आज पुष्पलालको ४० औँ स्मृति दिवस, स्मृति सभामा ओली र दाहालको संयुक्त सम्बोधन



काठमाडौं । आज अर्थात् साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलालको स्मृतिमा पहिलोपटक तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संयुक्तरुपमा स्मृति दिवस मनाउँदैछ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म विक्रम सम्वत् १९८१ मा रामेछापमा भएको हो । भक्तलाल र तुलसीकुमारीका माहिला छोरा पुष्पलालले भारतमा रहँदा नै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । विक्रम सम्वत् १९९७ मा दाजु गंगालाललाई राणाहरुले गोली ठोकी हत्या गरेपछि उनमा राजनीतिप्रति आकर्षण बढ्न थाल्यो । दाजुको मृत्युलाई प्रेरणाको श्रोत मानेर राजनीतिक जीवन अघि बढाउन थाले ।

१९९८ मा शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज, प्रेमबहादुर कंसाकारलगायतका व्यक्तिहरुको संलग्नतामा नेपाली प्रजातान्तिक संघको स्थापना गरे । संघले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने, विद्यालय खोलेर अध्ययनमा प्रेरित गर्ने, राणाशासनविरुद्ध आवाज उठाउने गर्दथ्यो । नेपालमा कम्युनिष्ट विचार प्रचारप्रसारका लागि पुष्पलालले नै ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका हुन् ।

२००६ सालमा पुष्पलालले केही सहकर्मीहरु जुटाएर नेपाल कम्युनिष्ट पार्टी स्थापा गरे । नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणबिलाश जोशी र मोतीदेवी हुन् । राजनीतिक गतिविधि अघि बढाउने क्रममा २०१६ सालमा पुष्पलाल कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन गए । भ्रमणले आन्दोलनमा थप ऊर्जा पुग्यो । तर २०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी एकदलीय हुकुमी शासन सुरु गरेपछि श्रेष्ठ भूमिगत बसे । दोस्रो महाधिवेशनमा पुष्पलाल अनुपस्थित थिए तर तेस्रो महाधिवेशनमा फेरि पुष्पलाल नै सबैका नेता बने । तर, नेपाली कम्युनिष्ट आन्दोलन टुङ्गोमा पुग्न पाई २०३५ साउन ७ गते उपचारक्रममा भारतमा पुष्पलाल को निधन भयो ।

पुष्पलाल स्मृति दिवसकै अवसर पारेर बिहान चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा पुष्पलालको प्रतिमामा माल्यार्पण कार्यक्रम राखिएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधनमन्त्री केपी ओली र पुष्पकमल दाहालले संयुक्तरुपमा माल्यार्पण गर्नु हुनेछ ।

यस्तै दिउँसो १ बजे नेकपाले राष्ट्रिय सभागृहमा स्मृति सभा राखेको छ । सभामा अध्यक्षद्वय ओली र दाहालले सम्बोधन गर्नुहुनेछ । वरिष्ठ नेताहरु पनि सहभागी बन्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्