बाह्रै महिना सञ्चालन हुँदैनन् प्रदूषण मापन स्टेसन



टीका बन्धन, काठमाडौं
वायु गुणस्तर मापनका लागि स्थापना गरिएका स्टेसन नियमित रुपमा सञ्चालन नहुँदा वायु प्रदूषणको वास्तविक अवस्था थाहा पाउन समस्या हुने गरेको छ ।

कुनै पनि वायु प्रदूषण मापन स्टेसन बाह्रै महिना नियमित सञ्चालन हुँदैनन् । स्टेसनका उपकरणमा दोहोरिरहने प्राविधिक गडबढीले वायुको तथ्यांक संकलन प्रभावित बन्दै आएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न ५ स्टेसनका उपकरण समयमा मर्मतसम्भार नहुँदा प्रदूषणको तथ्यांक संकलन नियमित बन्न सकेको छैन ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको एक स्टेसन विगत १० महिनायता अवरुद्ध छ भने शंखपार्कको स्टेसन एक महिनादेखि अवरुद्ध छ । त्यसै गरी पोखराका ३ स्टेसन पनि विगत एक महिनादेखि सञ्चालन हुन सकेका छैनन् । उपकरण नियमित अपडेट ‘क्यालिब्रेसन’ गर्ने क्रममा ४ वटा स्टेसन अवरुद्ध भएको र कीर्तिपुर स्टेसनका ब्याट्री र उपकरण चोरी भएकाले सञ्चालन हुन नसकेको वातावरण विभागले जनाएको छ ।

पोखराका ३ वटै स्टेसनका उपकरण क्यालिब्रेसनका लागि एक महिनाअघि नै काठमाडौं ल्याइएको र बढीमा २÷३ दिनभित्रमा सकिनुपर्ने क्यालिब्रेसन प्राविधिक अभावमा हुन नसकेको विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले बताउनुभयो । ‘क्यालिब्रेसन युनिट विभागमा मात्र भएकाले बाहिरका उपकरण काठमाडौं ल्याउनुपर्ने बाध्यता छ, इलेक्ट्रोनिक इन्ञ्जिनियर दक्ष जनशक्ति भनेको समयमा नजुट्दा क्यालिब्रेसन केही ढिलो हुने गरेको छ’ –उहाँले भन्नुभयो ।

गत वर्षको दशैंमा कीर्तिपुर स्टेसनको ४ वटा ब्याट्री चोरी भएपछि पुनः सुचारु हुन सकेको छैन । उपत्यकामा रत्नपार्क, शंखपार्क, पुल्चोक, भैंसेपाटी, कीर्तिपुर, भक्तपुरको वीरेन्द्र सैनिक विद्यालयसहित काभ्रेको धुलिखेलमा स्टेसन स्थापना गरिएको छ भने पोखराका विभिन्न ३ ठाउँमा वायु प्रदूषण मापन केन्द्र छन् । पोखराको क्षेत्रीय हावापानी कार्यालय परिसर, गण्डकी बोर्डिङ र पोखरा विश्वविद्यालय परिसरमा केन्द्र सञ्चालन गरिएको छ ।

अमेरिकी दूतावास महाराजगञ्ज र फोहोरा दरबार परिसर कान्तिपथमा सोही दूतावासकै पहलमा दुई स्टेसन सञ्चालनमा छन् । त्यसै गरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र विभागको सहकार्यमा लुम्बिनी, चितवनको सौराह र रसुवाको लाङटाङमा पनि प्रदूषण मापन केन्द्र स्थापना भएका छन् । यही वर्षभित्र सुनसरीको झुम्कास्थित कृषि केन्द्र परिसर, बाराको सिमरा उपमहानगरपालिकास्थित सशस्त्र प्रहरी क्याम्प, दाङको घोराही उपमहानगर रामपुर र नेपालगञ्ज जिल्ला प्रशासन कार्यालय परिसरमा यस्ता केन्द्र सञ्चालन भएका छन् ।

स्टेसनको तथ्यांकलाई थप विश्वसनीय बनाउन क्यालिब्रेसन अपरिहार्य हुने, स्टेसनमा कुनै समस्या नआए पनि वर्षमा कम्तीमा एक पटक क्यालिब्रेसन गर्नैपर्ने विभागका वातावरण निरीक्षक केशव जोशी बताउनुहुन्छ । वातावरणविद्हरुले ३ वर्षअघि नै मुलुकका विभिन्न ५६ स्थानमा वायु प्रदूषण मापन स्टेसन स्थापना गर्नुपर्ने आवश्ककता आंैल्याएका छन् ।

तर नयाँ स्टेसन स्थापनको पहल ज्यादै सुस्त गतिमा अघि बढेको छ । ‘५६ वटा स्टेसन सञ्चालनमा ल्याउँदा कम्तीमा ५ अर्बभन्दा बढी बजेट चाहिन्छ, त्यत्रो बजेट जुटाउन तत्काल सम्भव छैन’ –वन तथा वातावरण मन्त्रालयका एक उच्च अधिकारीले भने ।

काठमाडौं उपत्यकामा पहिलो पटक सन् २००२ मा वायु तथा प्रदूषण मापन केन्द्र जडान गरिएको थियो । डेनिस सरकारको अनुदान सहयोगमा पुतलीसडक, पाटन, मच्छेगाउँ, भक्तपुरलगायत विभिन्न ६ स्थानमा केन्द्र स्थापना गरेर वायुको गुणस्तर मापन गर्न शुरु भएको थियो । करिव ७ वर्ष सञ्चालनमा रहेका केन्द्र हाल पूर्ण रुपमा बन्द छन् । ती स्टेसन पुनः सुचारु गर्ने अवस्था नभएपछि २ वर्षयता नयाँ स्टेसन स्थापना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्