एपीएफ र आर्मीको लगातार दोस्रो जित



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले रौतहटलाई ७–० गोलअन्तरले हरायो । टोलीको जितमा सावित्रा भण्डारीले चार गोल गरिन् । योसँगै उनको यस जारी प्रतियोगितामा ९ गोल भएको छ ।

यसअघि उनले काठमाडौंविरुद्ध एक्लैले ५ गोल गरेकी थिइन् । सावित्राले ३०औं, ५४औं, ५५औं र इन्जुरी समयमा गोल गरेकी थिइन् । टोलीकी सरु लिम्बुले छैटो र ४०औं मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले एक गोल ७९औं मिनेटमा थपेकी थिइन् ।

यसैगरी हिजै भएको अर्को खेलमा आर्मीले काठमाडौंलाई ८–० गोलअन्तरले पराजित गर्यो । टोलीको जितमा दिपा राईले ४४औं, ५३औं र ५६औं मिनेटमा गरी ह्याट्रिक पुरा गरिन् । त्यस्तै कृष्णा खत्रीले दुई तथा बिमला बिके, इन्दिरा राई र कविता धिमालले एक–एक गोलको योगदान दिएका थिए । आर्मीले पहिलो खेलमा पुलिसलाई हराएको थियो ।

यी नतिजापछि पाँच टोली सम्मिलित प्रतियोगितामा एपीएफ गोल भिन्नताको आधारमा शीर्ष स्थानमा छ । ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ भने रौतहट पनि त्यति नै अंक जोडेपनि तेस्रो स्थानमा रहेको छ ।
रौतहट र काठमाडौंले ३–३ खेले खेलेका छन् जसमा काठमाडौं तीनै खेलमा पराजित भएको छ । अर्को टोली नेपाल पुलिस क्लबले दुई खेल खेल्यो र दुईटै खेलमा हार बेहोरेको छ । राउन्ड रोबिन लिगको आधारमा संचालन सो महिला लिगमा शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्