फुटपाथ समस्या तत्काल समाधान होस्



फुटपाथको बेथिति अन्त्य गर्ने गरी काठमाडौं महानगरपालिकाले शुरु गरेको अभियान सेलाएको छ । फुटपाथ ओगटेर गरिंदै आएको व्यापारलाई निषेध गर्ने अभियान के कारणले सेलाएको हो ? बुझ्न पाइएको छैन । काठमाडौंको व्यस्त शहरी क्षेत्रमा सर्वसाधारण बटुवाले खेप्नुपरेको सबैभन्दा ठूलो सास्ती भनेकै फुटपाथको व्यापार हो ।

पिच सडकका सवारीसाधनका कारण खुट्टा राख्ने ठाउँ हुँदैन, पैदल हिँड्नका लागि बनाइएको फुटपाथ व्यापारीका सामानले ओगटिएको हुन्छ । आफ्नै सवारीसाधन हुनेहरूलाई त खासै ठूलो समस्या नहोला तर पैदल यात्रीका लागि भने निकै सकस देखिएको छ । महानगरपालिकाले बेला–बेलामा यसको समस्या समाधान गर्ने गरी काम गर्ने बताए पनि अहिले कानमा तेल हालेर बसेको छ ।

काठमाडौं महानगरपालिकाको पटक–पटकको प्रयास शुरु हुँदै तुहिँदै गरेको इतिहास हामीसँग छ । ०४९ सालको स्थानीय निर्वाचनलगत्तै शुरु भएको फुटपाथको व्यापार हटाउने पहिलो प्रयास फेल भयो । तत्कालीन मेयर पीएल सिंहले नगरप्रहरीको व्यवस्था गरेर गरेको अभियान तुहिएको थियो । दुई–चार महिना समस्या समाधान भए पनि नगर प्रहरीकै मिलेमतोमा फुटपाथको व्यापार फस्टायो । ०५४ सालमा केशव स्थापित मेयर बनेपछि फुटपाथको व्यापार हटाउने प्रयास फेरि शुरु भयो तर निरन्तरता पाएन ।

देशभरिमा करिब ४ लाख फुटपाथ व्यवसायी रहेको अनुमान गरिएको छ । यो संख्या सानो होइन । यो ठूलो संख्यालाई स्थायीरूपमा चिढ्याउने जोखिम लिन कुनै पनि जनप्रतिनिधिहरू तयार नभएकै कारण समस्या समाधानका प्रयासहरू ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने गरेका हुन् । सानो लगानीमा सजिलै परिवारको आवश्यकता पूरा गर्न सकिने भएकाले काठमाडौंमा फुटपाथ व्यवसायीहरू दिनानुदिन बढिरहेका छन् । सडकमा व्यापार गर्दा भाडा तिर्नु नपर्ने र सरकारलाई कर पनि तिर्नु नपर्ने भएकाले अधिकांश निम्नवर्गीय नागरिक फुटपाथको व्यापारमा आकर्षित भएका हुन् । सरकारको मोटो रकममा कर छलीसमेत भएको छ ।

काठमाडौंको सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, कालिमाटी, पाटन, लगनखेल, गोंगबु, नयाँ बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका व्यस्त सडकछेउछाउमा फुटपाथको व्यापार हुने गरेको देखिएको छ । सरकारले तत्काल यो विषयमा ध्यान दिनु जरुरी छ ।
– कामना केसी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्