कविताः श्रावण (अशोक शेरचन)



तिमी जस्तै मैमत्त लाग्छ श्रावण
झरी परिरहन्छ चारै प्रहर
तैपनि,

तिमी जस्तै मधुवनी लाग्छ श्रावण
पोखिई पो हाल्छौं कि झैँ लाग्छ
श्रावण जस्तै

रोकिई पो हाल्छौं कि झैँ लाग्छ
श्रावण जस्तै
मन्दमन्द स्पर्शले मन्त्रमुग्ध बन्दै
यत्रतत्र बहन्छौं कि झैँ लाग्छ
श्रावण जस्तै

सुस्तरी सुस्तरी मदहोस ओठहरुले
निथ्रुक्क भिजाउँछौं कि झैँ लाग्छ
श्रावणले जस्तै

चमकचमक मृगालु नयनहरु चम्काउँदै
सुटुक्क तर्साउँछौं कि झैँ लाग्छ
श्रावणले जस्तै

कतै उठेका कहीँ बसेका थुम्काहरु
बादलुको घुम्टोमा हराएझैँ
परेलीमै सपक्कै लुकाउँछौं कि झैँ लाग्छ
श्रावणले जस्तै

प्रकाशपुञ्ज छर्दै आकाश गर्जिंदा
निमेषमै पुञ्ज हराएसरि
मुटुमै भुलाउछौं कि झैँ लाग्छ
श्रावणले जस्तै

तिमी श्रावण जस्ती कि
श्रावण तिमी जस्ती
दोधारमा म छु, दोसाँधमा म छु ।

– अशाेक शेरचन

-प्रभु बैंक, प्रमुख कार्यकारी अधिकृत

प्रतिक्रिया दिनुहोस्