शैक्षिक हब बन्दै विराटनगर



सरोज यादव,
कुनै समयमा विराटनगरका कलेज या शिक्षण संस्था औंलामा गन्न सकिन्थ्यो। त्यसमा पनि उच्च शिक्षा अध्ययनका लागि कि त महेन्द्र मोरङ बहुमुखी क्याम्पस नै थियो, कि त राजधानी काठमाडौं नै पुग्नुपथ्र्यो। तर अहिले समयले फड्को मारेको छ। विराटनगरमा मात्र हैन ग्रामीण बस्तीसम्म अहिले शिक्षण संस्था फैलिइसकेका छन्।

विगतको जस्तो समय छैन अहिले। लामो समयदेखि विभिन्न शैक्षिक संस्थामा पठनपाठन गराउँदै आउनुभएका प्राडा गोविन्द गुरागाईं समयअनुसार विद्यालय मात्र हैन कलेज पनि प्रतिस्पर्धी हुन थालेको बताउनुहुन्छ। पहिला पढ्नका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो, अहिले अन्तर्राष्ट्रियस्तरका कलेज विराटनगरमा खुल्नु सबैका लागि प्रशंसनीय काम भएको शैक्षिक क्षेत्रका विज्ञहरूको भनाइ छ।

विश्व बजारसँग प्रतिस्पर्धी बन्नका लागि उच्च गुणस्तरको पढाइ शुरू गरेर विराटनगरको मेरिल्यान्ड कलेज अहिले अग्रस्थानमा रहेको छ। विराटनगरमै पहिलो पटक बेलायती विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्म्पटनको सहकार्यमा मेरिल्यान्ड कलेजले बीए अर्नर इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको शुरुआत गरेको छ। कलेजका प्रबन्ध निर्देशक भेषराज पोखरेलका अनुसार बदलिँदो विश्व परिवेशलाई सुहाउने पाठ्यक्रमबाट मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने ध्येयका साथ काम भइरहेको छ।

प्राविधिक विषयमा पनि यहाँका कलेजमा विद्यार्थीको चाप बढेको छ। २०५२ सालदेखि प्राविधिक विषयको पठनपाठन गराउँदै आएको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा हरेक वर्ष कलेजमा भर्ना हुनका लागि आएका विद्यार्थीलाई फर्काउनुपर्ने स्थिति छ।

 

बेलायती पब्लिक (सरकारी) विश्वविद्यालयसँगको साझेदारीमा अन्तर्राष्ट्रिय दर्जामा अब विराटनगरलाई उभ्याउने प्रयास गरिसकेको कलेज सञ्चालक बताउँछन्। नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृति र त्रिभुवन विश्वविद्यालयको समकक्षता रहेको उक्त डिग्री विगत ४ वर्षदेखि सञ्चानलमा रहेको छ। पहिलो ब्याचका ७० जनाले अध्ययन पूरा गरिसकेका छन्। उनीहरूले हिजो आइतबार स्नातकको प्रमाणपत्र पाएका छन्। दीक्षान्त समारोहका लागि विश्वविद्यालयका इन्टरनेसनल भाइस चान्सलर नै विराटनगर आएका छन्।

काठमाडांै, भारत र तेस्रो मुलुकका महँगा कलेजको विकल्पका रूपमा मेरिल्यान्ड स्थापित कलेज हो। यस कलेजका विद्यार्थीले वैदेसिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउँदै आएका छन्। विगत २ वर्षदेखि कलेजले हरेक वर्ष कलेजका विद्यार्थीलाई विदेश भ्रमणका लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ। यस वर्ष पनि कलेजका २ जना विद्यार्थी बेलायतको समर क्याम्प–२०१८ का लागि जाने भएका छन्। बेलायतसँगै अब कलेजका १० जना विद्यार्थी थाइल्यान्ड पनि जाने भएका छन्। युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका १० जना विद्यार्थी थाइल्यान्ड जाने भएका हुन्। १ हप्ताको थाइल्यान्ड बसाइँका क्रममा विद्यार्थीले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा विभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुनेछन्।

सेप्टेम्बर ९ देखि १८ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ। बेलायतको सरकारी विश्वविद्यालय वल्भरह्यामटनको सापझेदारीमा खुलेको यो कलेजले अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा तथा बेलायतजस्ता सम्पन्न ठाउँको शैक्षिक गुणस्तरलाई स्थानीय तहमै सर्वसुलभ बनाइदिएको छ। अन्तर्राष्ट्रिय शिक्षण विधि, अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास र अन्तर्राष्ट्रिय पाठ्यक्रमको कारण विद्यार्थीमा उक्त डिग्रीप्रति रुचि बढेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताउनुभयो।

 

