सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, के तस्करी रोक्न बोडरमै गएर म ड्यूटी गरौं त ? डिआईजी थापा



हेमन्त पौडेल, धनगढी ।
सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्रकै संरक्षणमा कैलालीका विभिन्न नाकाबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीका डिआईजी नगेन्द्रबहादुर थापा आएपछि केही कडाई गरेजस्तो देखिएपनि तस्करीमा कुनै कमी भएको छैन । सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । कैलाली जिल्ला खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको छ । सशस्त्रले दैनिक सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंग मिलाएर रातीको समयमा सामानहरु नेपाल भित्रने गरेको छ ।

कैलालीको खक्रौलालाई मुल भन्सार घोषणा गरेपछि सो नाकाबाट सामान आउन छोडेको छ । यस अघि तस्करहरुले सोही नाकाको प्रयोग गरेर सामान भित्राउने गरेकोमा आजभोली यस नाकाबाट नभई भजनीको गुलरिया,मोरिया घाट र डाक्टर घाटबाट सामान अबैधरुपमा भित्राउने गरिएको छ । खक्रौला भन्सारका कर्मचारीहरु खाली बसीरहेकाछन् । सशस्त्र प्रहरी बल भजनी बोर्डर पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक नरेन्द्र बोहराको मिलेमतोमा भजनी क्षेत्रका तस्करीमा संलग्न लोकेन्द्र साउँद,धनबहादुर साउँद र सुरेश जोशीसंग मिलेर भारतको तिकुनीया बजारबाट टाँगाबाट सामान घाटसम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷२५ वटा मोटरसाईकलको प्रयगो गरेर सामानहरु टीकापुर,लम्की, सुखड,बौनिया,चौमाला, मसुरिया लगायतका ठाउँहरुमा पु¥याउने गरिएको छ ।

नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै नियन्त्रण गरेको छैन । नेपाल प्रहरीका चौकी इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरीका डिआजी थापाले पनि ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । तस्करहरुले चौकुर्दी घाटलाई पनि उपयोग गरेकाछन। गाउँका मानिसहरु सवै सुतिसकेपछि चौकुर्दीबाट स्टिमरको प्रयोग गरेर धनसिंहपुरको बनगाउँ भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता गुलरियाघाट र मोरियाघाटमा सोमवार साँझ ६ बजेदेखिनै भारतीइ क्षेत्रमा नेपालमा तस्करीका लागि ल्याएका सामानहरु थुपार्न शुरु भइसकेको थियो ।

यतिबेला जिल्लाको पूर्वी दक्षिणनाकाबाट कपडाहरु बढी तस्करी भएको छ । नेपालीहरुको तीज पर्व आउनै लागेकाले सुट र साडीहरु बढी तस्करी भइरहेको छ । यसरी अवैध रुपमा ठूलो मात्रमा भारतका विभिन्न बजारहरुबाट राजश्व छली गरेर सामान भित्राउने काम गरेपनि यसलाई प्रहरीले नै संरक्षण गरी रहेको तथ्य खुलेको छ । प्रहरीकै अगाडीबाट तस्करहरुले चोरीका मोटरसाईकलमा सामानहरु ओहोरदोहोर गरीरहेको भएता पनि प्रहरी भने मुखदर्शक बनेको स्थानीयहरुले बताएका छन् । नेपाल प्रहरी तथा शसस्त्र प्रहरी दुवै तस्करसंग मिलेर तस्करीलाई बढवा लिईरहेको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवै संगठनले हुन सक्ने सम्भाव्य अपराधहरुको सूचना संकलनको लागि भन्दै सादा पोसाकमा (सिभिल) समेत घुमुवाहरु खटाएका छन् । घुमुवाहरुनै तस्करहरुको सेन्ट्री बस्ने गरेको आरोप समेत लाग्दै आएको छ । साईकलमा सामान ल्याउनेहरुलाई समातेर प्रहरीले तस्करी गरेको सामान पक्राउ गरेको प्रचार गराएपनि संस्थागत तस्करी भने रोक्न सकेको छैन ।

नेपाल प्रहरीको ड्यूटी समय बढी हुने भएकाले सशस्त्र प्रहरीका बढी घुमुवाहरु रकम उठाउने काममा लाग्ने गरेकाछन् । उनीहरुको बढी ड्यूटी नभएकाले भारतीय बजारमा जाने र कस्ले सामान कुन नाकाबाट लैजान लागेको छ भन्ने पत्ता लगाएर भारतीय बजारमा बार्गेनिंग गर्ने र नदिएमा फोन गरेर पक्राउ गर्ने गरेको समाचार स्रोतको दावी छ । सशस्त्रका घुमुवाहरुको अहिले आतँकनै छ एक स्थानीय बासिन्दाले गुनासो गरे । धनगढीको त्रिनगर भन्सार नाकामा रहेको सशस्त्र प्रहरीको वि.ओ.पी.का शसस्त्र प्रहरी निरीक्षक हर्क साउँदको नेतृत्वमा रहेको टोलीले व्यापक रुपमा रकम असुल्ने गरेको सार्वधारणहरुको गुनासो रहेको छ । उता सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कैलालीका निमिक्त प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु दक्त भट्टले उक्त विषयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । आफु भर्खर मात्र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कैलालीको निमिक्त प्रमुखको जिम्मेवारी पाएर आएको र यो क्षेत्रको वस्तुस्थिती बारे जानकारी लिन नसकेको बताउनुभयो । साथै आफु आउने वितिकै मातहतका सबै ईन्चार्जहरुलाई ईमान्दारीतापूर्वक जिम्मेवारी वहन गर्ने निर्देश दिई सकेको र कसैले त्यस्तो प्रकारले गलत काममा संलग्न रहेको पाईएका कारबाहीको भागेदार हुने बताउनुभयो ।

उता प्रदेश नम्वर सातका सशस्त्र प्रहरी नायब माहाननिरिक्षक नगेन्द्रबहादुर थापाले तस्करी आफूले पूर्णरुपमा नियन्त्रण गरेको दावी गर्नुभयो । तर मोरियाघाट र गुलरिया घाटमा सशस्त्र प्रहरीले गरेको कडाईका बावजुद पनि सशस्त्रका इन्चार्ज नरेन्द्र बोहराको मिलेमतोमा सामान तस्करी भइरहेको स्थानीयको गुनासो बढेको जनकारी गराउँदा डिआजी थापाले के अब म बोडरमा गएर तस्करी रोक्न ड्यूटी गरौं त ? आक्रोशीत हुँदै प्रश्न गर्नुभयो । मैले सक्ने जति रोकेको छु मेरो बलबुता भन्दा बाहिर भएमा म के गरौं उहाँको जवाफ थियो । राजस्व अनुसन्धान विभाग कोहलपुरका प्रमुख कर्ण तिमिल्सेनाले कैलालीका विभिन्न नाकाबाट तस्करी भएको खबर पाएपछि आफ्नो टोली परिचालन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्