दिक्तेलरुम नगरपालिकाको एक बर्षमा ९५ प्रतिशत काम



रामधन राई, खोटाङ ।
खोटाङको पहिलो नगरपाािलका दिक्तेल रुपाकोट मझुवागढीले एक बर्षमा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । नगरपलिकाले आर्थिक वर्ष २०७४÷०७५ मा बनाएको योजनामध्ये ५ प्रतिशत मात्र सम्पन्न गर्न नसकेको हो ।
गत आर्थिक वर्ष नगरपालिकामा २ सय ५ वटा योजना सञ्चालन गरिएकोमा ९५ प्रतिशत उपलव्धी मिलेको मेयर दिपनारायण रिजालले मंगलबार बताउनुभयो । नगरपालिकाले मासिक रुपमा नियमित आयोजना गर्दै आएको ‘सुशासनको लागि मिट द प्रेस’ कार्यक्रममा बोल्दै एक आर्थिक बर्षमा नगरपालिकाले उल्लेख्य उपलब्धी हासिल गर्न सकेको मेयर रिजालले जनाउनुभयो ।
१५ वडा रहेको नगरपालिकामा ५ लाखभन्दा कमका १ सय ४२, ५ लाखदेखि १० लाख सम्मका ३६ वटा र १० लाखमाथिका २७ योजना सञ्चालन गरिएको नगरपालिकाले उल्लेख गरेको छ । गएको आर्थिक वर्ष पुर्वाधारतर्फ सबैभन्दा बढि बजेट सडकमा खर्च भएको छ । सो वर्ष ९८.५ किलोमिटर नयाँ ट्रयाक खोलिएको, २९.६ किलोमिटर सडक चौंडा बनाइएको, २४.५ किलोमिटर सडक स्तरोन्नती गरेर सञ्चालनमा ल्याइएको मेयर रिजालले सुनाउनुभयो । नगरपालिकाले आवधिक नगर बिकास योजना निर्माण गरेको, ब्लड बैंकको भवन निर्माण सुरु गरेको, दिक्तेलको रत्नपार्कमा निर्माण गरिने सपिङ कम्प्लेक्सको डिपिआर तयार, महुरेगढी बहुप्राविधिक शिक्षालय स्थापना लगायतको महत्वपूर्ण कार्य गर्न सकेको रिजालको भनाई छ ।
नगरपालिकामै आयोजना गरिएको पत्रकार भेटघाटमा प्रत्येक वडामा खानेपानी आयोजना सञ्चालन गरेर ७ सय ७५ घर परिवामा पानीको व्यवस्था मिलाईएको लगायतका उपलव्धी गरिएको समेत बताईएको छ ।
यस्तै, नगरको पर्यटन प्रबद्र्धनका लागि भुलभुले, साप्सुधाप, नुनथलामा गुम्बा निर्माण, महुरेमा आँखा आकारको पोखरी निर्माण, मझुवागढीमा सिँढी निर्माण, बुइपाको पञ्चरदोबाटोमा ६५ वटा ट्रष्ट निर्माण, ४० वटा प्लाष्टिक पोखरी निर्माण, ६ वटा सामुदायीक भवन निर्माण कार्य सम्पन्न गरिएको समेत कार्यक्रममा जानकारी गराईएको छ । दिक्तेलको हाटडाँडामा पशुबधशाला निर्माण गरेको, ९ वटा कृषि पकेट क्षेत्र निर्धारण, दुई स्थानमा रेम्बो ट्राउट माछा उत्पादन केन्द्र लगायतका उपलव्धी भएको मेयर रिजालले जानकारी दिनुभयो ।
पाँच लाखभन्दा कम रकमको योजना निर्माण गरिँदा कम उपलब्धी भएको अनुभव भएकोले यो बर्ष भने पाँच लाखभन्दा कम रकमको योजना निर्माण नगर्ने नगरपालिकाले जनाएको छ । नगरका वडाहरुबाट समेत पाँच लाख रुपैंयाँ भन्दा माथिको योजनालाई मात्र प्राथमिकीकरण गर्न सुझाव दिईएको मेयरले जनाउनुभएको छ ।
अति आवश्यकीय साना योजनाहरु भएमा पनि अन्य योजनासँग मर्ज गराई मात्र पाँच लाख मुनिको योजना निर्माण गरिने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्