सामाजिक संजालको दुरुपयोग, तेस्री लिएर हिँड्दा प्रहरी फन्दामा



नेपाल समाचारपत्र
बाँके
एक वर्षसम्म फोनमा माया–प्रीतिका कुराकानी भइरह्यो। कुराकानी गर्दागर्दै उनीहरू एकअर्काबिना बाँच्न नसक्ने भए।

केटाले सबै कुरा ढाँटेका थिए। नाम थरमात्रै होइन, घरपरिवारका बारेमा पनि उनले झुटो बोलेका थिए। खासमा उनी विक थरका हुन्। किशोरीलाई रानामगर भनेका थिए। २ श्रीमती छन्, १ विदेशमा अर्की घरमा। तर पनि फोनमा फसेकी १६ वर्षे किशोरीलाई आफू अविवाहित रहेको बताउँथे। ४ दाजुभाइकी एक्ली बहिनी घरमा पुलपुलिएकी थिइन्। सदरमुकाममा पढ्ने भएकाले घरपरिवारले अति नै माया गर्थे। केटाले आफ्नो काठमाडौंमा राम्रो जागिर रहेको, बहिनीसँग उतै बस्ने चिल्लो कुरा गरिरहन्थे। किशोरीलाई विश्वासमा पार्न केटाले बहिनी भन्दै अर्की युवतीलाई पनि बेलाबेलामा कुरा गर्न दिन्थे।

साउन ६ गते यी २ श्रीमतीको पोइले किशोरीलाई भगाएर नेपालगन्ज ल्याए। किशोरीले घरबाट ४५ हजार नगद र केही गरगहना पनि बोकेर आइन्। एक दिन उनीहरू कोहलपुरको एक होटलमा बसे। भोलिपल्ट ७ गते नेपालगन्जको वागेश्वरी मन्दिरमा विवाह गरे। किशोरीको पहिलो भए पनि केटाको तेस्रो विहे थियो। फेसबुकमा चिनजान भएका केही साथी विहेमा सामेल भए। घरबाट भाग्दा काठमाडौं जाने, उतै बस्ने भनेको केटाले केटीलाई विहेपछि अब भारतमा गएर बस्नुपर्छ भन्न थाल्यो। श्रीमान्ले भनेपछि केटीले कुरा काट्न सकिनन्। दुवैजना रिक्सामा बसेर नाकातिर अघि बढे। चौलिक्का पुगेपछि मानव बेचबिखनविरुद्ध काम गर्ने केआई नेपालले उनीहरूको रिक्सा रोक्यो। केटीले सलले मुख छोपेकी थिइन्। संस्थाका कर्मचारीले को हो, कहाँ जान थालेको जस्ता प्रश्न सोधे। केटाले केटीलाई र केटीले केटालाई चिन्दैनौं भने। उनीहरूले आ–आफ्ना तरिकाले रुपैडिहामा किनमेलका लागि जान थालेको बताए।

नाकामा बसेर शंकास्पदलाई केरकार गर्ने तालिमप्राप्त संस्थाका कर्मचारीले उनीहरूको कुरामा विश्वास गर्ने कुरै भएन। रोकेर बिस्तारमा जानकारी लिए। लामो समयपछि बल्ल वास्तविकता खुल्यो। केटीलाई संस्थाले आफ्नो सेल्टरमा लग्यो भने केटालाई प्रहरीको जिम्मा लगाइयो। प्रहरी र संस्थाका कर्मचारीले केरकार गरेपछि केटाले वास्तविकता खुलाए। जुन कुरा सुनेर किशोरी नै छाँगाबाट खसेको जस्तो भइन्। जेठी श्रीमती विदेशमा, कान्छी माइती गएको बेलामा केटाले किशोरीलाई लिएर हिँडेका थिए। केआईले जिम्मा लिँदा किशोरीको साथमा ३५ हजार र एउटा तिलहरी थियो। जुन उनले घरबाट लिएर हिँडेकी थिइन्। केटीलाई नाम, थर, ठेगाना ढाँट्ने, २ श्रीमती हुँदाहुँदै विहे गर्ने, काठमाडौंमा जागिर छ, उस्तै बस्ने भनेर भारत लैजान थालेको जस्ता हर्कतले तिमी जोखिममा रहेको, भारतमा बेचिन सक्ने संस्थाका कर्मचारीले बताउँदा गल्ती महसुस गरेकी छन्।

केटीका घरपरिवारलाई बोलाइयो। अभिभावकले केटाका विरुद्धमा मुद्दामामलो गर्न चाहेनन्। घटनालाई सकेसम्म गुपचुप राख्ने गरी घरपरिवार नेपालगन्जबाट हिँडे। रङ नम्बरबाट कुराकानी हुँदाहुँदै मायाप्रीति गाँसिएर भारत जान हिँडेको अर्को जोडीलाई पनि नाकाबाट फिर्ता गरिएको छ। दैलेखका श्रीमती र ४ बच्चाका बुबाले अविवाहित रहेको बताएर १६ वर्षे सल्यानकी किशोरीलाई फसाई भारततिर लैजाने क्रममा नाकामा प्रहरी र केआई नेपालको फन्दामा परेका हुन्।

यी किशोरीलाई पनि अभिभावकलाई बोलाएर जिम्मा लगाइएको छ।

केआई नेपालकी बाँके इन्चार्ज अपना भट्टले फोन र फेसबुकबाट माया जालमा पारेर विवाहित पुरुषले किशोरीलाई फसाएर भारततिर लैजाने घटना बढेको बताउनुभयो। उहाँले यस्ता घटनालाई केटीका घरपरिवारले गुपचुप राख्ने प्रयास गर्दा केटालाई कारबाही हुन नसकेको बताउनुभयो। केटी पक्षले इज्जत जाने डर मान्दै घटनालाई गुपचुप राख्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्