काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड



ईश्वरराज ढकाल, काठमाडौं,
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक बापत ६० लाख रुपियाँको बजेट विनियोजन गरेको छ। विकास निर्माणको पाटोलाई थाती राखेर कामपाले सल्लाहकारलाई मात्रै यति धेरै रकम विनियोजन गरेको हो।

कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ति गरेको छ। कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ति गरेको हो। त्यस्तै ५ जना कानुनी सल्लाहकारलाई समेत पारिश्रमिक उपलब्ध गराउँदै आएको छ। अन्य विभिन्न कामका लागि कामपाले विज्ञ र सल्लाहकार नियुक्ति गर्दै पारिश्रमिक उपलब्ध गराउने गरेको छ। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कामपको बृहत्तर विकासका लागि विभिन्न निकायमा सल्लाहकार नियुक्ति गरेको जानकारी गराउनुभयो। उहाँले सल्लाहकारलाई उपलब्ध गराउने उक्त रकम अन्य स्थानीय निकायको तुलनामा न्यूनतम रहेको दाबी गर्नुभयो।

कामपाले सार्वजनिक गरेको बजेटमा यो वर्ष जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै झन्डै १२ करोड रुपियाँ विनियोजन गरेको छ। उनीहरूको सुविधाका लागि ९ करोड २६ लाख रुपियाँ विनियोजन गरेको छ। सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बीमा र खाजाखर्च रहेका छन्। जनप्रतिनिधिको बहान सुविधा र विधि खर्चबापत ७ करोड ५ लाख, टेलिफोन सुविधाबापत २० लाख, उपचार खर्चबापत २५ लाख, पोसाक खर्चबापत २५ लाख र खाजा खर्चबापत २ करोड २६ लाख रुपियाँ विनियोजन गरेको छ। कामपामा झन्डै १ सय ८० जना निर्वाचित जनप्रतिनिधि छन्।

जनप्रतिनिधि कर्मचारीको तलब सुविधा शीर्षकमा ७७ करोड ५७ लाख रुपियाँ विनियोजित गरेको छ। त्यस्तै कर्मचारीतर्फ ओभरटाइम भत्ताबापत ७५ लाख रुपियाँ विनियोजन गरिएको छ। कामपाले प्रोत्साहन तथा विविध भत्ताबापत १३ करोड २० लाख रुपियाँ विनियोजन गरेको छ। यातायात भत्ताबापत १५ लाख रुपियाँ विनियोजन गरेको छ। महानगर भत्ताबापत ५ करोड, त्यस्तै औषधी उपचार खर्चबापत ४० लाख रुपियाँ विनियोजन गरेको छ।

उक्त बजेटमा झन्डै आधा दर्जन भत्ता शीर्षक रहेका छन्। अन्य भत्ता शीर्षकमा १८ करोड ३५ लाख रुपियाँ विनियोजन गरेको छ। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनप्रतिनिधिलाई सरकारले तोकेअनुसार तलब र भत्ता उपलब्ध गराइएको दाबी गर्नुभयो।

बजेटमा सुरक्षा कर्मचारीको रासन शीर्षकमा १ करोड ९० लाख, कर्मचारीको लुगा भत्ता शीर्षकमा २ करोड २५ लाख, महँगी भत्ता शीर्षकमा ३ करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ। कामपाले तलब शीर्षकमा १ अर्ब ४३ करोड ९२ लाख ६० हजार रुपियाँ विनियोजन गरेको छ।

कामपाले तलब शीर्षकअन्र्तगत १ अर्ब ४३ करोड ९२ लाख ६० हजार रुपियाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्