‘ग्रेड सी’ पाएको कुरियर अवधारणाबाट अर्बपति



काठमाडौं, (नेस)
‘यदि तपाई आफूलाई जिउँदो र अस्तित्ववान ठान्नुहुन्छ भने पक्कै पनि तपाई सिर्जनशीलतामा सकरात्मक हुनु आवश्यक छ।’ यो भनाइ अर्बपति व्यवसायी फ्रेडरिक स्मिथको हो।

फ्रेडरिक स्मिथ अमेरिकी कम्पनी ‘फेडेरल एक्सप्रेस कर्पोरेसन’ (फेडेक्स) का संस्थापक हुन्।उनी ११ अगस्ट १९४४ मा अमेरिकाको मिसीसिपीमा एक मध्यम आय भएको परिवारमा जन्मिएका थिए। उनका पिता एक स्थानीय व्यापारी थिए। सानै उमेरदेखि हाड–जोर्नीका बिरामी उनी किशोरावस्थामा भने स्थानीय रुपमा आयोजना हुने फुटबलका प्रख्यात खेलाडी थिए। पढाईमा सधै औसतभन्दा एक कदम अघि देखिने फ्रेडरिकको उद्यमशीलताका लागि सिर्जनशील सोच भने उनी विश्वविद्यालयमा अध्ययन गर्दा निस्किएको थियो।

सन् १९६० मा अमेरिकाको याले युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्दै गर्दा उनलाई कुरियरसम्बन्धी सोच आएको थियो। तत्कालीन समयमा बिल्कुलै नयाँ अवधारणाका रुपमा रहेको कुरियर सेवालाई उनले आफ्नो अर्थशास्त्र विषयको ‘टर्म पेपर’ का रुपमा विश्वविद्यालयमा प्रस्तुत गरेका थिए। उक्त विषय अमेरिकाका विभिन्न राज्यमा एक रातमा नै कसरी वस्तु पठाउन र पाउन सकिन्छ भन्ने विषयमा आधारित थियो।

अर्थशास्त्रका पढाउने प्रोफेसरले उनको अवधारणालाई चाखलाग्दो र सबल प्रस्तुतीकरण भएको भए पनि तत्कालका लागि काम नलाग्ने र पैसा लगानी गरी उद्यमशीलता विकासका लागि सम्भाव्य नरहेको धारणा राखेका थिए। ती प्रोफेसरले उक्त ‘टर्म पेपर’को मूल्यांकनपछि फ्रेडरिकलाई ‘सी’ ग्रेड दिएका थिए। जसको अर्थ उक्त अवधारणालाई सर्वोत्कृष्ट, उत्कृष्ट, वा औसत नभई औसतभन्दा कम अंकमा मूल्याङ्कन गरिएको थियो।

उच्च शिक्षा तथा विश्वविद्यालयको पढाई पूरा गरेपछि फ्रेडरिक जागिरको खोजीमा थिए। त्यसैक्रममा उनी सन् १९६५ मा सेनामा भर्ना भए र भियतनाममा खटाइए। उनले आफ्नो भियतनाम बसाईका क्रममा आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पाठ सिकेको एक अन्तर्वार्ताका क्रममा बताएका छन्। विभिन्न क्षेत्र र भुभागबाट आएका सेनाका जवानलाई उनले नै परिचालन गर्ने गरी ‘प्लाटिनम् लिडर’को भूमिका उनलाई दिइएको थियो।

फरक–फरक बानी व्यहोराका सैनिक जवानलाई परिचालन गर्नु जति चुनौतीपूर्ण थियो त्योभन्दा बढी उनलाई भियतनामको गरिबीले छुन्थ्यो। हरेक दिन स्टिल तथा फलाम कम्पनीका कामदार, ट्रक ड्राईभर, सडक निर्माण गर्ने कामदार, पेट्रोल पम्पका कामदारको जीवनशैलीले उनको मन चुडिन्थ्यो। करिब दुई वर्ष त्यहाँ जागिर गरेर फ्रेडरिक अमेरिका फर्किए। त्यसपछि शुरू भयो उनको नवीनतम् सोचबाट एक सफल उद्यमी बन्ने सफलताको कथा।

फ्रेडरिकलाई संयुक्त राज्य अमेरिकाका हरेक राज्यमा छोटोभन्दा छोटो अवधिमा कसरी केही सामान पठाउन र पाउन सम्भव छ भन्ने कुराको हुटहुटी मेटाउन उनले उच्च शिक्षा अध्ययनका क्रममा ‘सी ग्रेड’ पाएको ‘टर्म पेपर’ काफी थियो। जसलाई उनले उद्यमशीलताका रुप दिए। सन् १९७१ जुन १८ मा ‘फेडेरल एक्सप्रेस’का नाममा औपचारिक रुपमा कुरियर कम्पनी शुरू भयो भने सोही दिन उक्त कम्पनीले अमेरिकाका विभिन्न २२ वटा शहरमा १ सय ८६ वटा कुरियर प्याकेट पठाउन सफल भयो। जुन अवधारणा अहिले विश्वव्यापी भएको छ भने फ्रेडरिक स्मिथकै कम्पनी ‘फ्रेड एक्स’ले पनि विश्वभर सेवा दिँदै आएको छ।

हरेक जीवित व्यक्ति सिर्जनशील हुने र हरेकपटक उसका अगाडि अवसर आउने सोच राख्ने तिनै फ्रेडरिक स्थिम हाल विश्वभरका अर्बपतिहरूको सूची अटाएका छन्। फोब्र्स पत्रिकाका अनुसार विश्वका अर्बपतिहरूको सूचीमा उनी ३ सय ८२औं स्थानमा छन्। ७३ वर्षीय स्मिथको कुल सम्पत्ति ५ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको छ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

सन् १९७१ जुन १८ मा ‘फेडेरल एक्सप्रेस’का नाममा औपचारिक रुपमा कुरियर कम्पनी शुरू भयो भने सोही दिन उक्त कम्पनीले अमेरिकाका विभिन्न २२ वटा शहरमा १ सय ८६ वटा कुरियर प्याकेट पठाउन सफल भयो। जुन अवधारणा अहिले विश्वव्यापी भएको छ भने फ्रेडरिक स्मिथकै कम्पनी ‘फ्रेड एक्स’ले पनि विश्वभर सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्