पाश्चात्य साहित्यको “दादावाद”



केशव अधिकारी,

अङ्गे्रजी भाषामा ‘दादाइज्म’ भनिने शब्दले नेपाली भाषामा दादावाद भन्ने अर्थ राख्छ। दादा शब्द भने फ्रेन्च भाषाबाट आएको मानिन्छ। फ्रेन्च भाषामा दादाको अर्थ खेलौने घोडा भन्ने हुन्छ। दादावादका सन्दर्भमा भन्ने हो भने खेलौनाको घोडा शब्दले केही अर्थ राख्दैन। दादावाद शब्दले साहित्यमा सकारात्मक अर्थ प्रकट गर्नुको साटो नकारात्मक वा विध्वंशात्मक काम भन्ने अर्थ दिन्छ। अझ भन्ने हो भने विध्वंशात्मक आन्दोलनको लागि दादावाद शब्द प्रयोग भएको मानिन्छ। यो विध्वंशात्मक आन्दोलनको शुरू स्वीट्जरल्यान्डको जुरिख शहरमा सन् १९१६ मा भएको थियो। यसलाई सञ्चालन एवम् संस्थापन गर्ने काम भने रुमानिया भन्ने देशका कवि एवम् नाटककार त्रिस्तान जाराले गरेका थिए। यस आन्दोलनमा सहभागिता जनाउने काममा फ्रान्सका जाँ हान्स आर्प, आन्दे्र बे्रतो, लुई आरगो र जाँ कोक्ते, जर्मनीका ह्युगो बल र रिचार्ड ह्विल्सनवेक आदिले सहयोग गरेका थिए।

प्रथम विश्वयुद्ध अर्थात् सन् १९१६ को समयमा दादावादको सञ्चालन र प्रचार तत्कालीन पत्रपत्रिका र चित्र प्रदर्शनीमा समेत भएको थियो। हाम्रो जीवनले हामीलाई धोका दियो, दागा धड्यो भन्दै जीवनसँग रिसाएका र आफ्नै परम्परा, संस्कृति तथा सभ्यताका विरुद्ध गहिरो असन्तोष बोकेका केही युरोपेली लेखक, कलाकार युवायुवतीहरूले संसारकै सबै अनैतिक स्वभाव र प्रवृत्तिहरूको भण्डाफोर गर्ने दायित्व आफैँले लिँदै सबै परम्परागत तर्क, मूल्य, मान्यता आदि माथि प्रहार गर्ने र तिनको उपहास गर्ने जस्तो अराजकतावादी प्रक्रिया साहित्य, चिन्तन तथा कलाका क्षेत्रमा आरम्भ गरेपछि गएर त्यही नै दादावादमा परिणत हुन पुग्यो।

साहित्य र कलाको क्षेत्रमा एउटा विध्वंशात्मक वा अनास्थावादी आन्दोलनका रूपमा देखा पर्दै गरेको दादावादले सामाजिक मूल्य, मान्यताको मात्र होइन कि साहित्य कला आदिकै समेत घोर विरोध गरेको पाइन्छ। वास्तवमा दादावादको अर्थ छाडापन नै भएको देखिन्छ। दादावादीहरूको खास चाहना भनेको जनानापनको साटो मर्दानापन हो, अर्थात् आमाको साटो बुबा भन्ने हो।

दादावादीहरूले समकालीन मूल्य र मान्यता वा सभ्यताप्रति उपहास प्रकट गर्न ज्यादै निम्न स्तरका र नैतिक आदर्शमा बाँच्नेका मनमा आघात पार्ने खालका चित्रहरू कोरेका, अर्थ न बर्थका कविताहरू लेखेका र बेढङ्गका नाटकीय प्रस्तुतिहरू नाट्यशालामा प्रदर्शन गरेको पाइन्छ। एकजना मार्सल डुच्याम्य नामका दादावादीले त फ्रान्सको राजधानी पेरिस शहरमा भएको वास्तुकला प्रदर्शनीमा एउटा ह्वाइटलेट बाउल पठाएका थिए तर आयोजकहरूले तत्कालै त्यसलाई फिर्ता पठाएर अस्वीकार गरेको सङ्केत दिएका थिए। ह्युगो बल नामका दादाबादीले ध्वनि कविता पठाएको भनेर एउटा बकबास अनुच्छेद लेखेर एउटा क्याबे्र नाचमा प्रस्तुत गरेका थिए। उनले त्यो बकबास कविता पाठ गर्दाको समयमा खुट्टामा नीलो कार्डबोर्ड बाँधेका, खुकुलो रातो कलर र नीला सेता धर्का भएको चुच्चे टोपी लगाएका थिए।

