ऐतिहासिक संरचनाको संरक्षण गर्न ट्रष्टलाई बजेटकै अभाव



मधुसूदन रायमाझी, काठमाडौं ।
नेपाल ट्रष्टको कार्यालय अन्तर्गत २१ हजार ५ सय ६३ रोपनी जग्गा जमिनको साथै भौतिक संरचनास्वामित्वमा आइसकेको छ । तर जग्गा जमिनको संरक्षण र भौतिक संरचनाको मर्मत सम्भार गर्न आवश्यक बजेट नहुँदा भने ट्रष्टले सास्ती खेप्दै आएको छ ।

ट्रष्ट स्थाना भएयता हालसम्म ट्रष्टको कोषमा ६० करोड रुपैयाँ जम्मा भइसकेको छ । कोषमा जम्मा भएको पैसा दुर्गम क्षेत्रको स्वास्थ्य र शिक्षामा लगानी गर्ने उदेश्य लिएको छ । तर ट्रष्टको कोषमा जम्मा भएको पैसा कहाँ र कसरी सदुपयोग गर्ने भन्ने विषयमा अहिलेसम्म कार्यविधि नै बनाउन सकेको छैन् । सरकारले समृद्धिको नारा अगाडि सारेको छ । तर ट्रष्टसँग रहेको जग्गा जमिन र भौतिक संरचनाको दिर्घकालिन उपयोगको बारेमा सरकारको अझै पर्याप्त ध्यान दिन सकेको छैन् ।

विक्रम सम्वत २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उहाँको परिवारको सामुहिक हत्या भएपछि उहाँहरुको नाममा रहेको सम्पत्तिलाई ट्रष्ट मातहत ल्याउने निर्णय बमोजिम २०६४ साल मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो ।

सरकारले २०६४ सालमा जारी गरेको अध्यादेशलाई परिमार्जन गर्दै ०६४ साल नेपाल ट्रष्ट ऐन जारी गरी ट्रष्टको कामलाई थप प्रभावकारी बनाउनको लागि २०६५ मा नेपाल ट्रष्टको नियमावली जारी गरिसकेको छ । ऐन जारी गरेको दस बर्ष वितिसक्दा समेत कार्यविधि बन्न सकेको छैन् । ट्रष्टको कार्यालयले आफू मातहत गरेको सम्पत्तिको मुल्य झण्डै ८७ अर्ब रुपैयाँ रहेको प्रारम्भिक मुल्याङकन गरेको छ । १२ जिल्लामा आफ्नो भौतिक पूर्वाधारसहितको २१ हजार ५ सय ६३ रोपनी जग्गा रहेको छ । तर जग्गाको भरपर्दो संरक्षण देखिएको छैन् ।

पूर्व राजा वीरेन्द्र र रानी ऐश्वर्य शाहका परिवारको नाममा रहेको र रहन सक्ने चलअचल सम्पत्तिलाई सरकार मातहत ल्याउनको लागि नेपाल ट्रष्टको स्थापना भएको थियो । सो सम्पत्तिबाट भएको र हुने आम्दानीबाट शिक्षा स्वास्थ्य लगायतका सामाजिक कार्यमा योगदान दिने पवित्र उदेश्य सहित स्थापना भएको ट्रष्टलले निकै लामो मेहनत गरेर २१ हजार ५ सय रोपनी जग्गा आफ्नो स्वामित्वमा ल्याउन सफल भएको छ ।

तर ट्रष्ट मातहत आएको भौतिक संरचना र जग्गा जमिनको व्यवस्थापन गर्न भने निकै गाह्रो परेको छ । सरकारले बार्षिक करिक ६० लाख मात्र मर्मत सम्र्भारको नाममा खर्च गर्दै आएको छ । ट्रष्टको कार्यालयका इन्जिीनियर बार्षिक मर्मत सम्भारमा मात्र करोडौ रुपैयाँ बजेटका आवश्यकता भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘आवश्यकता धेरै छ, बजेट निकै न्युन छ, जसको कारण अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।’

ट्रष्टको स्वामित्वमा आएको सम्पत्तिहरुको उचित व्यवस्थापन, सञ्चालन गरी राष्ट्रको सर्वोत्तम हितलाई ध्यान दिदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको ट्रष्टले लिएको छ । नेपाल ट्रष्टको कोष अन्तर्गत हाल ६० करोड रुपैयाँ जम्मा भइसकेको छ । कोषमा जम्मा भएको रकमलाई कसरी परिचालन र व्यवस्थापन गर्ने भन्ने विषयमा ट्रष्टले कार्यविधि निर्माणको काम गरिरहेको ट्रष्टको कार्यालयले बताएको छ ।