खर्बाैं रकम बिदेसिनबाट रोकिने

स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा पछिल्लो ५ वर्षयता मुलुकबाट २ लाखभन्दा बढी विद्यार्थीसँगै २ खर्ब रुपियाँभन्दा बढी बाहिरिएको छ। शिक्षा मन्त्रालयको स्वीकृतिमा विदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा ठूलो रकम गुमाउँदै आएको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक नेपाल ७१ मुलुकको हो। मन्त्रालयको स्वीकृति लिएर आव ०७३/०७४ मा मात्रै ५६ हजार विद्यार्थी विदेसिएका छन्।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही बढी हो। आर्थिक वर्ष ०७२/७३ मा भने ५० हजार ६ सय ५९ जना विद्यार्थी बाहिरिएका छन्। विदेसिने विद्यार्थीमा सबैभन्दा बढी अस्ट्रेलिया गएका छन् भने विद्यार्थीको दोस्रो रोजाइमा जापान परेको छ। नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम वर्षेनी बढ्दो छ। प्रतिविद्यार्थी १० लाखलाई मात्र पनि खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट २ खर्ब रुपियाँ बाहिरिएको छ।

प्रदेश १ को अस्थायी मुकाम विराटनगरका कलेजमा भौतिक संरचना, पढाइको गुणस्तरले प्रदेश १ का मात्र होइन, प्रदेश २ का विद्यार्थीको पनि आकर्षण रहेको छ। विद्यालय सञ्चालकका अनुसार यहाँका नाम चलेका कलेजमा वर्षेनी १५ देखि २० प्रतिशत विद्यार्थी बढ्ने गरेका छन्। प्रदेश १ र २ का तराई क्षेत्रका विद्यार्थीको बढी रोजाइमा विराटनगरका कलेज र यहाँका विद्यालय पर्ने गरेका छन्।

 

यसबाहेक सीमावर्ती भारतीय क्षेत्रका विद्यार्थी पनि विराटनगरमा पढ्न आउने गरेका छन्। विराटनगरमा सञ्चालन भइरहेका निजी र सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि राम्रो सेवा दिएका छन्। आकर्षक भवन, गुणस्तरीय ल्याब, शिक्षक र नियमित यातायातको व्यवस्थाजस्ता अनेक कारणले विराटनगरका विद्यालय विद्यार्थीको रोजाइमा पर्ने गरेको एभरेस्ट उच्च माविका प्रिन्सिपल टीकाराम पुरीले बताउनुभयो।

यहाँका कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विराटनगरका कोवास, एभरेस्ट, मेरिल्यान्ड, स्टार, अरनिकोलगायत विभिन्न विद्यालय शिक्षा मन्त्रालयबाट विभिन्न पुरस्कृत पनि भइसकेका छन्। विराटनगरमा सबै विषयका उत्कृष्ट विद्यालय भएकाले शैक्षिक हब बन्दै गएको अरनिको माविका प्रिन्सिपल राजेश कार्कीको धारणा छ।
विराटनगर गुणस्तरीय शिक्षाका लागि चर्चित बन्दै गएपछि यहाँ हरेक वर्ष नयाँ विद्यालय खुुल्ने र लगानी थपिने क्रम पनि बढ्दो छ। यहाँ भर्नाका लागि अनुरोध गर्दै सिरहा, सप्तरी, धनुषा, सर्लाही, सुनसरीदेखिका अभिभावक आफूकहाँ आउने गरेको तर सिट सीमित भएको र विद्यालयको गुणस्तरलाई समेत हेक्का गरेर विद्यार्थी भर्ना लिने गरेको ४० वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएको सेन्ट जोसेफ उच्च माविका संयोजक रोहित थपलिया बताउनुहुन्छ।

उत्कृष्ट नतिजा

विराटनगरका निजी विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै विराटनगरका विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन्।

विराटनगरमा रहेको एभरेस्ट विद्यालयकी कृतिका थापा नेपाल टप भएको विद्यालयले दाबी गरेको छ। एभरेस्टबाट १ सय ४७ जनाले परीक्षा दिएकामा ९० जनाले ३.६१ जीपीएभन्दा बढी, ५६ जनाले ३.२५ देखि ३.६ जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिनुभयो। कृतिकाले ४ जीपीए ल्याएकी छन्। सगरमाथा स्कुलबाट १ सय ८१ जना विद्यार्थीले दिएको परीक्षामा ५१ जना विद्यार्थीले ३.६ जीपीए, १ सय २५ जनाले ३.२ देखि ३.५ जीपीए र ५ जनाले ३.१० जीपीए ल्याएको स्कुलका प्रिन्सिपल विनोद अधिकारीले बताउनुभयो।