दादावादले नियम, नीति, धर्म आदिलाई उपेक्षा गर्दै मानवको जङ्गली अवस्थाको समर्थन गरेजस्तो लाग्छ। प्रथम विश्वयुद्धले सम्पूर्ण मानवीय आदर्श तथा स्थापित भइसकेका मूल्य, मान्यता आदिलाई क्षतविक्षत बनाएर अराजक सन्त्रास र भयावह अवस्था सिर्जना भएको बेला यो जीवन र जगत्प्रति दिक्क भएर ती सबै कुरादेखि मुक्त हुन चाहने बुद्धिजीवी तर आक्रोशित युवावर्गको तीव्र अभिव्यक्ति थियो दादावाद। दादावादीहरूका मनभित्रका उद्गारहरू यस्ता थिए–

अब कुनै कलाकार चाहिँदैन, लेखक चाहिँदैन
अब कुनै सङ्गीगतकार चाहिँदैन, मूत्र्तिकार चाहिँदैन।
अब कुनै धर्म चाहिँदैन, रिपब्लिकन चाहिँदैन
अब कुनै रोयलिस्ट चाहिँदैन, साम्राज्यवादी चाहिँदैन।
अब कुनै निरङ्कुश चाहिँदैन, समाजवादी चाहिँदैन
अब कुनै बोल्सेविक चाहिँदैन, राजनीतिक चाहिँदैन।
अब कुनै सर्वहारा चाहिँदैन, प्रजातन्त्रवादी चाहिँदैन
अब कुनै बुर्जुवा चाहिँदैन, कुलीनतन्त्र चाहिँदैन।
अब कुनै फौजी चाहिँदैन, प्रहरी चाहिँदैन
अब कुनै पितृभूमि चाहिँदैन सबै पुगिसक्यो।
यो मुख्र्याइँ अब केही पनि चाहिँदैन
अब केही केही केही चाहिँदैन।

प्रथम विश्वयुद्धको अन्त्यपछि यसै दादावादको जगमा आन्दे्र बे्रतोले साहित्यमा अति यथार्थवादको स्थापना गरेका थिए। यसकारण अति यथार्थवादलाई दादाबादकै नयाँ संस्करण भनेर मानिन्छ। स्वीट्जरल्यान्डको जुरिख शहरमा जन्म भएको दादावाद प्रथम विश्वयुद्धपछि पेरिसमा प्रचलित हुँदै जर्मनी, हल्यान्ड, इटली, स्पेन र अमेरिका हुँदै क्रमशः पूर्वका देशमा समेत फैलियो। सन् १९२१ तिर आएर दादाबादको स्थानमा झन्डै अति यथार्थवाद स्थापना हुन पुगेपछि भने यसको प्रभाव कम भएर जान थाल्यो। नेपाली साहित्यको फाँटमा हेर्ने हो भने विगतमा चलेको राल्फा, अस्वीकृत जमातजस्ता आन्दोलनहरूका जरा यसै दादावादबाटै पलाएका थिए भन्ने अनुभूति हुन्छ।

दादावादीहरूले समकालीन मूल्य र मान्यता वा सभ्यताप्रति उपहास प्रकट गर्न ज्यादै निम्न स्तरका र नैतिक आदर्शमा बाँच्नेका मनमा आघात पार्ने खालका चित्रहरू कोरेका, अर्थ न बर्थका कविताहरू लेखेका र बेढङ्गका नाटकीय प्रस्तुतिहरू नाट्यशालामा प्रदर्शन गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्