राष्ट्रिय सुरक्षा चुनौतीका बारेमा सेना सेना गम्भिरः प्रधानसेनापति



काठमाडौ (नेस) । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व जनरलसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुको साथै नेपाली सेनाका विविध गतिविधिहरुको बारेमा जानकारी गराईएको थियो । यस प्रकारको भेटघाटको कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्दै आएको छ ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको दौरान वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाको जिम्मेवारी, अपरेशनल र सैनिक कल्याणकारी योजना तथा गतिविधिका बारेमा निर्देशनालयहरुले जानकारी गराएका थिए ।

सोही कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खट्टिनु भएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त जनरल र अधिकृतहरुलाई प्रधानसेनापति क्षत्रीले द इन्टरनेशनल पिस प्राइस् मेडल प्रदान गर्नु भएको थियो ।

सन् १९८८ मा संयुक्त राष्ट्र संघले नोवेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा नर्वेजियन सरकारले शान्ति स्थापना कार्यमा खट्टिएका आफ्ना सैनिकहरुलाई यो मेडल प्रदान गर्न सुरुवात गरेपछि संयुक्त राष्ट्र संघको अनुमतिमा नेपाल सरकारको स्वीकृतिमा उक्त अवधीभर शान्ति स्थापना कार्यमा खट्टिएका जनरल तथा अधिकृतहरुलाई उक्त मेडल प्रदान गरिएको हो ।

कार्यक्रमलाई समापन गर्नु हुँदै बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापति लगायत पूर्व प्रधानसेनापतिहरु एवं जनरलहरुको उपस्थिति र राय सुझावका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्