कृषिलाई उच्च महत्व दिइयोस्



कृषिप्रधान देश भएकाले नेपाल कृषिमै निर्भर रहेको छ । नेपालको कृषि परम्परामा आधारित भएरै विकास हुन नसकेको हो । मानिसको जीवनमा आवश्यक पर्ने पौष्टिक आहारसँगै आर्थिक उपार्जनको महत्वपूर्ण स्रोतका रुपमा कृषि र पशुलाई लिने गरिन्छ ।

कृषिक्षेत्रमा आधुनिकीकरणका लागि ठूलो बहस चलेको हाम्रो मुलुकमा अहिले स्थानीय सरकारले पनि कृषि र पशुपालनलाई महत्वका साथ अगाडि बढाएका छन् । यसै सन्दर्भलाई अब स्थानीय सरकारले स्पष्ट नीति निर्माण गरेर स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरणको तयारी गर्नुपर्ने देखिएको छ । केन्द्रबाट पनि नीतिगतरुपमै कृषिलाई उच्च महत्वका साथ सम्बोधन गर्न जरुरी छ ।

यसअघि कृषिको क्षेत्रमा आउने र खर्च हुने रकमहरुको बारेमा चर्चा–परिचर्चा सकारात्मक वा नकारात्मक दुवै क्षेत्रमा भएको देखिन्छ । सकारात्मक कुराहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने देखिएको छ भने नकारात्मक कुराहरुलाई बिस्तारै घटाउँदै जानुपर्ने अहिलेको आवश्यकता हो ।

विशेष गरेर कृषि र पशुसेवाको बारेमा बेला–बेलामा फरक–फरक बहस र पैरवीहरु हुने गरेका देखिन्छन् । सिजनअनुसारका कामहरु गर्दै गर्दा पशुपक्षीहरुमा देखिने भयावह रोगहरुले मानवजीवनलाई समेत समस्यामा पारेको हुन्छ । कहिलेकाहीँ हुने पशुपक्षीका समस्याहरुका बारेमा पशु खरिद गरेर ल्याउने निकायहरुले समेत सचेतना अपनाउनुपर्ने देखिएको छ भने पशुपक्षी पालन गरेका निकायहरुले पनि त्यसको सुरक्षाका बारेमा समयमै ख्याल गर्नुपर्ने देखिन्छ ।

जबसम्म यस्ता कुरालाई गम्भीररुपमा छलफल र बहस गरिँदैन तबसम्म यस्ता समस्याको दिगो समाधान नहुने देखिन्छ ।
– प्रकाश सञ्जेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्