आईटीबाट एडिटर



रश्मी थापा
सानैदेखि कला र प्रविधि क्षेत्रमा रुचि राख्ने दाङ घोराही नगरपालिकाका अर्जुन जीसी फिल्म क्षेत्रका चलेका सम्पादकमध्ये एक हुन्।
एसएलसी सकिएपछि कलेज पढ्दै गर्दा आईटीको टे«ेनिङ पनि सँगै अगाडि बढाएका उनले दाङमै स्थानीय साथीहरूले बनाएको म्युजिक भिडियो तथा क्षेत्रीय सिनेमामा सम्पादकका रूपमा, प्राविधिकका रूपमा काम शुरू गरे पनि  व्यावसायिकरूपमा भने विकास आचार्यको फिल्म म तिम्रो भइसकेंबाट शुरू गरेका थिए।
‘२०५७ सालतिर इन्टर लेभल पढ्दापढ्दै मैले सफ्टवेयर र हार्डवेयर कम्युटर ट्रेनिङ गरिरहेको थिएँ। त्यही बेला साथीहरूले म्युजिक भिडियो तथा फिल्म बनाएपछि एडिटिङ जानी–नजानी पनि गर्नुपर्ने भयो। जुन बेला मैले राम्रोसँग सिकिसकेको नै थिइनँ। त्यसरी काम गर्दै जाँदा एडिटिङमा नलेज बढ्दै गयो’,
अर्जुनले सुनाए– ‘आईटीमा २ वर्षको कोर्स र इन्टर सकाएर ब्याचलर ज्वाइन गरें। तर, कारणवश कम्प्लिट गर्न सकिनँ। दाङकै एक सिनेमा हलका म्यानेजर चेतन कोइराला दाइसँग राम्रो चिनजान थियो।
म उहासँग फिल्मसम्बन्धी विभिन्न कार्यक्रममा जाने गर्थें। यसरी हिँड्दा सिनेमाप्रतिको मेरो निकै लगाव बढ्यो।’ आईटीसम्बन्धी ज्ञान भएका अर्जुनको रुचि सिनेमातिर बढ्दै गए पनि के गर्ने भन्ने सोच उनको थिएन। त्यसो त बाल्यकालमा पनि उनी नयाँ फिल्म आउनासाथ जसरी भए पनि हेर्न जाने रहेछन् भने विद्युतीय सामग्रीहरू देख्नासाथ कस्तो हुँदोरहेछ भनेर खोलेर हेर्ने उनको बानी रहेछ। ‘आईटीकै पढाइअगाडि बढाउँछु भनेर काठमाडांै आउने सोचिरहेको बेला गोपीकृष्ण मुभिजको म्यानेजमेन्टमा चलचित्र विकास कम्पनी चल्न लागिरहेको रहेछ। मलाई चेतन दाइले काठमाडौंमा केही गर्नुपर्छ भन्दै गोपीकृष्ण मुभिजका उज्वल पौडेल दाइसँग कुरा गरेर कम्पनीमा काम सिक्ने अवसर मिलाइदिनुभयो।
 मैले त्यहाँ काम सिक्ने बेलामा जीएम स्व. नारायणध्वज पन्त दाइले निकै मद्दत गर्नुभयो। त्यति बेला लिनियर छोडेर नन लिनियर एडिटिङ शुरू भइसकेको थियो। दुवैमा काम गरियो। नारायण सरले एडिटिङ सिकेपछि यससम्बन्धी सबै कुरा सिक्नुपर्छ भनेर नेगेटिभ प्रिन्ट, साउन्ड प्रिन्ट साउन्ड प्रोसेसिङ तथा सिनेमा मेकिङको क्रममा  ल्याबमा हुने सम्पूर्ण कुरा तथा एनालगका बेलाका हरेक कुराहरू सिक्न लगाउनुभयो। पछि फिल्म र प्रविधिप्रतिको रुचिलाई फिल्म एडिटरका रूपमा आफूलाई स्थापित गरेर करिअरमा अगाडि बढ्ने निर्णय लिँदै एडिटिङ सिक्दै काम गर्दै गएँ,’ अर्जुन सम्झिँदै थिए– ‘त्यो बेला मलाई बनिष शाह, बद्री लामिछाने तथा अनिल गौतमले विशेष हेल्प गर्नुभयो। एडिटिङमा मेरो गुरुको नाम लिँदा म उहाँहरूको नाम लिन्छु।’