कार्याजलयले आफ्नो स्वामित्वमा रहेका जग्गा जमिनमा अनाधिकृत रुपमा बसोबास गरेकाहरुलाई कानुन बमोजिम हटाउने कामलाई प्राथमिकता दिएको छ । ट्रष्ट अन्तर्गत रहेको सम्पत्ति प्रयोग गर्नेहरुले सहज रुपमा हस्तान्तरण नगर्दा कार्यालयले कानुनी बाटोबाट अगाडि बढनु पर्ने अवस्था रहेको छ ।

नेपाल ट्रष्ट ऐनले ट्रष्टका कार्यहरु सञ्चालन र व्यवस्थापन गर्न गृह मन्त्री अध्यक्ष रहने गरी नौ सदस्यीय ट्रष्ट सञ्चालक समितिको व्यवस्था गरेको छ । तर दस बर्ष वितिसक्दा समेत चार जना सदस्यहरु खाली रहेका छन् । ट्रष्टले रिक्त रहेका सदस्यहरुको नियुक्तिको लागि मन्त्रीपरिषद्को कार्यालयमा सिफारिस गरिसकेको बताएको छ ।

समितिको उपाध्यक्षमा नेपाल सरकारका मुख्य सचिव, सदस्यहरुमा गृह मन्त्रालका सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, नेपाल सरकारले नियुक्त गरेको वा तोकेको दुई जना महिला सहित चार व्यक्ति र ट्रष्टका कार्यकारी सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । कार्यालयले ट्रष्ट मातहत रहेका सम्पत्तिको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्दै बाँकी रहेको सम्पत्तिहरुको पनि खोजबिन कार्य भइरहेको बताएको छ ।

वि सं. २०६२÷०६३ सालको जनआन्दोलनबाट नेपालमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भयो । पूर्व राजा वीरेन्द्र शाहको परिवारको नाममा रहेको चल अचल आफ्नो स्वामित्वमा ल्याए पनि उचित रुपमा मर्मत सम्र्भार हुन नसक्दा भने ऐतिहासिक भौतिक संरचना लोप हुने अवस्थामा पुगेको छ । समयमा नै मर्मत सम्र्भार पुननिर्माण हुन नसक्दा गोकर्णमा पूर्व राजा वीरेन्द्र बस्ने निवास अहिले भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेका छ ।

ट्रष्टको स्वामित्वमा रहका विभिन्न स्थानहरुको जग्गा तथा त्यसमा निर्मित भौतिक संरचनाको सुरक्षा र संरक्षणको काम कार्यालयले गर्दै आएको छ । ट्रष्टको नाममा रहेको जग्गामा स्थानीयको अवरोधको बाबजुद पनि तारबार लगाउने, पर्खाल निर्माण गर्ने तथा निर्मित ऐतिहासिक संरचनाको मर्मत सम्भार गर्ने काम धेरै पनि भएपनि बजेटको अभावमा मर्मत सम्भावरको काम निकै न्युन रहेको छ । ट्रष्टको स्वामित्वमा रहेको जग्गा तथा जमिनको उपयोग गर्ने विषयमा थप अध्ययन र अनुसन्धान भइरहेको कार्यालयले बताएको छ ।

ट्रष्टले काठमाडौंको गाकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीस्थित काठमाडौं प्लाजा, लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टर्ड बैक, टेकुस्थित बिजनेश पार्क, सोल्टी आउटर कम्प्लेक्स, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, गरिबी निवारण कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई लिज र भाडामा लगाएको छ । जसबाट ट्रष्टले बार्षिक रुपमा थप आय आर्जन गर्दै आएको छ । ट्रष्ट अन्तर्गत रहेको भवनहरु अधिकतम सदुपयोग गर्ने नीति कार्यालयले लिएको छ ।


ट्रष्टको स्वामित्वमा आएको जग्गामा ऐतिहासिक भवनहरु समेत रहेका छन । ती भवनहरुको समय समयमा मर्मत सम्भार र रंगरोगन गर्न एवंम पर्खाल तथा तारबार गर्न पनि ट्रष्टको कार्यलयसँग आवश्यक बजेटको अभाव छ । अर्थ मन्त्रालयसँग पटक–पटक बजेटको माग गर्दा पनि आवश्यक बजेट समेत उपलब्ध हुन सकेको छैन् । ट्रष्टले आफ्नो स्वामित्वमा आएका ऐतिहासिक सम्पदाहरुलाई संग्रहालयको रुपमा विकास गर्ने अवधारणा अगाडि सारेको छ ।

