श्रेष्ठले भनिन् ।

‘हिजो आयोजना शुरु गर्दा दलीयकरण भयो, पानी बेच्न लाग्यो भनेर विरोध गर्नेहरुको मुहारमा गल्तीको बोधसंगै खुशी छाएको छ । सर्वसाधरण त खुशी हुने भईहाल्यो । आयोजनामा हुने राजनीतिकरण पन्छाउँदै समुदायको अग्रसरतामा शुरु भएको संघर्षबाट आजै सबै लाभान्वित छन् ।’

समुदायको अगुवाईमा भएको टोखा बृहत खानेपानी तथा सरसफाई आयोजनाले टोखामा यो परिर्वतन ल्याएको हो। ‘समुदायले अग्रसरता न देखाएको भए सरकारले न सहयोग गर्दथ्यो, न स्थानीय निकायहरुले नै ।‘ टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माईला डंगोलले भने ।


टोखा बृहत खानेपानी र सरसफाई आयोजना । समुदायको अग्रसरतामा शुरु गरिएको थियो । पछि बिस्तारै सरकार, स्थानीय तह र गैरसरकारी संस्थाहरु जोडिन पुग्यो । त्यसबाट स्थानीयबासी बढी लाभान्वित भए । सो आयोजना स्थानीय तहमा हुने आयोजनाको एउटा उदाहरण बन्ने सक्ने स्थानीयवासीको विश्वास रहेको छ ।

खानेपानीको आयोजनाको शुरुआत
टोखा काठमाडौं उपत्यकाको सयौं वर्ष पुरानो बस्ती मध्ये एक हो ।शिवपुरी राष्ट्रिय निकुञ्जको दक्षिणी जलाधार क्षेत्रतर्फ यस बस्ती रहेको छ ।हाल टोखा नगरपालिकाको ३ ,४ ५ र ६ साविकको चण्डेश्वरी र सरस्वती गाउँ नै टोखाको परिचय बोकको छ । यो ठाउँमा खानेपानीको निकै हाहाकार थियो ।

उपभोक्ताको संख्या बढ्दै जाने, भएका पानीको मुहानहरु सुक्ने र नयाँ खानेपानी आयोजनाका लागि सरकारसमक्ष पटक पटक पहल गर्दा पनि बजेट विनियोजित गरिएन । समस्या समाधानका लागि स्थानीयहरु पानीको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लिमिटेडदेखि विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुका महिनौ दिन धाएका थिए ।

‘यसबाट केही सीप लागेन । पानीको लागि कहाँ भनेर हुन्छ, कसलाई भनेर हुन्छ भनेर दिनरात सबै चिन्तित थिए ।’ समितिका अध्यक्ष माईला डंगोलले भने ।

पानीको अभावमा समय बित्दै जाँदा लुमन्ति आवास लागि सहयोग समूहसंग स्थानीयवासीहरुको भेटघाट भयो ।समुदायले अगुवाई गर्ने शर्तमा लुमन्तिले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर महिनौदिनसम्म पनि उपभोक्ता समिति गठन गर्न नसकेको अध्यक्ष डंगोलले बताए । आयोजनालाई दलीय राजनीतिको नाफानोक्सानबाट हेर्ने विवादको मुख्य चुरो थियो ।

राजनीतिक दलका स्थानीय नेता र कार्यकताहरुसंग पटक पटक छलफल गरेपनि समिति बनाउने विषयमा एकमत हुन सकेन । कहिले कसले विरोध गर्ने , कहिले के भन्ने ? समितिमा बस्न कुनै दलका मान्छे सकारात्मक भएमा फेरी त्यही दलको अर्को मान्छेबाट विरोध हुने स्थिति थियो ।

खानेपानीको लागि शुरुमा ७५ लाख राजी भएका लुमन्तिका कार्यकारी निर्देशक लजना मानन्धर पनि विवादले गर्दा पछि हट्ने मुडमा पुगेकी थिईन् । चाँडै समिति नबनाउने हो भने आयोजना सहयोग नगर्ने समेत भन्नुपरेको सम्झिँदै कार्यकारी निर्देशक मानन्धरले भनिन् ‘ जुनसुकै आयोजना सफल गर्न समुदायको अग्रसरता सहभागिता महत्वपँर्ण हुने गर्दछ ।समुदायको सहयोेगमा योजना प्रभावकारी हुन सक्दैन् ।’

