नाइँ नभन्नु लमा फेरि बालप्रेम



नाइँ नभन्नु ल फिल्मको नामका आधारमा लगातार सिरिज फिल्म बनाइरहेका र त्यसैबाट लोकप्रियता कमाइरहेका निर्माता, निर्देशक तथा लेखक विकासराज आचार्यले आफ्नो पछिल्लो निर्माणाधिन फिल्म नाइँ नभन्नु ल–५ को शीर्ष गीत सार्वजनिक गरेका छन्।

मंगलबार राजधानीमा आयोजित एक समारोहका बीच सार्वजनिक सो गीतमा बाल र किशोर उमेरको प्रेम देखाइएको छ। तिम्रो आँखा आँखा जुधाइ बोलको गीतमा नायिका स्वस्तिमा खड्का र डेब्यु हिरो अभिषेक नेपालका साथमा बालकलाकारलाई देखाइएको छ। गीतमा मेलिना राईको स्वर रहेको छ भने संगीत वसन्त सापकोटाले भरेका छन्।

दिनेश थपलियाको शब्द रहेको यो गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। आगामी भदौ ८ मा रिलिज डेट तोकिएको फिल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, उत्तम केसी, बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मालगायत प्रमुख भूमिकामा छन्। सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन रहेको फिल्मका निर्माता हरिबोल भण्डारी र गौरीराज जोशी हुन्।

 

प्रतिक्रिया दिनुहोस्