स्थानीय सरोकारवाला निकायहरुले पनि पूर्व राजा र उहाँको परिवारहरुको व्यक्तिगत जीवनको बारेमा जानकारी गराउनको लागि तत्कालिन राजपरिवारहरु बस्ने गरेका विभिन्न ऐतिहासिक भवनहरुलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

ट्रष्टले आफ्नो सम्पत्तिको संरक्षण र उपयोग सम्बन्धमा रणनीतिक गुरु योजना निर्माण गर्ने काम गरिरहेको छ । हाल ट्रष्टको स्वामित्वमा रहेका विभिन्न स्थानहरुको जग्गा तथा उक्त जग्गामा निर्मित भौतिक संरचनाको सुरक्षा र संरक्षणका लागि नेपाली सेनाको निरन्तर रुपमा सहयोग गर्दै आएको छ । हाल ट्रष्टलाई प्राप्त सीमित रकमबाट पनि ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरुमा तारवार लगाउने, पर्खाल निर्माण गर्ने तथा ऐतिहासिक भवनहरुको मर्मत सम्भारको कामहरु हुँदै आएको छ ।

ट्रष्टको कार्यालयले विभिन्न जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय, मातपोत कार्यालय र नापी कार्यालयहरुमा खटिएर जग्गा खोजीको कार्यलाई जारी राखेको छ । त्यस्ता घर जग्गा र जमिनको उपयोगका लागि क्रमशः प्राविधिक अध्ययन गराई ट्रष्टलाई अधिकतम फाइदा हुने गरी काम भइरहेको कार्यालयका इन्जिनीयर श्रीकान्त भट्टराई बताउनुहुन्छ ।


ट्रष्टको स्वामित्वमा रहेको कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइटमा अवस्थित रत्न मन्दिर पूर्व राजा र उहाँका परिवार बस्ने निजी आवास थियो । सुन्दर नगरी पोखराको फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई पूर्व राजाको निजी जीवनको बारेमा जानकारी गराउनको लागि संग्रहालयकै रुपमा विकास गर्ने योजना ट्रष्टले बनाएको छ ।

पोखरी जति सुन्दर छ । यो रत्न मन्दिर पनि उत्तिकै सफा र सुन्दर छ । पूर्व राजा र उहाँहरुका परिवारले उपयोग गर्ने वस्तुहरुको अहिले पनि संरक्षण गरेर राखिएको छ । प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले रत्न मन्दिरलाई संग्राहलयको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ ।

पोखराका नागरिक समाजका अगुवा, पर्यटन व्यवसायीहरु पनि रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गरेर अगाडि बढनु पर्ने पक्षमा देखिएका छन् । पोखराका पर्यटन व्यवसायी अग्नी कडेल पोखराको सौन्र्दयतासँगै रत्न मन्दिरलाई संग्राहलयको रुपमा विकास गरेर अगाडि जानु पर्ने बताउनुहुन्छ । स्थानीयले रत्न मन्दिर र हिमा गृह ऐतिहासिक महत्वका सम्पदा भएकाले भवनहरुलाई सुरक्षित राख्दै पर्यटकहरुको दृश्यावलोकनका लागि खुल्ल्ला गर्नुपर्नेमा जोड दिएका छन् ।

पटक–पटक ऐतिहासिक रत्न मन्दिरको सम्पदालाई अतिक्रमण गर्ने कोशिस भएपनि हाल रत्नमन्दिर–फेवाताल सरोकार समिति नै गठन गरिएको बताउदै समितिका महासचिव रामबहादुर पौडेलले कुनै पनि बहानामा रत्न मन्दिरको सौन्दर्यलाई विगार्ने काम आफूहरुलाई मान्य नहुने बताउनुभयो ।


नेपाल ट्रष्ट इकाई कार्यालयका पोखराका प्रमुख कृष्ण गुवाजुले रत्न मन्दिरभित्र पूर्व राजाले प्रयोग गर्ने वस्तुहरुलाई अहिले पनि सुरक्षित रुपमा संरक्षण गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले पूर्व राज परिवारको निजी जीवनको बारेमा बुझन पनि संग्राहलय अध्ययन केन्द्र हुने बताउनुभयो । पोखराको रत्न मन्दिरर १ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

