आजदेखि उपराष्ट्रपति महिला फुटबल शुरु



नेपाल समाचारपत्र
काठमाडौं
उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता यही साउन ७ गतेदेखि संचालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

आईतबार एन्फाले जनाएअनुसार १५ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागिय र दुई जिल्ला गरी पाँच टोलीको सहभागिता हुनेछन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ महिन्द्रा क्लब, रौतहट र काठमाडौंको महिला टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उदघाटन खेल आर्मी र पुलिसबीच भिडन्त हुनेछ । साउन ७ गते नै अर्को खेलमा काठमाडौं र रौतहटले एकआपसमा खेल्नेछन् । महिला साफ च्याम्पियनसिपका लागि खेलाडी छनोटको रुपमा लिएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा हुनेछ । बढी अंक जोड्ने टोली विजेता घोषित गरिनेछ ।

प्रतियोगितामा सहभागि हुने प्रत्येक टोलीलाई तयारीको लागि एन्फाले ५० हजार नगद दिइएको छ । विजेता टोलीले २ लाख नगद र उपविजेता टोलीले १ लाख नगद पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीको लागि ५० हजार रुपियाँ छुट्याएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई २५ हजार दिइने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्