फिफा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक



लन्डन, (एजेन्सी)
फिफाको उत्कृष्ट पुरुष खेलाडी पुरस्कारअन्तर्गत १० खलाडीको नाम सूचीकृत हुँदा ब्राजिलियन स्ट्राइकर नेयमार मनोनयन सूचीमा परेनन् ।

फिफाले मंगलबार निकालेको सो सूचीमा इंग्ल्यान्डका ह्यारी केनदेखि लिएर लियोनेल मेसीसम्मको नाम अटाएका छन् । जसअनुसार टोटनह्यामका केनसँगै बार्सिलोना र अर्जेन्टिनाका मेसी, इजिप्ट र लिभरपुलका मोहम्मद सलाहले उक्त पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । केनले हालै रुसमा सम्पन्न विश्वकपमा गोल्डेन बूट जितेका थिए ।

त्यस्तै विश्वकप विजेता फ्रान्सका एन्टोइन ग्रीजम्यान, किलीयन एम्बाप्पे र राफाएल भराने रहेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएर गोल्डेन बल जितेका लुका मोड्रिच पनि प्रतिस्पर्धामा छन् । बेल्जियमलाई तेस्रो स्थान ओगट्न महत्वपूर्ण भुमिका खेलेका चेल्सीका इडेन हजाडम्यानचेस्टर सिटीका केभिन डी ब्रुएन समेत सूचीमा अटाए । यस्तै हालै रियल मेड्रिडबाट युभेन्टसमा आबद्ध भएका क्रिस्टियानो रोनाल्डो सूचीमा छन् ।

तर नेयमारका लागि कुनै स्थान रहेन । ब्राजिललाई विश्वकपमा क्वार्टरफाइनल सम्म पु¥याएका नेयमारले पेरिस सेन्ट जर्मेनका लागि २८ गोल गरेका थिए । यो फिफाको उत्कृष्ट पुरुष खेलाडीको नाम जुलाई ३, २०१७ देखि जुलाई १५, २०१८ सम्मको प्रदर्शनलाई आधार मानी सार्वजनिक गरिएको हो ।

मनोनयनमा परेका खेलाडीको प्रदर्शनमा केनले टोटनह्यामका लागि सो एक वर्षको समयमा ४० गोल गरेका थिए । त्यस्तै उनले इंग्ल्यान्डलाई २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पु¥याए । सलाहले लिभरपुलका लागि ४४ गोल गरे । उनी एएस रोमाबाट प्रिमियर लिगमा आएको पहिलो सिजनमा यति गोल गर्न सक्षम भए ।

प्रतिक्रिया दिनुहोस्