स्थानीयले अवरोध गर्दा नगरपालिकालाई फोहर व्यवस्थापनमा समस्या



धनवीर दाहाल, रुकुम । मुसिकोट नगरपालिकाको वडा नं २ पानीढुंगामा स्थानीयले अवरोध गर्दा मुसिकोट नगरपालिकालाई फोहर व्यवस्थापनमा समस्या भएको छ । रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसीकोट स्थित खलंगा, सल्ले र सेरीगाउँ बजारको फोहोर व्यवस्थापनमा समस्या भएको हो । चार वर्षअघिदेखि यस क्षेत्रको फोहोर मुसीकोट नगरपालिका –२ पानीढुंगामा फाल्दै आएकोमा गत असार मसान्तदेखि स्थानीयबासीले उक्त स्थानमा फोहोर फाल्न अवरोध गर्दा समस्या झन् बढेको हो ।

२०६७ सालमा मुसीकोट नगरपालिका –२ पानीढुंगाका स्थानीयले बसपार्कका निर्माणका लागि २१ रोपनी र रंगशाला निर्माणका लागि ७० रोपनी जग्गा नगरपालिकाको नाममा गरिदिएका थिए । यसैमध्ये बसपार्क निर्माणका लागि दिईएको जग्गाको सतह मिलाउने भन्दै २०७१ सालदेखि नगरपालिकाले सोही स्थानमा फोहोर फाल्दै आएको थियो । अहिले बजारको फोहोरले उक्त स्थान भरिँदै गएपछि फोहोर जग्गा भन्दा बाहिर जान थालेको, स्थानीयका खेतबारी तथा घरसम्म हावाले उडाएर लैजाने र सबैतिर दुर्गन्ध फैलिएकोले आफुहरुले अबदेखि यहाँ फोहोर फाल्न नदिने स्थानीय भरत नेपालीले बताउनुभयो ।

‘हामीले यति लामो समयसम्म फोहर फाल्न दियौँ, त्यसको असर बढ्दै गएकोले अब हामी फोहोर फाल्न नदिने निर्णयमा पुगेका छौँ ।’ उहाँले भन्नुभयो,‘हामीले बसपार्क बनाउने भनेर यो जग्गा दिएको हो, यसरी फोहोर फालेर गाउँमा दुर्घन्ध फैलाउन होइन ।’ नगरपालिकाले जग्गा समथर बनाउने र स्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने ठाउँको व्यवस्था गर्ने बताएपछि आफूहरुले यहि असार मसान्त सम्मका लागि सहमति गरेको तर नगरपालिकाले साउन लाग्दापनि फोहोर ल्याउन नछोडेपछि अवरोध गरिएको उहाँको भनाई छ ।

स्थानीयले फोहोर फाल्न रोकेपछि खलंगा बजारका चोकहरुमा फोहोर थुप्रिँदै गएको छ । मुसीकोट नगरपालिकाले भने तत्काल अर्को व्यवस्था गर्न गाह्रो भएको भन्दै हाल त्यही स्थानमा फोहोर फल्नुपर्ने बाध्यता रहेको जनाएको छ । वैकल्पिक स्थानका खोजी गरिएपनि उपयुक्त स्थान नभेटिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताउनुभयो । बसपार्क बनाउनलाई पनि फोहोरले पुरेर समथर बनाउन आवश्यक भएकोले अहिले नै नआत्तिन स्थानीयलाई उहाँले आग्रह गर्नुभयो । ‘नगरपालिकाले दीगो फोहोर व्यवस्थापनका लागि जग्गा खोजिरहेको छ ।’

उहाँले भन्नुभयो,‘उचित जग्गा प्राप्त हुनासाथ कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्नै व्यवस्थापन गर्ने गरी तयारी थालिएको छ ।’ अहिले फोहोर फाल्दै आएको जग्गा पनि नगरपालिकाको नाममा भएकोले तत्काल स्थानीयले अबरोध गर्न नहुने प्रमुख गौतमको भनाई छ । नगरप्रमुख गौतमले अवको केही दिनमा समस्या समाधान हुने दावी गर्नुभयो । अवको एक हप्ता भित्र फोहर नउठाउने हो भने मुसिकोट बजार पुरै दुगन्धीत हुने खतरा छ । बर्षातको समय त्यसमा पनि बजारमा फोहर थुप्रनाले जस्तो सुकै सरुवा रोग लाग्ने खतरा उत्तिकै छ । त्यसैले फोहर जस्तो चिजलाई उचित व्यवस्थापन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्