महिला हिंसा गर्नेलाई कडा कारबाही गर



बारा जिल्लाको करैयामाई गाउँपालिका–२ की लिलमदेवी मुखियालाई उनका आफ्नै ससुरा रवीन्द्र मुखिया र पति प्रमोद मुखियाले दाइजो नल्याएको कारण कुटपिट गरी घर निकाला गरे । उनलाई दाइजो नल्याएको निहुँमा ससुराले सधैँ रक्सी खाएर आई प्रताडित गर्ने गरेको समाचारमा आयो । ससुराको ज्यादतीका विरुद्ध एक्लो बुहारीको केही चल्ने कुरै भएन ।

जोसँग अग्नि साक्षी राखी सँगै जीवन बिताउने बाचाकसम खाएर पराई घर भित्रिएको हो ऊ पनि आफ्ना क्रूर पिताकै पक्षमा देखिएपछि र उस्तै व्यवहार गरेपछि लिलमले त्यो घरमा बस्न सक्ने कुरा थिएन । तैपनि, लिलमले त्यति हुँदा पनि सहेरै बसेको र अन्त्यमा पतिले नै नाबालक छोरासमेत खोसेर माइती पु¥याएपछि उनी न्यायका लागि प्रहरीलाई गुहार्न पुगेको प्रकाशित समाचारबाट प्रस्ट हुन्छ । लिलम पछिल्लो प्रतिनिधि पात्र मात्र हुन्, खास गरी तराई–मधेसमा यस्ता घटना आम र सामान्य बनेका छन् ।

कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भइन् । काभ्रेमा पनि बालिका बलात्कारको सिकार हुनुप¥यो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याका विषयमा संसद्मा समेत कुरा उठेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले पन्तको हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

बालिकाको शब भेटिएको दिनदेखि आन्दोलन शुरु भएको छ । बलात्कारीलाई कारबाही गर्न आफन्त र स्थानीयले आग्रह गरिरहेका छन् । यता काभ्रेको तेमाल गाउँपालिका–१ मा ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममतापूर्वक हत्या भएको तथ्य पनि खुलेको छ । असार २० गते बारा घर भई पुनर्निर्माणसम्बन्धी मजदुरी गर्न आएका २३ वर्षीय जोखन मन्सुरले स्थानीय ९ वर्षीया बालिका एलिसा तामाङको बलात्कारपछि हत्या गरेको रहस्य खुलेको समाचार बाहिर आइसकेको छ । बारागढी गाउँपालिका वडा नं. ६ गडहल बस्ने मन्सुर र मृतक एलिसाकी फुपू पर्ने मिना तामाङबीच यौनसम्बन्ध राख्दै आएको देखेपछि उनले हत्या गरेको प्रहरीले बताएको खबर पनि आएको छ

छेन्देलिङ हेलेमेन्दो गुम्बाको परिसरभित्र रहेको पर्खालनजिकै ढुंगा थुपारेको स्थानमा मादक पदार्थको सुरमा एलिसालाई बलात्कार गरेको र त्यस क्रममा मुख र नाक छोपी हत्या गरेको आरोपीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । त्यति मात्रै हैन, तेमाल गाउँपालिका–६ पचुवरघाटमा साउन ६ गते १७ वर्षका विकास थापामगरले शारीरिक तथा मानसिकरूपमा अशक्त एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रक्राउ परेका छन् ।

शारीरिकरूपमा पूर्ण अशक्त १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरी फरार भएका उनलाई ८ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्लो चरणमा बालिका बलात्कारका समाचार व्यापकरुपमा ओइरहँदा प्रहरी सक्रियतामा कमी महसुस भएको छ ।
– मनोज न्यौपाने, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्