लागिपरेका हरि



कमल ढकाल,
एउटा कथा यस्तो छ। एक माग्ने थियो। जो मन्दिरको छेउमा माग्न बसिरहन्थ्यो। उसलाई एक महात्मा आएर ए तिमी बसेको ठाउँ खनेर हेर त भनिरहन्थे। महात्माले किन मलाई लखेट्न खोजेको होला भनेर माग्नेले कहिल्यै मानेन।
एकदिन यस्तो दिन आयो। मन्दिरको उत्खनन हुने भयो। माग्ने बस्ने ठाउँमा पनि खन्नै पर्ने भयो। महात्माले खनेर त हेर भनेको ठाउँमा सुन र चाँदीका असङ्ख्य मुद्रा रहेछ। त्यो देखेर माग्ने चकित पर्यो। आफूले उल्टो सोचेको त्यो मान्छेले त आफ्नो भलाइका लागि पो काम गरेको रहेछ। अब ऊसँग रुनु शिवाय केही भएन डाँको छोडेर रुन थाल्यो।

त्यही माग्ने जस्तै भएको छ हाम्रो देश। असङ्ख्य सम्भावना बीच गरिब बनेको छ मुलुक। उल्टो भाषा चाँडो बुझ्ने, सुल्टो भाषा नबुझ्ने। दुःख कहिल्यै नबिर्सने। सुख च्वाट्टै बिर्सने। यही र यस्तै कारणले। अनि मुुलुकमा व्याप्त हिनताबोधले।
यो हप्ता एक अनौठो मान्छेसँग भेटघाट भयो। केही गर्न सकिँदैन भन्ने मान्छेको भीडमा डा. हरिप्रसाद पोखरेल यस्ता व्यक्ति भेटिए जसले पूरै भेटमा देशभित्र अनेकौं सम्भावना मात्र रहेको बताए। पाल्पा मदन पोखरीमा जन्मिएका ५३ वर्षीय हरि आफूलाई भिन्न स्वभावका ठान्छन्। सानैदेखि पोखरी जंगलमा एकान्तमा बस्थे। को हो, को हो चराले बोल्दा म हँु, म हँु भन्दै पछि लाग्थे। ९ कक्षा पढ्दापढ्दै अन्तिममा हरिद्वार गए। जीवनले झकझकाएपछि ५÷६ वर्ष बसे। योग र प्रणायाम सिके। जमिनभन्दा लालपुर्जाको बोलवाला हुँदै जाने त्यो बेलामा हरिले पनि पढ्नै पर्ने ठानी दिल्लीबाट ब्याचलर गरे। विभिन्न योग सिस्टम अफ मेडिसिनमा अनरेवल भन्दै उनलाई डाक्टर उपाधि दिएपछि हरिको नाम अगाडि डाक्टर जोडियो सानैदेखि प्रकृति र जीवनप्रति गहिरो अभिरुचि राख्ने हरि त्रिविको पहिलो प्राकृतिक चिकित्साको प्राध्यापक हुन्। योग र प्राकृतिक चिकित्सामा बेलुका बीएमएस पढाउँछन्। वाल्मीकि क्याम्पसमा योगको हेड अफ डिपार्टमेन्ट छन्। पहिलो भए पनि आंशिक प्राध्यापक हुन्।

विशेष गरी स्वास्थका लागि लागेका डाक्टर हरिले २०५० सालमा प्राकृतिक स्वास्थ संस्था खोले। जहाँ प्राकृतिक चिकित्सा पद्धतिमा स्वस्थको रक्षा गरिन्छ। रोगीको रोग र चेतनाको उपचार गर्नुपर्ने बताउँछन् हरि।

मुख्यरूपमा सरुवा र आकस्मिकमा सफल नभए पनि लग लाइफ औषधि खाने मुटुको रोग, उच्च रक्तचाप पेट बाथका रोगमा ब्याक पेन, घँुडा दुख्नेलगायतका रोगमा राम्रो उपचार हुने पोखरेल बताउँछन्।

रोग लाग्दा उपचार गर्नेभन्दा पनि रोग आउने बाटो नै नदिने गरी हिँडनुपर्नेमा लागेका छन् हरि। यसका लागि नाइट कल्चरमा रमाउँदै गएको समाजलाई परिवर्तन गर्न उनले मर्निङ क्लबको अवधारणा ल्याएका छन्। जसलाई हरिले बियरको बोतलमा मह र कागती खुवाउने भन्छन्। आफूले ताप्ने घाम र मर्निङ क्लबको मुभमेन्ट हरेक गाउँ र शहरमा गर्ने अभियानमा छन् हरि। एक गाउँमा १ रोपनी जग्गा लिने र त्यो जग्गामा एक क्लब बनाउने। जहाँ हरेक बिहान उठेर मान्छे चरित्र र स्वास्थ निर्माणमा लाग्छ। योगका आसन र प्राणायाम गर्छ र कसरी नैतिक चरित्र बढाउने भन्दै सफल व्यक्तिका कुरा सुनिन्छ।

