चीनतिरका सबै नाका खुल्नुपर्छ



नेपाल–चीन सम्बन्ध सुधारिएको भने पनि व्यवहारमा देखिएको छैन । नेपाल र चीनबीच स्थलगत मार्गबाट व्यापार तथा अवागमनमा समस्या जारी छ । साढे तीन वर्षअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र त्यसलगत्तै ०७२ वैशाखमा गएको विनाशकारी पहिरोपछि नेपाल–चीनबीच स्थलगत मार्गबाट हुँदै आइरहेको व्यापार तथा आवागमनमा समस्या उत्पन्न भएको थियो ।

भूकम्पद्वारा भत्केका सडक तथा अन्य संरचनाहरू मर्मत गर्न केही महिना लाग्ने र त्यसपछि नाका सुचारु हुने आशा गरिएको थियो । त्यहीअनुसार नेपालका तर्फबाट आफ्नो सिमानाभित्रको सडक मर्मत गरेर सवारी चल्नलायक बनाइयो तर चीनतर्फ भने केही प्रगति भएन । बेला–बेलामा खुल्ने भनिए पनि र केही समय खोल्ने र फेरि बन्द गर्ने परिपाटी अझै कम भएको छैन ।

तातोपानी नाका एकाएक नखोलिँदा त्यस क्षेत्रका नेपाली व्यवसायीहरुको ठूलो लगानी खेर गएको छ । अरनिको राजमार्ग आसपासमा व्यापार तथा पर्यटन व्यवसायको क्षेत्रमा अर्बौं लगानी छ । हजारौंले रोजगारी पाएका थिए । सहज र सुविधा सम्पन्न बनाउने भन्दै खोलिएको रसुवागढी नाकाबाट वस्तु आयात निर्यातमा विभिन्न समस्या यथावत् छन् । पहिलो समस्या सडकको दूरावस्था हो । बेत्रावतीबाट धुन्चेसम्मको सडकखण्ड अत्यन्त साँघुरो छ ।

यसै पनि ठूला सवारीसाधन तथा ट्यांकर गुड्न मुस्किल हुने उक्त सडक खण्डलाई बेलाबेला पहिरोले अवरुद्ध बनाउने गरेको छ । रसुवामा आएको पहिरोले फेरि समस्या सिर्जना गर्ने देखिएको छ । भर पर्दो विकल्पका रूपमा बेत्रावतीबाट सीधै स्याफ्रुबेसीसम्म त्रिशूलीको किनारैकिनार सडक निर्माण गरिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकको निर्माण सम्पन्न भएको छैन ।

सिन्धुपाल्चोकको जनसंख्या करिब ३ लाख छ भने रसुवाको जनसंख्या करिब ५० हजार छ । रसुवा जिल्लावासीलाई मात्रै केरुङ जाने इजाजत दिइएकोले पनि नेपाली व्यापारीहरूले सामान ओसारपसार गर्ने जनशक्ति पाइरहेका छैनन् । पाइए पनि ज्यादै महँगो ज्याला तिर्न उनीहरू बाध्य छन् । यस विषयमा नेपाल–चीनबीच पटक–पटक द्विपक्षीय वार्ता भइरहेको छ । दुवै देशका सीमावर्ती अधिकारीबीच गत शनिबार भएको छलफलमा पनि नेपालका तर्फबाट यो कुरा उठाइएको थियो । तर, चिनियाँ अधिकारीहरूले विगतको जस्तै ‘माथि कुरा पु¥याउँला’ भन्ने जवाफ दिएका छन् ।

नेपालको तर्फबाट यथार्थ बाध्यता अवगत गराउन नसकिएको हो या चीनका तर्फबाट बुझ पचाइएको हो ? स्पष्ट हुन सकेको छैन । नेपाल र चीनबीच मित्रताका विभिन्न निशानीमध्ये काठमाडौं–कोदारी राजमार्ग पनि हो । जुन बेला चीनलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको थिएन, अर्थात् चीनको प्रतिनिधित्न गर्दै ताइवानले संयुक्त राष्ट्रसंघमा भिटो राष्ट्रको मान्यता पाएको थियो त्यो बेलामा नेपालले चीनको पक्षमा आवाज उठाएको हो । त्यसबापत चीन सरकारले आफ्नो देशको सडक मार्ग नेपालको राजधानी काठमाडौंसम्म जोडिदिएको हो । तर, चीनले विभिन्न आशंकामा यति बेला मित्रताको यो निशानी बन्द गरेको छ ।

भूकम्पले भत्केको तातोपानी तथा खासा क्षेत्रमा उद्धार गर्ने क्रममा हरेक घरमा पृथकतावादी नेता दलाई लामाका तस्वीर चिनियाँ उद्धारकर्मीले देखेपछि तातोपानी नाका बन्द गरिएको अनौपचारिक जानकारी आएको छ । यो संवेदनशीलतालाई समयमै बुझ्न नसक्नु नेपालका सुरक्षाकर्मीको कमजोरी हो तर सीमाक्षेत्रका अधिकांश बासिन्दालाई दलाई लामा चीनका पृथकतावादी नेता हुन् भन्ने जानकारीसमेत छैन । उनीहरूले त दलाई लामालाई बुद्धका अवतारका रूपमा लिन्छन् । चेतनाको कमीका कारण उत्पन्न यो समस्यालाई चीनले मुद्दाका रूपमा लिनु र नेपालका तर्फबाट यसबारे बुझाउन नसक्नु आपैmँमा विडम्बना हो ।

रसुवागढी नाकामा सडकको सहज पहुँच नहुन्जेल र प्रवेशाज्ञा व्यवस्थित नहुन्जेल कुनै पनि हालतमा तातोपानी नाका सुचारु गर्नुपर्छ । यस विषयमा प्रधानमन्त्रीको तहबाटै पहल हुनु सान्र्दभिक हुन्छ । दुई वर्षअघि चीनसँग व्यापार तथा पारवहन सन्धि गर्न सफल भएका केपी शर्मा ओली यति बेला संसद्को तीन चौथाइ बहुमतका साथ प्रधानमन्त्री बनेका छन् । नेपाल–चीनबीच स्थलगत पारवहनलाई विकास गर्ने सन्दर्भमा प्रधानमन्त्री ओली गम्भीर छैनन् भन्नु मूर्खता हुनेछ । बीपी कोइरालापछि चीनले सबैभन्दा धेरै भरविश्वास गरेका नेपालका प्रधानमन्त्री ओली नै हुन् । प्रधानमन्त्री नियुक्त हुनुभन्दा तीन महिनाअघि पनि ओली रसुवागढी नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गरेका थिए । चीनसँगको स्थलगत व्यापार तथा आवागमनलाई सहज बनाउन प्रधानमन्त्री ओली कतिसम्म गम्भीर छन् भन्ने कुरा यसले पनि पुष्टि गर्छ । तर, त्यो गम्भीरतालाई व्यवहारमा रूपान्तरण गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन ।
– सीता सुनार, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्