अझै हटेन विभेद



नेपालमा अझै विभिन्न किसिमका विभेदहरु हटेका छैनन् । सामाजिक सञ्जालमा जनप्रतिनिधिले दलितले छोएको पानी नखाएको समाचार आइरहन्छ ।

आदिम कालदेखि नेपाली समाज जातजाति, धर्म, संस्कृतिका कारण विभाजित छ । त्यो परम्परा हिजोभन्दा केही कम भए पनि धर्म र जातजातिको नाममा एकले अर्कालाई बन्देज लगाउने प्रवृत्ति निर्मूल हुन सकेको छैन । जातीय विभेदका कारण आज दलित र गैरदलितबीच वैमनस्य बढ्दै जाँदा जन्मदेखि मृत्यु संस्कारमा समेत एकले अर्काेलाई बहिष्कार गर्ने प्रवृत्ति हाबी भएको छ ।

सूचना, प्रविधि र विज्ञानले सिंगो विश्व एउटा गाउँमा परिणत भइरहेको वर्तमानमा हामीले बिहे होस् वा व्रतबन्ध, दलित र गैरदलितका लागि भान्सा छुट्टाछुट्टै बनाउँदै आएका छौं । छोइछिटो गर्ने परम्परालाई त्याग्न सकेका छैनौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

तर, हामी अझै पनि जातीय दलदलबाट बाहिर निस्कन नसक्दा सार्वजनिक धारा होस् वा मन्दिरमा पसेको निहुँमा दलितलाई अपमान गर्ने काम रोकिएको छैन । के हामीमा मानवीयता मर्दै गएको हो ? यदि होइन भने हामी किन जात र धर्मको नाममा अझै पनि विभाजित भइरहेका छौं ? जबसम्म एक जातिले अर्काे जातिको अस्तित्व स्वीकार नगर्ने र एक धर्मले अर्काे धर्मलाई बहिष्कार गर्ने परिपाटी अन्त्य हुँदैन तबसम्म देशमा सद्भाव कायम रहन सक्दैन ।

आज पूरा विश्व धर्मकै कारण विभाजित छ । धार्मिक विभाजनका कारण विशेषतः मुस्लिम देशहरुमा भीषण युद्व नै चलिरहेको छ । अरबी मुलकमा सुन्नी र सिया समुदायबीच चलिरहेको धार्मिक युद्वका कारण हरेक दिन सर्वसाधारणले ज्यान गुमाउन बाध्य भएका छन् । पूरा विश्वलाई इस्लामिक बनाउने उद्घोषका साथ युद्व चर्काइरहेको इस्लामिक स्टेटका कारण आज सिरिया रणभूमिमा परिणत भएको छ ।

त्यहाँका लाखौं नागरिकले धार्मिक हिंसाकै कारण ज्यान गुमाउन बाध्य भएका छन् । धार्मिक हिंसाकै चपेटामा परेका कारण आज लाखौं थाइल्यान्डका रोहिंगा मुस्लिम समुदायले आफ्नो थातथलो छोडेर शरणार्थी जीवन बिताउनुपरेको अवस्था छ । अल्पसंख्यकरुपमा रहेको रोहिंग्या समुदायमाथि सरकारी सेनाको ज्यादतीका कारण उनीहरुले आफ्नो थातथलो छोड्न बाध्य भएका हुन् ।

जातीय हिंसाका कारण कंगो, सुडानलगायतका देश क्षतविक्षत भएका छन् । धार्मिक र जातीय हिंसा उत्कर्षमा पुगे पनि ती देशहरुमा अहिले पनि शान्ति सेनाले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको छ । जातीय र धार्मिक हिंसाले निम्त्याएको नरसंहारका कारण आज ती देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । नागरिकले अझै पनि सुखको सास फेरेर बाँच्न पाउने अवस्था छैन ।

जातीय र धार्मिकरुपमा नेपाली समाज पनि विभाजित छ । जातीय विभेदका घटना अखबारमा आइरहनु यसको उदाहरण हो । नेपाली समाज धार्मिकरुपमा पनि विभाजित छ । देशमा भइरहने पहिचानवादी आन्दोलनले यसको पुष्टि गर्छ । धार्मिक र जातीय रुपमा नगन्य मात्रामा नेपाली समाज विभाजित भइरहेको बेला गुल्मीका महिलाहरुले भने धार्मिक सद्भावको नमुना प्रस्तुत गरेका छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकै कारण सबै जातजाति मिलेर बसेका छन् ।

यद्यपि कहीँ न कहीँ धार्मिकरुपमा एकले अर्काेलाई हेर्ने दृष्टिकोण फरक पाइन्छ । एक धर्मले अर्काे धर्मलाई नराम्रो देख्ने प्रचलन छ । धार्मिक संस्कारमा देखिने विभाजनलाई पुर्नको लागि गुल्मीका हिन्दु र मुस्लिम महिलाहरुले उदाहरणीय काम गरेर देखाएका छन् । नेपाली समाजमा विभिन्न जातजाति र धर्ममा आस्था राख्ने समुदाय बस्दै आएका छन् ।

जसले जुन धर्म माने पनि त्यसको सम्मानमा अर्काे जातिले कन्जुस्याइँ गर्नुहुँदैन । जातीय र धार्मिकरुपमा मिलेर बस्नु नै नेपालीको पहिचान हो । यसलाई कहिल्यै मर्न दिनुहुँदैन । हामीले एक–अर्काको धर्मलाई सम्मान गर्नुपर्छ । धर्मसँगै जातीय विभेद अन्त्य गर्न सबै एक हुनुको विकल्प छैन ।
– सञ्जीव अधिकारी, प्युठान ।

 

प्रतिक्रिया दिनुहोस्