गोपीमा वर्षा



पत्रकार दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म गोपीमा नायिकाका रूपमा वर्षा शिवाकोटी थपिएकी छिन्। डेब्यु निर्देशनमै घामपानी जस्तो सफल फिल्म दिएका लामाले गोपीमा मुख्य अभिनेता खगेन्द्र लामिछानेले अब वर्षासहित २ नायिकासँग रोमान्स गर्नेछन्। फिल्ममा अर्की नायिका सुरक्षा पन्त छिन्।

गोपीको पटकथाले अन्तिम रूप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। फिल्मको घोषणा हुँदा खगेन्द्र र सुरक्षा मात्र अनुबन्धित भएका थिए। निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो। दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनले प्रस्ट्याए।

खगेन्द्रले यसअघि वर्षासँग पशुपतिप्रसाद र सुरक्षासँग धनपतिमा अभिनय गरिसकेका छन्। आफ्ना अघिल्ला नायिकाहरूसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खगेन्द्रले खुसी व्यक्त गरेका छन्। ‘यो रमाइलो संयोग हुन पुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु।’ –खगेन्द्र भन्छन्।

वर्षा र सुरक्षाले केहीअघि रिलिजमा आएको फिल्म भैरेमा सँगै काम गरेका थिए। ‘पशुपतिप्रसादमा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन शेयर गर्न पाएकी थिइनँ, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ।’ –वर्षाले भनिन्।

वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको महसुस सुरक्षाले गरेकी छिन्। ‘पछिल्लो समयका सुन्दर अभिनेतृमध्ये एक पर्छिन् वर्षा, उनी पनि गोपीमा जोडिएको खबरले म उत्साही छु।’ –सुरक्षा भन्छिन्।

आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको गोपीको छायांकन आगामी भदौ १ गते काठमाडौंबाट शुरू हुँदै छ। फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहनेछ। फिल्म आगामी चैत १५ गते रिलिजमा ल्याइने कार्यकारी निर्माता श्रीधरले बताए। न्≈यु वज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरू विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्