गलेश्वरमा ३ लाख भेटी सङ्कलन



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा एकैदिन झण्डै तीनलाख रुपैयाँ भेटी सङ्कलन भएको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजापाठ र दर्शन गर्न आएका भक्तजनहरुबाट दुईलाख ८८ हजार २७१ रुपैयाँ भेटी सङ्कलन गरिएको हो ।

मन्दिरको मण्डपबाट दुईलाख ४१ हजार ११० र रसिद आम्दानीतर्फ ४७ हजार १६१ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । उनका अनुसार उक्त भेटीलाई मन्दिरको पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यहरुमा खर्च गरिने जनाइएको छ । सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार जना दर्शनार्थी भक्तजनहरुले गलेश्वर शिवालयमा पुजाआजा गरेका थिए ।

मन्दिर दर्शन एवं पुजा गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा मन्दिर परिसरमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

साउन महिनामा विवाहित महिलाहरु आफ्नो श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । मन्दिरमा सङ्कलित भेट्टी सत्ययुगमा पार्वतीको गलापतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्