स्थानीय सरकारको मातहतमा रानीमहल



कविराज नेपाल, पाल्पा
नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकी किनारामा अवस्थित रानीमहल अव स्थानीय सरकार अर्थात तानसेन नगरपालिकाको मातहतमा आएको छ ।
तानसेन नगरपालिका– १३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको छ ।

साउन १० गते मन्त्रालयमा आयोजित समारोहबीच पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई रानीमहल हस्तान्तरणको सहमति पत्र प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्राइले वताउनुभयो । पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा तानसेन नगरपालिकाले कालीतटमा रहेको रानीमहल क्षेत्रको विकासका लागि योजनासहित अघि बढ्ने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भएको छ ।

उहाका अनुसार अव यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गराउनका लागि नगरपालिकाले वृहत कार्यक्रम सहित योजनाहरु अघि ल्याउने छ र यसलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि वढाउदै लगिनेछ ।

आज भन्दा करिव १ सय २५ वर्ष पहिले वनेको यो महल हेर्नमा जति आर्कषक छ, यसको पुरातात्विक महत्व पनि त्यत्तिकै छ । यो अदभुत महलको निर्माण काठमाण्डौं वाट पाल्पा निर्वासित प्रधानमन्त्रीको रोलक्रममा परेका तर हुन नपाएका श्री ३ खडग शमसेरले गरेका हुन । आफ्नी रानीको सम्झनामा निर्माण गरेको हुनाले यसलाइ रानी महल भनिएको हो ।

प्रेम प्रतिकको वेजोड नमुना यो महल वनाउन तत्कालिन अवस्थामा पनि भारतको कलकत्ता र वेलायतवाट कालीगढ र ईन्जीनियरहरु ल्याइएको इतिहासविदहरु वताउछन ।
हुन पनि यो महल वेजोड काष्ठकलाको नमुना नै छ । पाल्पातिरबाट वग्दै आएको बराङदी नदी र कालीगण्डकीको संगमस्थलमा चट्टानको ठिक माथि तहतह पारेर महल निर्माण भएको देखिन्छ जहाँ दुइ तले भवनमा सानाठुला गरि २५वटा कोठा छन ।

काली गण्डकी नदिको तीरमा रहेको भवनको जग नदिको धार माथि छ । १ सय १२ फुट भुभाग ओगटेको भवनको निर्माण पक्ष हेर्दां निकै आश्चर्य लाग्छ किनकी महल परिसरमा पानीपोखरी, मनमोहक बगैंचा,आधुनिक छन्दको पार्क, शिवालय, फलामका खम्बाहरु, झुलेका फलफुलका वगैचा आदीले जोकसैको मन पनि पुलकित वनाउछ । सुविधा सम्पन अहिलेको अवस्थामा अनकण्टार जस्तो लाग्ने विकट स्थानमा यस्तो भव्य महलको निर्माण कसरी भयो होला भनि आश्चर्य मान्नु स्वभाविक पनि हो ।

रानीमहलसम्म पुग्ने वाटो अहिले निर्माणाधिन अवस्थामा छ भने नजिकैबाट कालीगण्डकी करिडोरको निर्माण भएसँगै यहासम्म पहुच पुगिसकेको छ । पछिल्लो समय यसको प्रचारप्रसार व्यापक हुन थालेको र यातायातको पनि सहजता भएपछि पर्यटकहरु यहा पुग्ने क्रम वढेको छ भने वरिपरि पर्यटकीय पूर्वाधारहरुको पनि विकास हुन थालेको देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्