हेटौंडा अस्पतालमा सेवाग्राही बढ्दो, निःशुल्क उपचारले आर्थिक दायित्व वृद्धि



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा अस्पतालबाट आर्थिक वर्ष २०७४÷०७५ दुई हजार पाँच सय ९९ जनाले सेवा लिएका छन् । यो संख्या गत आर्थिक वर्षको भन्दा बढ्दो देखिन्छ ।

पहिलो चौमासिकमा ६ सय ७१, दोस्रो चौमासिकमा आठ सय ४४ र तेस्रो चौमासिकमा एक हजार ८४ जना गरी दुई हजार ९९ सय जनाले सेवा लिएको हेटौंडा अस्पतालको तथ्यांकमा उल्लेख छ ।

यीमध्ये आकस्मिकतर्फ पहिलो चौमासिकमा एक सय ५७ थियो । उक्त संख्या घटेर दोस्रो चौमासिकमा एक सय ४० रहेका थिए । तेस्रो चौमासिकमा बढेर एक सय ७६ गरी आकस्मिक सेवामा चार सय ७६ जनाले सेवा पाएका छन् ।

सेवा लिनेमध्ये सबभन्दा बढी बहिरंगमा पहिलो चौमासिकमा चार सय १८ थिए भने दोस्रो चौमासिकमा पाँच सय ३८ जना पुगेको थिए । तेस्रो चौमासिकमा ६ सय एक गरी एक हजार पाँच सय ५७ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

भर्नामा पनि उत्तिकै बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । पहिलो चौमासिकमा ९६ जना भर्ना भएका थिए भने दोस्रो चौमासिकसम्म पुग्दा संख्या बढेर एक सय ६६ पुगेको थियो । तेस्रो चौमासिकमा बढेर तीन सय सात गरी पाँच सय ६९ जना भर्ना भएर सेवा लिएका थिए ।
तथ्यांकअनुसार हेटौंडा अस्पतालमा बिरामीको चाप बढेको छ । मकवानपुरको जिल्लास्तरको सरकारी अस्पतालबाट दिइएको निःशुल्क तथा आधा शुल्कले गर्दा पनि सेवा लिनेको संख्या बढ्दो देखिएको हो ।

सेवा लिने आउनेमा गत आर्थिक वर्ष महिला एक हजार थिए । पुरुष १ हजार १ सय ९८ जना थिए । अस्पतालले लक्षित समूहअनुसार सेवा निःशुल्क र आधा शुल्क सुविधा दिँदै आएको छ । जसमा आर्थिक बिपन्न पाँच सय ५८, असहाय ७८, शारीरिक अशक्तता भएका ६५, ज्येष्ठ नागरिक एक हजार ६ सय २९, लैंगिक हिंसापीडित दुई सय ४०, महिला स्वास्थ्य स्वम्यसेविका चार जना लाभग्राही रहेको पाइएको छ । प्राकृतिक प्रकोपपीडित १० जनाले उपचार सेवा लिए । कुपोषित ७ बालबालिकाले पनि सेवा लिएका छन् ।

¬हरेक वर्ष निःशुल्क तथा आधा शुल्कमात्र तिरेर उपचार गराउनेको संख्या बढेसँगै अस्पतालको आर्थिक दायित्व वृद्धि भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कमल दवाडीले बताउनुभयो ।

अस्पतालमा आर्थिक विपन्न वर्गलाई निःशुल्क सेवा लिन आउँदा सरकारले जारी गरेको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । असहायका लागि प्रहरी सहयोग वा अन्य कुनै सामाजिक संस्था वा व्यक्तिको सहयोगमा आएकालाई निःशुल्क उपचार व्यवस्था छ ।

शारीरिक अशक्तता भएकाको लागि महिला विकास शाखाले जारी गरेको परिचयपत्र, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था छ । लैंगिक हिंसामा परेका महिला, पुरुष वा बालबालिका र स्वयम्सेविकालाई पनि अस्पतालमा आंशिक तथा पूर्णछुट हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्