जूनमा चुहेको त्रास



अरूण नदी खत्री
गजलकार कृष्णादेवी शर्मा (श्रेष्ठ) कोे ‘जूनमा चुहेको त्रास’ नामक गजलसङ्ग्रह प्रकाशित भएको छ। यस गजलसङ्ग्रहभित्र उनीद्वारा लेखिएका ८० वटा गजलहरू समावेश गरिएका छन्। नेपाली भाषा साहित्यमा गजल लेखेर उनले अक्षरका बीउहरूलाई रोपाइँ गर्न सफल भएकी छिन्। ‘मेरो प्यारो अगम धरती स्वर्ग नै पारिदिन्थे, सारा तारा सकल नमका मत्र्यमा झारिदिन्थे’ उनीद्वारा रचित यस सङ्ग्रहभित्रको पहिलो गजलमा लेखिएको छ। गजल लेखनमा कृष्णादेवी अगाडि बढ्दै गएकी छिन्। उनका गजलहरू साहित्यप्रेमी पाठकहरूले मन नपराऊलान् भन्न सकिन्न।

सुनेकी छु मैले उनी दूर छन्
गुनेकी छु मैले उनी दूर छन्।
उनी गजलको संरचनाबारे निकै प्रस्ट छिन्। उनी काफिया प्रयोगका सन्दर्भमा निकै नै सचेत देखिन्छिन्। रदिफको प्रयोग पनि उनले सोचविचार पुर्याएर नै गरेको देखिन्छ। यस सङ्ग्रहभित्रका गजलहरूमा विविध भावको अभिव्यक्ति पाइन्छ। गजलकार कृष्णादेवी देशमा भइरहेको विसंगतिप्रति सचेत छिन् भने गजलमा मायाका सुन्दर डोरीहरू बुन्न पनि निकै सिपालु छिन्।

गजलकार कृष्णादेवीले आफ्ना मनका भावनाहरूलाई गजलमा अभिव्यक्त गर्दा सकेसम्म सचेत र सजग हुने प्रशस्त प्रयास गरेकी छन्। गजललाई विरह वेदना पोख्ने माध्यम मात्र नबनाएर यिनले चेतना र जागरणको सन्देश पनि फैलाउने उद्देश्य लिएकी रहिछन्। यी सबै गजल छन्द वा बहरबद्ध छन्। ६ वटा मन्दाक्रान्ता छन्दमा, ४२ वटा भुजङ्प्रयात छन्दमा, २ वटा कनकसुन्दरी वा दु्रता छन्दमा, ३ वटा स्रग्विणी छन्दमा, ४ वटा इन्द्रवज्रा छन्दमा, ३ वटा शशिवदना, मलिका छन्दमा, २ वटा पीयूषवर्ष, मधुमालती, विद्युन्माला, विजात, महालक्ष्मी, विमोह र दिक्पालजस्ता छन्दहरू गजलका बहरका रूपमा समेत प्रचलित छन्।
उनका गजलमा नारीमनका अन्तव्र्यथाहरू पनि छन् र राष्ट्र राष्ट्रजनका पीडाहरू पनि छन्। सामाजिक विकृति, विसङ्गति, नारीका वेदना, राष्ट्रियता, देशमा व्याप्त राजनीतिक बेथिति, नेताहरूको अकर्मण्यता, अन्याय, अत्याचार तथा भ्रष्टाचार आदिलाई गजलमय भावमा समेटिएका छन्।
ज्यादै राम्रो सकल जगमा जुर्मुराएर आइन्

चोरी चोरी सकल मनमा शारदी मन्त्र छाइन्।
कतै–कतै हामी अत्यन्तै संवेद्य पनि बन्न पुग्छौं भने–कतै हामीमा विविध आवेगहरू पनि जागृत हुन पुग्छन्। यस दृष्टिले पाठकको मन स्पर्श गर्न सफल उनका गजल सुन्दर छन् र बलशाली पनि छन्। समकालीन चेतना र जीवनमा दृष्टिमा अनमोल शब्दहारहरू छन् उनका गजलमा। उनको गजल लेखनमा जुन संवेदना छ सत्यता छ, त्यस्तै मीठो हार्दिकता पनि छ।

दुखायौ नि साथी मलाई तिमीले
सुकायौ नि आत्मा जलाई तिमीले।

कृष्णादेवीका गजल अधिकांश कोमल भावका र सशक्त छन्। भाषामा स्वाभाविकता छ। गजल विशेष प्रकारको शास्त्रीय परम्परागत भएको संयात्मक रचना हो। यसले मानिसको मस्तिष्कलाई नभई दिललाई छुने गर्छ। यिनका गजलमा जिन्दगीका विवशता, उमंग–उत्साह, उपदेश पनि रहेका छन्। केही गजलले सूक्ष्य व्यङ्ग्य धारणा पनि गरेका छन्। गजलमा प्रशस्तै नीति–नियमहरू पालना गरेको हुनुपर्छ। कस्तै वरिष्ठ भनाउँदाका गजलमा पनि संरचनात्मक गल्तीहरू भेटिन्छन्। गजल संरचनाका सूक्ष्मभन्दा सूक्ष्म कुराहरूसँग परिचित हुँदै साधनारत भइरहेमा हामी गजलकार कृष्णादेवीबाट सशक्त गजलहरू निश्चित रूपमा प्राप्त गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्