४२ प्रतिशत रकम असारमा मात्रै खर्च



यमलाल भुसाल, बुटवल
प्रदेश नम्बर ५ को राजधानी रहेको रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७४÷७५को कुल पुँजी गततर्फको ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार रुपन्देहीमा २ अर्ब ८० करोड ४७ लाख १ हजार ७ सय ९८ रुपियाँ अर्थात करिब ४२ प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको छ ।

जिल्लामा गत आर्थिक वर्षको असारमा मात्रै सडक डिभिजन कार्यालयले १ अर्ब ३० करोड ६३ लाख ९ सय ९९ रुपियाँ पुँजीगत खर्च गरेको छ । यसरी वर्षभरी काम नगर्ने तर आर्थिक वर्ष अन्त्य हुने बेलामा बजेट खर्च गर्नुपर्ने परिपाटी यस वर्ष पनि जिल्लामा दोहोरिएको छ ।
रुपन्देहीमा सडक डिभिजनले मात्र होइन हरेक विकास आयोजनाका लागि खोलिएका सरकारी कार्यालयले करोडांैको बजेट आर्थिक वर्षको अन्त्य असारमै खर्च गरेका छन् ।
असारमा गरिने विकासका कार्य बजेट सक्ने चलखेलको रुपमा हेरिन्छ र झरी पर्ने हुनाले असारमा हुने विकासका काम गुणस्तर भएको पाइँदैन ।

आर्थिक वर्ष २०७४÷७५ मा रुपन्देही जिल्लामा कुल २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपियाँ जम्मा अख्तियारी भएको थियो ।
जसमध्ये चालँतर्फ १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपियाँ र पुँजीगततर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपियाँ रहेको छ ।

त्यसै गरी यस आर्थिक वर्षमा राजस्व संकलन ९० अर्ब ३६ करोड ६५ लाख २५ हजार ८ सय ६२ रुपियाँ रहेको छ । राजस्व संकलन गत वर्षभन्दा १३.१८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षमा राजस्व संकलन ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रहेको जानकारी प्रमुख कोष निरीक्षक मोेतिप्रसाद भुसालले बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय दिएको तथ्याङ्कले रुपन्देहीमा शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालयले ४० करोड ७ लाख ६४ हजार ८० रुपियाँ, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले २५ करोड ९९ लाख ३ सय २९ रुपियाँ, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया–बुटवल सडक) ले २४ करोड ६८ लाख ७९ हजार ६ सय ५२ रुपियाँ, पश्चिमाञ्चल सिंचाइ विकास डिभिजन नम्बर ६ ले १२ करोड ९१ लाख ६३ हजार ७ सय ५९ रुपियाँ र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १० करोड ७१ लाख १३ हजार ४ सय ५५ रुपियाँ पँुजी गत खर्च असारमै गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्