५२ वर्षअघि हराएको क्रिकेटरको औंठी, अहिले कुकुरले पत्ता लगायो



काठमाडौं – पूर्व बेलायती क्रिकेटर एड्डी स्टोकोएले ५२ वर्षअघि हराएको बिहेको औंठी अहिले आएर फेला पारेका छन् । उनले क्रीजमा ब्याटिङ गरिरहँदा औंठी हराएका थिए ।

सन् १९६६ को मार्चमा यो घटना भएको थियो । उनी त्यतिखेर डरहममा शोट्ली ब्रिज क्रिकेट क्लबका तर्फबाट खेलिरहेका थिए । उक्त औंठी उनकी पत्नी जीनले लगाइदिएकी थिइन् । दुवै एकअर्कालाई बाल्यकालदेखि नै प्रेम गर्थे । औंठी हराएपछि उनीहरूले त्यसलाई खोज्नका लागि धेरै कोशिश गरे र असफल भए ।

हालै चाहिँ एक महिला स्टेडियममा आफ्नो कुकुरका साथ डुलिरहेकी थिइन् । कुकुरले हिलोमा स्टोकोएको औंठी पत्ता लगायो । यत्तिका वर्षपछि औंठी फिर्ता पाउँदा एड्डी र जीन दुवै खुशी छन् । अब दुवैको हातमा वेडिङ रिङ देख्न सकिन्छ ।

एड्डी भन्छन्, ‘औंठी हराउँदा पत्नीले मलाई नयाँ ल्याइदिने प्रस्ताव गरेकी थिइन् तर मैले मानिनँ । हराएको औंठीजस्तो अरू कुनै हुन सक्दैन भन्ने मेरो विश्वास थियो । म त्यसलाई जसरी भएपनि पाउन चाहन्थें । अहिले चाहिँ वास्तवमै त्यो औंठीअतुल्य नै रहेछ भन्ने लागेको छ । त्यो पहिलेभन्दा सुन्दर देखिएको छ ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्