सार्कका निर्देशक १६ महिनामा ३२ पटक विदेश



क्षयरोग र एचआईभी एड्सको क्षेत्रमा शून्य अनुभवी कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. आरपी बिच्छा १६ महिनाअघि सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र ठिमी, भक्तपुरमा सरुवा भएका थिए। आज उनै विच्छालाई सरकारले स्यावासीसहितको अर्को क्षेत्रको जिम्मेवारी सुम्पेको छ।
आर्थिक अनियमितता गरेकै आरोपमा बाल स्वास्थ्य महाशाखाबाट गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले आर्थिक चाँजोपाँजो मिलाएर गतवर्षको ३ मार्चदेखि सार्क क्षयरोग केन्द्रमा सरुवा भएका थिए। आइतबार त्यही शाखा गाभिएको छ र डा.. बिच्छाले त्यसकै निर्देशक पदमा नियुक्ति पाएका छन्। सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य र परिवार स्वास्थ्य महाशाखालाई एउटैमा गाभेर परिवार कल्याण महाशाखा बनाएको छ।
विगतमा मातृ स्वास्थ्यसँग सम्बन्धित काम परिवार स्वास्थ्य र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषणको काम बाल स्वास्थ्य महाशाखाले गर्दै आएको थियो। नयाँ बनाइएको महाशाखामा डा.. बिच्छालाई निर्देशकको जिम्मेवारी दिइएको छ। डा.बिच्छा यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए। परिवार स्वास्थ्यका निर्देशक डा. तारानाथ पोखरेललाई भने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको जिम्मेवारी दिइएको छ। संघीय संसद्को चुनावताका केन्द्रमा आफ्नो सरुवा मिलाउँदा उनले मोटो रकम बुझाएकै
कारण जस्तोसुकै काम गरे पनि स्वास्थ्य मन्त्रालय र सरकारले आँखा चिम्लिएर स्वीकृति दिने र उनको बढुवा गर्ने गरेको स्रोतको दाबी छ।
सार्क केन्द्रको निर्देशकमा सरुवा मिलाएपछि आफ्नो लगानी उठाउन उनले विभिन्न उपाय अपनाउँदै आएका थिए भने १६ महिनाको अवधिमा उनले केन्द्रका प्रशासन शाखा र लेखाशाखासँग मिलेर विदेश भ्रमण, खरिद तथा विभिन्न शीर्षकमा मिलाएर त्यसको दोब्बर रकम उठाइसकेको स्रोतको दाबी छ।
सार्क मुलुकमा जाँदा प्रतिदिन २ सय र अन्य मुलुकमा जाँदा प्रतिदिन ४ सय अमेरिकी डलर पाउने भएकाले उनले विदेश जाने मामलामा निर्देशक पदको दुरुपयोग गरी आफ्नो हात जगन्नाथ गर्दै प्रत्येक पटक आफू आफ्नो परिवार र लेखा प्रशासनका सेटिङ मिलाउने टोलीलाई मात्र लाने गरेको बताइन्छ।
यसका लागि उनले हरेक महिना कम्तीमा पनि २ वटा कार्यक्रम राख्दै सार्क सदस्य मुलुक घुम्ने गरेका छन्। पछिल्लो तथ्यांकअनुसार उनी सार्कका हरेक देशमा ४÷४ पटक पुगिसकेका छन् भने १ पटक दक्षिण अफ्रिका गएका छन् भने बिहीबार (१९ जुलाई ) मा नेदरल्यान्डको एम्स्टरडयाम गएका छन्।
निर्देशक भएको १६ महिनाको अवधिमा स्वास्थ्य मन्त्रालयको अनुमति नलिई कम्तीमा ५ देखि ७ दिनसम्मको भ्रमण तालिका आफैंले बनाएर दैनिक २ सय अमेरिकी डलर दैनिक भ्रमण भत्ता लिई २८ भन्दा बढीपटक सार्क मुलुक घुमिसकेका छन्।