साँच्चै हामी २६०० वर्ष अगाडि जन्मेको एक व्यक्ति बुद्धका नाममा गर्व गरिरहेका छौं। मर्निङ क्लबका कारणले भोलि एक व्यक्ति मात्र राम्रो जन्म्यो भने देशकै लागि यो एक राम्रो योगदान हुने ठानी आजकल हरि यसकै बारेमा तल्लिन बनेका छन्। स्वस्थ र चरित्र राम्रो हुने मान्छेको भीड बढ्यो भने त्यो भीडबाट पक्कै एक क्रिम मान्छे जन्मनेमा हरि ढुक्क छन्। साँच्चै नैतिक समाजबाट एक मान्छे जन्मन सक्छ पनि।
योगलाई स्वस्थमा ढाल्दै लगेका हरिले गएको माघ १ गतेलाई विश्व योग दिवसका रूपमा मनाउँदै आएका छन्। हिमालय खण्डबाट शुरू भएको योगको उत्पत्ति नेपालमै भएको र पछि मात्र विश्वको अन्य भागमा फैलिएकाले नेपालले यसको नाममा गर्व गर्दै यो फैलाउनुपर्नेमा हरि दत्तचित्त भएर लागेका छन्।

प्राकृतिक चिकित्सामा माटोले सेकेर, जडीबुटी प्रयोग गरेर, योग प्राणायाम गरेर मान्छेका रोग निको पारिन्छ। सिरहा, जाजरकोट, नेपालगन्ज, लमजुङ र राजधानीमा गरेर पाँच ठाउँमा प्राकृतिक चिकित्सालय खोलिएका छन्।
भीमसेनगोलाको प्राकृतिक चिकित्सालयको कार्यालयमा भेटिएका हरिले पूरै बसाइभरि देशकै बारेमा चिन्तित बनेर कुरा गरे। अविवाहित हरि आफ्नो बारेमा भन्दा पनि देशकै बारेमा कुरा गर्थे। यति राम्रो प्रकृति भएको देश संसारमै नभएको बताउँदै भन्थे– ‘हेर्न मात्र आएका मान्छेले दिएको पैसा हामी नेपालीले बोक्न सक्दैनौं।ु साँच्चै उनीसँग कुरा गर्दा लाग्थ्यो कति जोश भरिएको आवाज।

७ हजारमाथिको बस्ती नराख्ने त्याहाँ ट्रेकिङ रुट बनाउने, होटल लज बनाउने। नदी बन्द गर्दा ताल हुने यो देशमा हामी गरिब भएर बाँचेका छौं। हेर्नकै लागि जडीबुटीको फूलबारी बनाउन सक्छौं। जसले हेल्थ र वेल्थ दुवै दिन्छ। आँखालाई शीतलता दिने ताल झर्ना खोंच अनगिन्ती चरा–चुरुङ्गी जंगल भएको यो मुलुक साँच्चै सुनको थाल भएको मुलुक हो। माल पाएर पनि चाल नपाएका हामी सुनको थाल बोकेर माग्न हिँडेका छौं। अरू विदेशी मुलुकसँग माग्नेभन्दा पनि दिन सक्ने हामीलाई जबसम्म यी कुरा याद हुँदैन तबसम्म गरिब भएर नै बाँच्नेछौं। यही कुरा चिन्न र चिनाउन योग र नैतिक चरित्र बोकाउन डाक्टर हरि लागिपरेका छन्।

आँखालाई शीतलता दिने ताल, झर्ना, खोंच अनगिन्ती चरा–चुरुङ्गी, जंगल भएको यो मुलुक साँच्चै सुनको थाल भएको मुलुक हो। माल पाएर पनि चाल नपाएका हामी सुनको थाल बोकेर माग्न हिँडेका छौं। अरू विदेशी मुलुकसँग माग्नेभन्दा पनि दिन सक्ने हामीलाई जबसम्म यी कुरा याद हुँदैन तबसम्म गरिब भएर नै बाँच्नेछौं। यही कुरा चिन्न र चिनाउन योग र नैतिक चरित्र बोकाउन डाक्टर हरि लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस्