सरकार समृद्धिको दिशाबाट विमुख नहोस्



अहिलेको सरकारबाट नेपाल र नेपालीले सर्वाधिक आशा र अपेक्षा गरेका छन् । दुई तिहाइ बहुमतको सरकारबाट अघि–पछिको तुलनामा सर्वाधिक बढी अपेक्षा राख्नु स्वाभाविक नै हो । वर्तमान प्रधानमन्त्री केपी ओलीले चुनावताकादेखि नै मुलुकलाई समृद्धिको दिशामा तीव्ररुपमा अघि बढाउने सपना देखाउनुभएको थियो ।

निर्वाचनको परिणामपछि ओली नेतृत्वको सरकार बनेलगत्तै पनि नेपालीलाई समृद्धि र विकासका अनेकानेक सपना देखाइएको थियो । यसले जनताका स्वाभाविक अपेक्षालाई ह्वात्तै बढाइदिएको थियो । तर सरकारले अहिलेसम्म समृद्धिको दिशामा सिन्कोसमेत भाँच्न सकेको छैन । मुलुकको विकास र समृद्धि कुन जरोबाट पलाउँछ भन्ने अहिलेसम्म पहिल्याउन नसक्नु उदेक लाग्दो छ ।

सरकारका दिनहरु जति बित्दै गएका छन् त्यति सुखी नेपाली र समृद्ध नेपालको सपना मृगतिष्णा साबित हुँदै गएका छन् । सेना, पुलिस, प्रशासन समग्र राज्य संयन्त्र आफ्नै नियन्त्रणमा हुँदा पनि सरकारले आखिर किन काम गर्न नसकेको त ? दुई तिहाइ बहुमतको समर्थनमा अडेको सरकारलाई अघि बढ्न कसले रोकेको छ ? यस्तै गतिले अघि बढ्ने हो भने सरकार असफल हुने त होइन ? आदि प्रश्नहरु सर्वत्र उठ्न थालेका छन् ।

केही दिनयताको राजनीतिक परिदृश्यहरु हेर्दा सरकार आफैं अर्थ न बर्थको कामकुरोमा अल्झिइरहेको महसुस भइरहेको छ । प्रमुख प्रतिपक्ष दल वा भिन्न विचार राख्नेप्रति सरकार निकै असहिष्णु भई मुखको तीतो पोख्ने र सामाजिक न्याय एवम् समानताका मुद्दाप्रति हेलाभाव देखाउँदै आएको छ । लोकतन्त्रमा जनताको भावनामा टेकर सरकारले राजकाज चलाउनुपर्ने हो । तर अहिले यस विपरीतका घटनाक्रमहरु देखिन थालेका छन् । जनताको सरोकार, जनजीविकाका विविध पक्ष, संविधान प्रदत्त मौलिक हक–अधिकार, नागरिक स्वतन्त्रताप्रति सरकारले उपेक्षा गर्दै आएको छ ।

समृद्धिको साझा लक्ष्य तय गरिसकेपछि त्यसलाई मूर्तरुप सरकारले दिन सक्नुपर्दछ । तर समृद्धि के हो र यो कसरी हुन्छ भन्ने कुरामा अहिलेसम्म स्पष्टता छैन । साथै समृद्धिबाट गरिब, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत जनताले कसरी लाभ पाउँछन् भन्ने पनि अहिलेसम्म सरकारले स्पष्ट गर्न सकेको छैन । समृद्धि, विकास, शान्ति र राष्ट्रवादीजस्ता विषयलाई भजाएर नै निरंकुशता मौलाउने गरेको विश्वइतिहास रहेको छ ।

कहीँ केपी ओली नेतृत्वको सरकारले पनि यही दिशामा अघि बढ्ने संकेत देखाइरहेको त होइन ? नागरिकले खबरदारी नगर्ने हो भने मुलुक क्रमशः यस दिशातर्फ नजाला भन्न सकिन्न । अतः मुलुकको हितका लागि जनताबाट निरन्तर खबरदारी भइरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्