 दर्जनौं फिल्ममा सहसम्पादकका रूपमा काम गरिरहँदा थुप्रै निर्देशकले अर्जुनको कामको तारिफ गरे पनि उनलाई सम्पादकको काम गर्न दबाब नै दिने निर्देशक भने विकास आचार्य थिए। विकासद्वारा निर्देशित फिल्म म तिम्रो भइसकेंबाट उनले सम्पादकको रूपमा आफूलाई उभ्याए। ‘काममा लागिसकेपछि निकै व्यस्त हुने मेरो बानी थियो। सहायक सम्पादकका रूपमा काम गर्दा ३/४ रातसम्म पनि म लगातार काम गरिरहेकै हुन्थें। त्यति बेला फुल एडिटर त थिइनँ तर पनि लगातार १ सय २० घन्टा खट्थें। दाइहरूसँग काम गर्दा त्यहाँ आउने डाइरेक्टरहरूले तिमी यति राम्रो काम गर्ने मान्छे आफंै फुल एडिटिङ किन गर्दैनांै भन्नुहुन्थ्यो। म उहाँहरूलाई मेरो समय भएको छैन भनिदिन्थें। निर्देशक विकास आचार्य दाइले नाइँ नभन्नु ल बनाउनुभयो। जसको एडिटर बद्री लामिछाने हुनुहुन्थ्यो, म असिस्टेन्ट थिएँ’, करियरको सफलता सुनाउँदै थिए अर्जुन– ‘विकास दाइले तिमीले जसरी पनि मेरो अर्को फिल्ममा चाहिँ फुल एडिटिङ गर्नुपर्छ भन्नुभयो। मैले पनि सहमति जनाएँ। उहाँले अर्को फिल्म म तिम्रो भइसकें बनाउनुभयो। मैले त्यही फिल्मबाट फुल एडिटरका रूपमा काम गर्न थालें।’
करिब सय जति फिल्ममा सहसम्पादकका रूपमा काम गरेपछि सम्पादकका रूपमा काम गरेका उनले काली, हिम्मतवाली, मायज बार, म तिम्रो भइसकें, वीरविक्रम, लिली बिली, नाइँ नभन्नु ल–२, ३, ४, ५ लगायत ६० भन्दा धेरै फिल्म सम्पादन गरेका छन्। केही फिल्ममा भने बनिष शाह, मिलन श्रेष्ठलगायतका सम्पादकसँग संयुक्तरूपमा सम्पादनको काम गरेका छन्।
‘लिनिएर र डिजिटलको बीचको पिरियडमा म काम गरिरहेको थिएँ। म आईटी फिल्डको विद्यार्थी भएकाले मलाई दुवै प्रविधि त्यति गाह्रो लागेन। एडिटिङलाई अनसिन स्किल भनिन्छ। अरू काम गरेको देखिन्छ तर यो काम देखिँदैन। कतिपय मानिसमा जसले सम्पादन गरे पनि उही काट्ने र जोड्ने त हो भन्ने सोच हुन्छ। तर, वास्तवमा त्यस्तो हुँदैन। अहिलेको समयमा अलि राम्रो जानेको एडिटर चाहिन्छ भन्ने मानसिकता  विकास हुदै गएको छ। अहिले यसलाई राम्रो क्याटेगोरीमा राखेर हेर्ने गरिन्छ’, अर्जुनले सुनाए– ‘सम्पादन गर्ने क्रममा केही यस्ता कुराहरू छन्, हामी एडिटिङ पक्षले एक हिसाबले सोचेका हुन्छांै भने डाइरेक्टरले अर्को हिसाबले सोचिरहेको हुन्छ। उहाँहरू स्क्रिप्ट सोचेर जस्टिफाई गर्न खोज्नुहुन्छ। हामीचाहिँ भिजुअल्ली त्यसलाई जस्टिफाई गर्छौं। यस कारण हामीबीच भनाभन, झगडा पनि हुन्छ। कहिलेकाहीं त त्यही कुरालाई लिएर केही दिन काम नै बन्द बन्द गर्छौं। यस्तो हुँदा कहिले मैले र कहिले उहाँहरूले कन्भिन्स गराउनुहुन्छ। मैले सम्पादन पक्ष राम्रो देखाउनुपर्ने हुन्छ भने उहाँहरूले निर्देशन पक्ष राम्रो देखाउनुपर्ने हुन्छ। यस कारण पनि बेला–बेलामा विवाद हुने गर्छ। तर, त्यो राम्रो रिजल्टका लागि हुन्छ।’