दैनिक ४ सय अमेरिकी डलरको दरमा १ हप्ताभन्दा बढीको समय मिलाएर मेक्सिको पुगेका बिच्छा केही महिनाअघि दक्षिण अफ्रिकाको कार्यक्रममा आफैं गएका र केन्द्रको प्रोफेसनल (प्राविधिक कर्मचारी) जानुपर्ने ठाउँमा प्रोफेसनल कर्मचारीको नाम काटेर २० जुलाईदेखि नेदरल्यान्डको एम्स्टरडयाममा हुन लागेको अर्काे कार्यक्रममा बिहीबार आफैं गएका छन्। विदेश भ्रमणकै क्रममा स्वास्थ्य मन्त्रालयको उच्च मूल्यांकनमा पर्न सफल भएका छन्। यता नियमित काममा खटिएर पनि कहिल्यै मूल्यांकनमा नपर्ने कर्मचारी भने सरकारको व्यवहारप्रति धिक्कार्दै बसेका छन्।
पछिल्लो समयमा सार्क मुलुकमा जाँदा केन्द्रकी प्रशासन अधिकृत महिला कर्मचारीलाई साथै लैजाने गरेका बिच्छाले केन्द्रकै बजेटमा कहिलेकाँही रिसर्च अफिसर बनाएर श्रीमती, छोराछोरी लिएर जाने गरेका छन्।
त्यतिमात्रै नभई १ महिना बिराएर आफ्नो घर जलेश्वर महोत्तरी जाँदा होस् या अर्काे घर विराटनगरमा जाँदा नै किन नहोस् केन्द्रबाट आफैंले आफ्नो भ्रमण आदेश बनाई दैनिक १ सय ५० अमेरिकी डलरको दरमा केन्द्रबाट असुल्ने गरेको स्रोत बताउँछ।
स्वदेश या विदेश जहाँ गए पनि एउटामात्रै ट्राभल एजेन्सी अर्बिट इन्टरनेसनल बागबजारबाट मात्रै हवाइ टिकट किनेर महँगो बिल बनाई कमिसन खाने गरेको समेत सार्कका असन्तुष्ट कर्मचारीको आरोप छ। एउटा टिकटमा ३० देखि ३५ हजार रुपियाँसम्म फरक परेको कर्मचारीको आरोप छ। यसका लागि हाल छानबिनको क्रममा रहेका केन्द्रका नक्कली प्रमाणपत्रधारी प्रशासन प्रमुख कृष्ण बस्नेत, अर्की कर्मचारी मीना ढकाल र लेखाशाखासँग मिलेर बिच्छाले कमिसन खाने गरेको समेत आरोप लागेको छ।
उता नेपालकै एकमात्र केन्द्रीयस्तरको बाल अस्पताल कान्ति बाल अस्पतालमा ३९ जना चिकित्सकको दरबन्दीमा ९ जनामात्रै कार्यरत शीर्षकको समाचारले आम जनताको ध्यान खिच्न सफल भयो। दैनिक १ हजारभन्दा बढी बिरामी आउने कान्ति बाल अस्पतालमा बिरामी जाँच्ने चिकित्सक नहुनु यता कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. बिच्छालाई १६ महिनादेखि क्षयरोग र एचआईभीको क्षेत्रमा काम गर्न लगाउनुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा सचिव डा. पुष्पा चौधरीमा के स्वार्थ छ ? भनेर प्रश्न उठिरहेको बेला अर्को विभागको निर्देशक बनाएर पठाउनुले थप शंका उब्जाएको छ।
यति जटिल समस्या आउँदा समेत स्वास्थ्य मन्त्रालयका सचिव डा. चौधरीले कुनै चासो नदिनु र अर्को संस्थाको निर्देशकमा सिफारिस गर्नुमा कतै उहाँ र मन्त्री यादवको नै संरक्षणमा बालरोग विशेषज्ञ डा. बिच्छालाई काखी च्यापेका कारण पछिल्लो समय व्यापक आर्थिक अनियमितता हुँदा पनि उनीमाथि कारबाही नभएको तै हैन भन्दै प्रश्न उठिरहेको छ। मन्त्रालयले बुधबारमात्रै सार्वजनिक गरेको स्वास्थ्य अधिकारीको सरुवामा डा. बिच्छा नपारिनु र आइतबार निर्देशक पदको जिम्मेवारीमा नियुक्त गरिनुलाई अझ अर्थपूर्णरूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्