१० वर्ष कान्छोसँग गरिन् प्रियंकाले इन्गेमजेन्ट



बलिउड नायिका प्रियंका चोपडाले अन्ततः आफूभन्दा १० वर्ष कान्छो प्रेमी तथा अमेरिकी गायक निक जोनसँंग इन्गेजमेन्ट गरेकी छिन्।

केवल २ महिनाको प्रेम सम्बन्धपश्चात् नै २५ वर्षीय निक र ३५ वर्षीया प्रियंकाले अमेरिकाको न्युयोर्कमा एक–अर्कासँग औंठी साटेर इन्गेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूबीच इन्गेजमेन्ट भएको खबरले बलिउड र हलिउड दुवैतिर खुसी छाएको समाचारमा चर्चा गरिएको छ। एजेन्सीका अनुसार उनीहरूले अक्टोबरमै विवाह गर्नेछन्। इन्गेजमेन्टको खबर हालैमात्र बाहिरिए पनि सूत्रलाई उद्धृृत गर्दै पिपुल्स वेबसाइटले प्रियंकाले आफ्नो ३६आंै जन्मदिनको अवसरमा गत १८ जुलाईमा नै इन्गेजमेन्ट गरेको जनाएको छ।

केही महिनाअघि हलिउड सिरिज क्वाटिकोको सुटिङ पूरा गरी मुम्बई पुगेकी प्रियंकाले आफ्नो साथमा निकलाई पनि मुम्बई लगेपछि यो सम्बन्ध बलिउड तथा हलिउडमै चर्चाको विषय बनेको थियो। हलिउडमा हँुदा पनि उनीहरू कहिले साथीहरूका साथ समुद्रमा मस्ती गरेको त कहिले डिनर डेटमा गएका कारण चर्चामा थिए। निकको साथ मुम्बई फर्किएकी प्रियंकाले आफ्नो फ्ल्याटमा एक पारिवारिक भेटघाटको आयोजना गरेकी थिइन्। पछिल्लो समय निक प्रियंकासहित उनको आफन्तको विवाहमा सहभागी भएका थिए भने निक पनि प्रियंकाको साथ आकाश अम्बानीको विवाहमा सहभागी भएका थिए। साथै प्रियंकाले निकलाई गोवालगायत विभिन्न स्थानमा छुट्टी मनाउन लगेकी थिइन्।

यसरी आफ्नो सम्बन्धबारे नबोले पनि उनीहरूको क्रियाकलाप हेर्दा अब उनीहरूबीच छिट्टै पारिवारिक सम्बन्ध स्थापना हुँदै छ भन्ने चर्चा गरिएको थियो। प्रियंका र निक अघिल्लो हप्ता लन्डनको टिफनी स्टोर पुगेका थिए। जहाँ प्रियंकाले एक हीराको औंठी मन पराएकी थिइन्। उक्त औंठी नै प्रियंकाको इन्गेजमेन्ट रिङ थियो।

प्रियंकाले नायक सलमान खानको फिल्म भारतमा अभिनय गर्ने पक्का भएको थियो। तर, उनले निकसँग समय बिताउन चाहेका कारण उक्त फिल्म छोडेको त्यसका निर्देशक अलि अब्बास जफरले दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जुन कुराले सलमान खान प्रियंकासँग निकै रिसाएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्