ओजिलद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास



लन्डन, (एजेन्सी)
जर्मन मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।
आइतबार राति एक लामो विज्ञप्ती जारी गर्दै ओजिलले सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपअघि टर्कीका राष्ट्रपति एन्डोगानसँग फोटो खिचाएका कारण विवादित बनेका ओजिलले त्यसपछि आफूलाई राजनीतिक प्रोपोगान्डा बनाएको र जर्मन फुटबल संघले आफूलाई गलत व्यवहार गरेको जनाएका छन् ।

इंग्लिस क्लब आर्सेनलबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले रुस विश्वकपमा खराब प्रर्दशन गरेको आरोप खेपेका थिए । टर्कीका राष्ट्रपतिसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेका २९ बर्षिय ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताएका छन् ।

सन् २००९ मा डेब्यू गरेका ओजिलले ९२ क्याप जितेका छन् । जर्मनीका लागि २३ गोल गरेका ओजिल सन् २०१४ को विश्वविजेता हुँदा महत्वपूर्ण खेलाडी थिए । उनले पाँच पटक जर्मन प्लेयर अफ दी इयर जितेका थिए ।

सन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘‘सन्यास घोषणा गर्नु आफैमा मेरा लागि कठिन र चुनौतीपूर्ण काम हो । जब जित्थे तब मलाई जर्मन भनिन्छ, जब हारे तब म प्रवासी भनिन थालियो । वास्तवमा मेरो परिवार टर्कीका हुन् र मैले मेरो परिवारको राष्ट्र प्रमुखसँग फोटो खिचाएको हुँ ।

तर यो जातियता र नश्लवादसँग केही सरोकार नै नभएको विषय हो । मेरा समकालीन साथी पोडोल्स्की र मिरोस्लाभ क्लोज पनि पोल्याण्डका हुन् । तर उनीहरुलाई जातीयतासँग जोडिएको छैन । तर म मुस्लिम राष्ट्र टर्कीसँग सम्बन्धित भएकोले अहिले चर्चा पाएको छ ।’

ओजिल अहिले प्री–सिजन टूरका लागि सिंगापुर जाने आर्सेनल टोलीमा सामेल हुने तयारीमा छन् । जहाँ इन्टरनेसनल च्याम्पियन्स कप २०१८ अन्तर्गत आर्सेनलले एट्लेटिको मेड्रिड र पेरिस सेन्ट जर्मेनसँग म्याच खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्