मेरो गजल तिम्रो लागि



गजलकार सञ्जिता देउजाको पहिलो गजल एल्बम मेरो गजल तिम्रो लागि मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

प्रमुख अतिथि गीतकार डा. कृष्णहरि बराल, गीतकार तथा प्राज्ञ उन्नति बोहरा ‘शिला’, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र गजलकार देउजाले एल्बम संयुक्तरूपमा सार्वजनिक गरेका थिए। प्राज्ञ तथा गीतकार शिलाले गजलमाथि चर्चा गरिन् भने ज्ञानुवाकर पौडेलले सञ्जिताको गजल लेखनमाथि चर्चा गरे। प्रमुख अतिथि डा. बरालले एल्बममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रूपमा आएको बताए। उनले गीत–संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्जमेन्ट, भिडियोभन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसाबले उत्कृष्ट हुनुपर्ने चर्चा गरे।

एल्बममा विभिन्न समयमा लेखिएका सञ्जिताका ८ गजल संग्रहित छन्। एल्बममा सत्यराज आचार्य, स्वरूपराज आचार्य र दीपक थापाको स्वर रहेको छ। सत्य–स्वरूपको संगीत रहेको एल्बममा तिम्रो लागि, छ अझै, जवाफ यौटा, दैवको हातमा, कुनै बेला म, एक मानिस, किन र अनुरोध बोलका गजल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्