सत्याग्रही आन्दोलनलाई हिंसात्मक नबनाआैं



चिकित्सा क्षेत्र सुधारको माग राखी आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंसहित मुलुकका विभिन्न भेगमा विरोध र प्रदर्शन भएको छ ।

सरकारको विरोध र केसीको समर्थनमा निकालिएको शान्तिर्पूण जुलुस, कोणसभाका क्रममा विभिन्न ठाउँमा झडप भएको छ । काठमाडौंमा नागरिक समाजका अगुवाले निकालेको जुलुस र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अश्रुग्याँस प्रहार गर्दा प्रदर्शनकारी घाइते भएका छन् । नेपाल तरुण दल र प्रहरीबीच झडप हुँदा तरुण दल अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत घाइते भएका छन् ।

डा.केसीको समर्थन र जिवनरक्षाका लागि शनिवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्याधिस शुशिला कार्की, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नागरिक अगुवाहरु श्याम श्रेष्ठ, कृष्ण पहाडी, केदारभक्त माथेमा सडकमा उत्रिनुभएको थियो ।

 

यसैगरी चिकित्सक संघका पदाधिकारी, चलचित्रकर्मी यादव खरेल, नायिकाद्धय मनिषा कोइराला, करिष्मा मानन्धर सहित विभिन्न कलाकार, लेखक खगेन्द्र संग्रौला लगायत पनि विरोध कार्यक्रममा सहभागी हुनु भएको थियो । डा. केसीले शुरु गरेको १५ औं अनसनको २२ औं दिनमा काठमाडौंमा सबैभन्दा ठूलो विरोध प्रर्दशन भएको हो ।

डा. केसी विना स्वार्थ चिकित्सा क्षेत्रको विकृति हटाऊ अनसन बसे पनि सरकार गम्भिर नभएको, विषय बुझेर पनि बुझ पचाएको, आफू निकटकालाई मेडिकल कलेज खोल्न दिने अनुमति दिने तयारीमा जुटेको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरे । जुम्लामा अनसन बस्नुभएका केसीलाई अधिनायकवाद र जबर्जस्त अपरहणको शैलीमा काठमाडौं ल्याइए पनि समस्या समाधानमा सरकार गम्भिर नभएको प्रदर्शनकारीको तर्क छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वानेश्वरमा भएको झडप र प्रहरी हस्तक्षेपबारे प्रधानमन्त्री ओलीसँग भेट गरी ध्यानाकर्षण गराउनुभएको छ । आफ्नो कार्यकालमा तयार भएको माथेमा आयोगको प्रतिवेदनलाई आधार मानेर तयार भएको चिकित्सा शिक्षा अध्यादेश तोडमोड नगरी कार्यान्वयन गर्न र वार्ता मार्फत समस्या समाधान गर्न उहाँले ओलीलाई आग्रह गर्नु भएको छ ।

सडक र सदनमा शुरु भएको विरोध अझै लम्बिने संभावना बढेको छ । केसीको पक्षमा त्यसै जनलहर बढेको हैन, सरकार आफैं आफू माथि विरोधका स्वर र गतिविधी बढाइरहेको छ । त्यसैले सरकारले दुई तिहाई बहुमतको दम्भ नदेखाइकन वार्ता मार्फत समाधान खोज्न ढिलो गर्नु हुँदैन । त्यसैगरी केसीको समर्थनमा सडकमा उत्रिएकाहरुले संयमता अपनाउनु बुद्धिमानी हुन्छ । आन्दोलनको नाममा अन्य हिंसात्मक गतिविधी अघि बढाइनु हुन्न, केसीको जिवन रक्षा गर्न सरकार गम्भिर बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्