आजबाट काठमाडौको फोहोर व्यवस्थापन हुने



ईश्वरराज ढकाल, काठमाडौं
करिब तीन सातादेखि रोकिएको उपत्यकाको फोहोर व्यवस्थापन सुचारु भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले आज सोमबारभित्र राजधानीको फोहोर व्यवस्थापन भइसक्ने दाबी गरेको छ ।

सिसडोल ल्लायन्डफिल साइटको बाटो बिग्रिएको कारण फाहोर व्यवस्थापन कार्यमा समस्या आएको थियो । वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले लगातार पानी परेको कारण सिसडोलामा फोहोर व्यवस्थापन गर्न समस्या भएको जानकारी गराउनुभयो । उहाँले पानी पर्ने क्रम रोकिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको बताउनुभयो ।

तर, टेकुस्थित एक मात्र ट्रान्सफर स्टेसन फोहोरले भरिएको छ । ट्रान्सफर स्टेसनमा फोहोर भरिए पनि उपत्यकाको शहरको फोहोर संकलन गरिएको बताउनुभयो । ‘ट्रान्सफर स्टेसनको केही दिन लाग्न सक्छ, आजसम्म राजधानीको सडकको फोहोर उठाइसक्नेछांै’ –उहाँले भन्नुभयो । कामपाले दैनिक करिब ५ ट्रक फाहोर व्यवस्थापन गरिरहेको छ ।

फोहोरले पूर्ण रुपमा भरिएको सिसडोल ल्यान्डफिल साइटको अवस्था बिगँ्रदै गएको छ । यही अवस्थामा फोहोर व्यवस्थापन भए करिब तीन महिनामा ल्यान्डफिल साइट पूर्ण रुपमा भरिनेछ । सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको कारण वर्षात्मा दैनिकजसो समस्या पर्दै गएको छ । कति दिन फोहोरको डंगुरमा बाटो बनाउँदै फोहोर व्यवस्थापन गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले ध्यान नदिए समस्या पर्ने देखिएको विभागीय प्रमुख कुँवरले बताउनुभयो ।

सरकारले सिसडोल ल्याण्डफिल नजिकै रहेको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने तयारी गरेको करिब दुई वर्ष बितिसक्दा पनि पूर्वाधार निर्माण गर्न कुनै चासो देखाएको छैन । करिब डेढ वर्षदेखि पूर्वाधार निर्माण ठप्प भएको छ । ‘सानो सिसडोल ल्यान्डफिल साइटले कतिदिन थेग्न सक्छ ?’ –विभागीय प्रमुख कँुवरले भन्नुभयो ।

अहिलेसम्म कुनै समस्या नपर्ने गरी जेनतेन फोहोर व्यवस्थापन गरिरहेको उहाको भनाइ थियो । कामपाले राजधानीको फाहोर व्यवस्थापन गरिरहेको जनाए तापनि अहिलेसम्म राजधानीको खोला किनाराको बाटोमा फोहोरको डंगुर देखिएको छ । काठमाडौ महानगरको करिब ६ सय र अन्य १८ स्थानीय निकायको ५ सय टन फोहोर संकलन हुने गरेको छ ।

अहिले पनि बाटो भासिएको अवस्थामा ग्राबेल र माटोले बाटो निर्माण गर्दै फोहोर व्यवस्थापन गर्ने गरेको छ । अहिले १८ स्थानीयसहित बनेपा नगरपालिका र ककनी गाउँपालिका गरी २० स्थानीय निकायको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ ।

फोहोर व्यवस्थापन कार्यमा सरकारले हात झिकेपछि राजधानीलगायत काठमाडौं र सँगैका केही जिल्लाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्