त्यस्तै मोर्डनएरा स्कुलबाट ६० जनाले दिएको परीक्षामा ४ जनाले ३.९ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कुलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिनुभयो। विराटनगरको हाटखोलामा रहेको ग्रेडेड स्कुलबाट ३८ जना विद्यार्थीले दिएको परीक्षामा सुरज खड्काले उत्कृष्ट नतिजा ल्याएका छन्। उनले ३.८ जीपीए ल्याएर स्कुल टप गरेका छन्। स्कुलका ४ जनाले ३.६ जीपीए, २१ जनाले ३.२ देखि ३.५ जीपीए र १३ जनाले २.८ जीपीएभन्दा बढी ल्याएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो।

 

कान्तिपुर स्कुलबाट २८ जनाले परीक्षा दिएकामा ४ जनाले ३.६ जीपीए, १४ जनाले ३.२ देखि ३.५ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कुलले जनाएको छ। विराटनगरमा रहेका पूर्वाञ्चल विद्या सदन, नमुना बोर्डिङ स्कुल, गौतम बुद्ध, बीकेभीएम, केभीएम, अरनिको स्कुल, लर्डबुद्ध, मदर टेरेसा, सेन्टजोसेफ, अर्किड, सिद्धार्थ, अन्नपूर्ण एकेडेमीलगायतका स्कुलले उत्कृष्ट नतिजा ल्याएका छन्। त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मोरङ पब्लिक स्कुलले समेत उत्कृष्ट नजिता ल्याएको छ। यस्तै अंग्रेजी माध्यममा पनि पढाउन शुरू गरिरहेका विराटनगरका सामुदायिक विद्यालय पोखरिया, सत्यनारायण, आदर्श, राधाकृष्ण र नरग्राम माविले पनि एसईई परीक्षामा राम्रो नतिजा ल्याएका छन्। विराटनगरका कलेजमा खासगरी साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ तथा प्राविधिक विषयका सीएमए अनमी, एचएलगायत पढ्न विद्यार्थीको लर्को लाग्नेगरेको छ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले एमबीबीएस, एमडीएमएस, बीडीएस, बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यस्तै, पूर्वमै सिभिल, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङका स्नातक कार्यक्रम पनि सञ्चालित छन्। यस्तै, बीसीए, बीआईटी, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन कार्यक्रम पनि पूर्वमा छन्। प्रदेश १ मा १ विश्वविद्यालय, ३ मेडिकल कलेज, ३ इन्जिनियरिङ कलेज, सामुदायिक क्याम्पस २ दर्जन, सामुदायिक र निजीसहित ६ सय ८७ कलेज रहेका छन्।


राजधानीबाहिरको शैक्षिक केन्द्रका रूपमा स्थापित विराटनगरका कलेजमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको अत्यधिक चाप देखिएको छ। विज्ञान विषय लिएर अध्ययन गर्नेका लागि धेरै विकल्प भएकाले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हिसान मोरङ अध्यक्ष बलराम पन्त बताउनुहुन्छ। विज्ञान विषयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले इन्जिनियरिङ, मेडिकल साइन्स, खाद्य प्रविधि, वन विज्ञान, सीए, व्यवस्थापन, कृषि विज्ञानलगायतका विषय रोजीरोजी पढ्न पाउँछन्। हिसान मोरङमा २९ वटा प्लस टु आबद्ध छन्। तीमध्ये १६ वटा विराटनगर महानगरपालिकाभित्र छन्। ती प्लस टु को ११ कक्षामा विराटनगरमा मात्रै ६ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। विराटनगरभन्दा बाहिर पनि ६ हजारकै हाराहारीमा विद्यार्थी छन्।

प्राविधिक विषय अध्ययन गर्न पनि यहाँका कलेजमा विद्यार्थीको चाप बढेको छ। २०५२ सालदेखि प्राविधिक विषयको पठनपाठन गराउँदै आएको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा हरेक वर्ष कलेजमा भर्ना हुनका लागि आएका विद्यार्थीलाई फर्काउनुपर्ने स्थिति छ। १ सय २० जनाको कोटामा पढाइ हुने शिक्षालयमा हरेक वर्ष भर्ना हुन नपाएर १ सय बढी विद्यार्थी फर्काउनुपर्ने स्थिति रहेको कलेजका प्रिन्सिपल, निर्देशक भगवान् झाले बताउनुभयो। सीएम ए ल्याब एसिस्टेन्ट र आईटी पढाइ हुने सो कलेजबाट अहिलेसम्म १७ सय बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन्। त्यसमध्ये ८३ प्रतिशतले रोजगारी पाइसकेका छन्। निर्देशक झाका अनुसार कलेजबाट अध्ययन पूरा गरेकामध्ये ४६ प्रतिशत निजी, २३ प्रतिशत सरकारी तथा ३२ प्रतिशतले आफ्नै व्यवसाय शुरू गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्