नेपाली फिल्ममा छायांकन नसकिँदै फिल्म रिलिजको मिति घोषणा गर्ने चलनले आफ्नो काममा प्रभाव पारिरहेको उनी बताउँछन्। ‘हुन त केही बुझ्ने मानिस पनि हुनुहुन्छ। तर, अधिकांश फिल्मचाहिँ रिलिजभन्दा निकै छोटो समयअघि मात्र सम्पादनका लागि ल्याउनुहुन्छ। त्यस कारण हामीलाई प्रेसर हुन्छ। जसले गर्दा क्रियटिभिटीमा कमी आउँछ। एउटा सिनेमामा जति समय सोचेर काम गर्न पायो त्यति राम्रो नतिजा दिन सकिन्छ। हतारमा गरेका जुनसुकै काम सोचेजस्तो हुन्न’, अर्जुनको भनाइ छ– ‘मेरो कुरा गर्नुपर्दा काम भइरहेका फिल्मबाहेक ३/४ वटा फिल्म क्युमा हुन्छन्। काम गर्ने समय पनि कम हुन्छ। जसले गर्दा दिनमा एउटा मात्र सिनेमाको काम गरेर भ्याइँदैन। रिलिज डेट नजिकै भएको सिनेमा छ भने अर्को सिनेमाको काम रोकेर पनि त्यो काम गर्नुपर्ने हुन्छ।
त्यस्तै प्रायःको रिलिज डेट पनि एउटै हुन्छ। यस्तो बेला छिटो–छिटो काम गर्नुपर्ने हुन्छ।’ राम्रो काम गर्नेहरूका लागि सम्पादन व्यवसाय राम्रो रहेको बताउँछन् अर्जुन। ‘सम्पादन भनेको कामको नतिजा बनाउने ठाउँ हो, जहाँ हामीले सिनेमाटोग्राफर, डाइरेक्टर, आर्टिस्टलगायतका काम राम्रो बनाउदिनुपर्ने हुन्छ। कुनै पनि काम राम्रोसँग गर्दा त्यसबाट सन्तुष्टि भइँदैन भन्ने नै हँुदैन। एडिटिङमा पनि एउटा फिल्म २० देखि २५ हजारसम्ममा सम्पादन गर्ने मान्छे पनि छन्। तर, मैले डेढदेखि २ लाख रुपियाँसम्म लिने गरेको छु। एडिटिङको महत्व बुझ्नेहरूले आफैं बुझेर राम्रो पारिश्रमिक दिन्छन्। यस क्षेत्रमा लागेपछि मलाई एउटा राम्रो सम्पादकका रूपमा चिनेकोमा खुसी लाग्छ।’ –उनले भने। हाल फिल्म मोसन नेपाल नामक स्टुडियोका सञ्चालक रहेका उनको स्टुडियोमा २ एडिडिङ टेबल, कलर ग्रेडिङ स्टुडियोलगायत पोस्ट प्रोडक्सनको पूरा प्याकेजको काम हुने रहेछ। सबै डिपार्टमेन्ट गरेर उनको स्टुडियोमा दिनमा ६÷७ फिल्मका काम चलिरहेका हुन्छन्।
नेपाली सिनेमा विदेशमा सुटिङ गर्ने चलन शुरू भएकाले नेपाली प्राविधिक लैजान सके फिल्म पनि राम्रो हुने र प्राविधिकले पनि नयाँ कुरा सिक्ने अवसर पाउने अर्जुनलाई लाग्छ। यही क्रममा निर्देशक मिलन चाम्सको फिल्मका क्रममा सम्पादनकै लागि पहिलोपटक यूके गएको बताए। ‘फिल्म याप्पी डेजको बेला मलाई मिलन दाइले एडिटिङका लागि यूके लानुभएको थियो। त्यसैले सुटिङमै इडिटिङ पोइन्टको हिसाबले सल्लाह गरेर नै सट लियौं। इडिटिङ पनि उतै गर्यौं, त्यसपछि विदेशका फिल्म सुटिङ हुँदा नेपालबाट एडिटर लगेर एडिटिङ गर्न थालिएको छ। विदेशमा गरिएको सुटिङका दृश्यमा समस्या आए अप्ठेरो पर्छ। त्यसैले सुटिङ गर्नासाथ सम्पादन गरे ढुक्क भइन्छ।’ –अर्जुन भन्छन्।

प्रतिक्रिया दिनुहोस्