पोखरासँगै पूर्व राजाले बस्ने गरेको निवासहरुको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनको काम ट्रष्टले गर्दै आएको छ । मकवानपुरको कान्ति ईश्वरी गृहको संरक्षणको काम ट्रष्टले नै गरिरहेको छ । करिब २ बिगाह क्षेत्रफलको जग्गामा रहेको गृहलाई पार्क र संग्राहलयको रुपमा विकास गर्नुपर्ने अवधारणा अगाडि बढाइएको इकाई प्रमुख क्युवा लामा बताउनुहुन्छ ।

पर्यटकीय नगरी चितवनको नारायण नदीसँग जोडिएको दियालो बंगला पनि उचित व्यवस्थापनको पखाईमा रहेको छ । ९७ विगाह ११ कठ्ठामा क्षेत्रफलमा फैलिएको दियालो बंगलामा दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । आवश्यक बजेट नहुदा दियालो बंगलाको मर्मत संम्भार समेत पर्याप्त हुन सकेको छैन् । समृद्ध नेपाल निर्माण आजको आवश्यता हो ।

देशको विकास र समृद्धिको लागि रहेक क्षेत्रमा योजनाबद्ध रुपमा नीति निर्माण र त्यसलाई कार्यान्वयन गर्ने प्रभावकारी बजेट र व्यवस्थापन चाहिन्छ । योजना र बजेट विहीन गन्तव्यले सही दिशा पहिल्याउन सक्दैन । ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिबाट राष्ट्रले नै फाइदा लिन सक्छ । ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिहरुको उचित संरक्षण, मर्मत सम्र्भार तथा व्यवस्थापन गर्ने कार्यमा पर्याप्त ध्यान दिदै ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु र भावी पुस्तामा हस्तान्तरण गर्दै जानु सरकारको दायित्व र कर्तव्य हो ।

‘मर्मत सम्भार गर्ने न्युनतम बजेट पनि छैन’


यदु प्रसाद पन्थी
सह –सचिव, नेपाल ट्रष्टको कार्यालय

पवित्र उदेश्यको साथ नेपाल ट्रष्टको कार्यालयको स्थापना भएको हो । यसको लक्ष्य र उदेश्य अनुसार काम पनि भइरहेका छन् । दस बर्षको अवधिमा ट्रष्ट सञ्चालक समितिको ४३ वटा बैठक सम्पन्न भइसकेको छ । टेपाल ट्रष्ट अन्तर्गत भएका चल अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने विषयमा कार्यविधि निर्माणको प्रक्रियामा छौं ।

 

भौतिक संरचनालाई लिजमा दिने बारेमा पनि कार्यविधि बनेको छैन् यो पनि बनाउने क्रममा छौं । राजदरवार मार्फत लिएका सम्झौताहरुलाई ट्रष्टको कार्यालयले नविकरण गरेको हो ।

 

त्यो बेला भएको सम्झौतालाई यथावत राख्दै नविकरण गरिदै आएको छ । ती लिजमा दिएको जग्गा तथा भौतिक संरचनाको समय अवधि सकिएपछि खुल्ला प्रतिस्पर्धा गराउने हो भने केही बढने सम्भावना रहेको छ । त्यसको लागि पनि हामीले गृहकार्य गरिरहेका छौं । लिजको बारेमा मन्त्रीपरषद्ले नै निर्णय गर्छ । मर्मत सम्र्भारको लागि बार्षिक पच्चपन्न लाख रुपैयाँ मात्र बजेट छ । यसले मर्मत सम्भार गर्न पुग्दैन । मर्मत सम्भार गर्नुपर्ने ठाउँ धेरै छ ।

 

तीन बर्ष अघि गएको भुकमपको कारणले पनि धेरै पर्खाल भत्किएका छन् । तर कार्यालयसँग सीमित मात्र बजेट छ । बार्षिक डेढ करोड रुपैयाँ भन्दा बढी रकम मर्मत सम्भारको लागि आवश्यक छ । हाल मर्मत सम्भारको लागि खर्च हुँदै आएको बजेटले ऐतिहासिक संरचनालाई यथावत राख्न पनि मुस्किल परेको छ । बजेटको अभावमा ट्रष्ट अन्तर्गत रहेको जग्गा जमिनलाई व्यवसायीक प्रयोजनको बारेमा पनि अध्ययन गराउन सकिएको छैन् ।

 

अहिलेको बजेटले चुहिएको छानो टाल्ने र नगरी नहुने पर्खालको मर्मत मात्र गरिएको छ । गोकर्ण फरेन्ट रिसोर्टका सात किलोमिटर पर्खाल भत्किएको छ । पर्खाल निर्माण गर्न नै करोडौ रुपैयाँ बजेट खर्च हुन्छ । ट्रष्टको सम्पत्तीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्