‘सहयोग गर्न तत्पर संस्थाले हात झिक्न लागेपछि थप चिन्ता हुने नै भयो । झन्डै आठ महिनाको छलफलपछि बल्लतल्ल टोखा बृहत खानेपानी र सरसफाई समिति गठन गर्न स्थानीय सफल भएको थियो ।’ समितिका कोषाध्यक्ष गणेशमान श्रेष्ठले भने ।

छलफल गर्दै जाँदा टोखा चण्डेश्वरी ÷शिवपुरी जंगलमा रहेका खोलाको पानी एकिकृत गर्ने र अपुग भएमा बोरिङ गर्ने उपाय निस्कियो । सोही अनुरुप समितिले निकै मिहिनतपछि पहिलो चरणमा चण्डेश्वरी चौरमा डिप बोरिङ, प्रशोधन प्रणाली, पाईप लाईन विस्तार र धारा वितरण गरिएको थियो । दोस्रो चरमा शिवपुरीको खोलाबाट आएको पानी इन्टेक गरी, प्रशोधन प्रणाली, पाईप लाईन विस्तार र थप धारा वितरण गरिएको थियो ।

आयोजनाका लागि हालसम्ममा चार करोड ५१ लख ४५ हजार ५० रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यसमा सबै भन्दा बढी लुमन्तिको अनुदान १ करोड ७९ लाख ८२ हजार ८ सय ४५ रुपैयाँ परेको छ । त्यसपछि उपभोक्ता सहभागिताको १ करोड ६५ लाख २७ हजार २ सय ६७ रुपैयाँ परेको छ ।

त्यसपछि क्रमशः खानेपानी विभाग ५५ लाख ४९ हजार २ सय ४९ रुपैयाँ, टोखा नगरपालिकाको १३ लाख ३८ हजार ४ सय ५७ रुपैयाँ, साविकको जिविस काठमाडौंको ११ लाख २१ हजार १ सय ८४ रुपैयाँ, शान्ति मन्त्रालयको ७ लाख १७ हजार ६ सय ९७ रुपैयाँ, ग्रामिण खानेपानीको ४ लाख ७७ हजार २ सय १२ रुपैयाँ, चण्डेश्वरी गाविसको ४ लाख ५० हजार रुपैयाँ र सरस्वती गाविसको ९८ हजार ११ सय ३० रुपैयाँ रहेको छ ।

पानीको अवस्था
अहिले चण्डेश्वरी चौरमा डिप बोरिङबाट आएको पानी १ लाख ७५ हजार लिटर क्षमताको ट्रंयाकीमा राखेर वितरण गरिएको छ । १ लाख ५५ हजारको ट्रंयाकी अहिले बनाइरहेको छ । अर्कोतफ शिवपुरी जगंलबाट आएको पानी २ लाख लिटरका रिजभ्र्वायर टं«याकीमा राखेर नियमित वितरण गर्दै आएको छ । बोरिङबाट प्रति सकेण्ड २१ लिटर र प्रति घण्टा ६६ हजार लिटर पानी फाल्ने गरेको छ ।

निजी धारा १ हजार २ सय ६० र सार्वजनिक धारा ८ वटा जडान गरिएको छ । यसबाट १५ हजार जनसंख्या लाभान्वित रहेको समितिले जनाएको छ ।‘हिजो आयोजना शुरु गर्दा दलीयकरण भयो, पानी बेच्न लाग्यो भनेर विरोध गर्नेहरुको मुहारमा गल्तीको बोधसंगै खुशी छाएको छ । सर्वसाधरण त खुशी हुने भईहाल्यो । आयोजनामा हुने राजनीतिकरण पन्छाउँदै समुदायको अग्रसरतामा शुरु भएको संघर्षबाट आजै सबै लाभान्वित छन् ।’ अध्यक्ष डंगोलले भने ।

प्रतिक्रिया दिनुहोस्