परिचयपत्रको महत्व बुझ्दै राउटे



हिक्मत नेपाली, दैलेख ।

पिठ्युँमा गादो, एक युवाको शिरमा टलक्क टल्किएको नेपाली झण्डा अंकित कालो टोपी । अर्को युवाको शिरमा मैलो उनले बुनेको टोपी । छड्के हालेको पुरानो सानो थैलो । एक युवाले कालो झोला बोकेर अगाडी लम्किरहेका थिए । उकालो बाटो, न थकान थियो, न निराशा । घाँटीमा हरियो फिता जस्तै झुण्डिएको । त्यहि हरियो फितामा परिचयपत्र झुण्डाएका थिए ।

परिचय पत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको प्रस्टै देखिन्थ्यो । झट्ट हेर्दा फरक पहिचान र सभ्यता भएका देखिने । आफनै भाषामा गफिदै हिडेका राउटे समुदायका दुई युवा जिल्लाको गुराँस गाउँपालिका–८ को धरमपोखरा बजार नजिकै भेटिए ।

गुरासँ गाउँपालिकाले फिरन्ते जाती राउटे समुदायलाई स्थायी परिचय पत्र वितरण गरेको एक साता पछि समुदायका दुई युवा धरमपोखरा बजार नजिकै भेटिएका थिए । आफ्नै सुरमा बाटो काट्दै गरेको राउटे युवा भेटिने वित्तिकै सोधि हाल्यौ ?

घाँटीमा झुण्ड्याउनु भएको के हो ? राउटे युवा नारायण शाहीले जवाफ दिए “गाउँपालिकाले दिएको परिचयपत्र हो ।” किन दिएको होला गाउँपालिकाले, हाम्र्रो प्रश्न थियो । उनले भने “हामीलाई सरकारले दिने भत्ता परिचय पत्रका आधारमा दिने भनेको छ” मैले त आफु जता गएपनि आफे संग राख्ने गरेको छु ।” हाम्रा जनताले पनि परिचय पत्रलाई सुरक्षित राखेका छन् ।” अर्का युवा सुद्धराम शाहीले भने “हामीले परिचय पत्र सुरक्षित राखेका छौ, अब भत्ता आएपछि मात्र निकाल्छौ ।”

गत असार ३० गते गुरासँ गाउँपालिकाको पहल र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा राउटे समुदायलाई स्थायी ठेगाना भएको प्रमाण प्रदान गरिएको थियो । परिचय पत्र वितरण संगै उनिहरुले सुरक्षित राख्न नसक्ने चिन्ता एक थरीले गर्दै आएका थिए ।

राउटे समुदायका पूर्व मुखिया महिन बहादुर शाहीले भने “हाम्रा जनताले परिचय पत्र सुरक्षित राखेको छ ।” अब भत्ता आएपछि परिचय पत्र निकाल्छौ, सोहि अनुसार भत्ता खाने हो ।” परिचय पत्र लिनमा आनाकानी गरेको भएपनि समुदायका अगुवा, महिला, बालबालिका तथा युवा युवतीहरुले परिचय पत्रको महत्व बुझ्दै गएको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीका बुझाई छ ।

नेपालको प्रदेश नं. ५, ७ र कर्णालीका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र वितरण गरिएको थियो । गुराँस गाउँपालिका–८ पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो ।

‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याई, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण थियो । राउटे सुदायलाई पहिचान सहितको परिचय पत्र वितरण संगै समुदायमा स्वास्थ्य उपचारमा सहजता ल्याउन र उनिहरुको आनीबानीमा परिवर्तन ल्याउन ‘राउटे परियोजना’ संचालन भएको छ । एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत राउटे परियोजना संचालन भएको हो ।

फिरन्ते जीवत बिताइरहेका राउटे समुदायको अहिलेको संख्या १ सय ४९ छ । गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार यो समुदायमा बालबालिकाको संख्या अधिक छ । राउटे समुदायमा सात वर्षसम्मका ४७ जना बालबालिका छन् ।

यस्तै १६ देखि ४० वर्षसम्मका ४४ छन् । ८ देखि १५ वर्षसम्मका २४ जना छन् भने ४१ देखि ६० वर्षसम्मका २० जना रहेका छन् । ६१ वर्षमाथिका १४ जना छन् । राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको संख्या ११ जनाको रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्