अाज हरिशयनी एकादशीः घरघरमा तुलसी रोपेर मनाइँदै



काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन सोमबार नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा घरघरमा रोपिन्छ । यसै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए ।

सोमबार बिहानदेखिनै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

यसै दिनदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

पाशुपत क्षेत्रमा तुलसी वितरण गरिने 

यसैबीच पुडासैनी मैत्री समाजले यही साउन ७ गते हरिशयनी एकादशीका दिन पाशुपत क्षेत्रमा १० हजार तुलसी वितरण गर्ने भएको छ । समाजले राम तुलसी र कालो तुलसी गरी १० हजार तुलसीका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजेदेखि साँझसम्म तुलसीका विरुवा उपलब्ध गराइनेछ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ । प्रतिव्यक्ति तीनवटा तुलसीका विरुवा वितरण गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्