कम्युनिस्ट, आलोचना र अधिनायकी



-मुक्तिबन्धु
‘सुलभाः पुरुषा राजन् सततं प्रियवादिनः । अप्रियस्य च पथ्यस्य वक्ता श्रोता च दुर्लभः । अर्थात् सधै मिठो मसिनो चाकरीको बोली बोलेर रिझाउने मानिसहरु त जति पनि पाइन्छन् । सुन्दा नमिठो तर हितकारी कुरा मात्र गर्ने वक्ता र त्यस्ता कुरा ध्यान दिएर सुन्ने श्रोता भने दुनियाँमा दुर्लभै छन् ।’ (वाल्मीकीय रामायण)

नेपालमा अहिले कम्युनिष्ट ब्राण्डको राजनीतिक दल सत्तामा छ । वीपीको प्रजातान्त्रिक समाजवादलाई पन्छाएर जीपीले अवसरवाद वरण गरेपछि नेपाली काङ्ग्रेस हिङ पोको पारेको खाली टालोसम्म पनि बाँकी रहन सकेको थिएन । सत्ताबाहिर बसेर धैर्य लिने संस्कारै नभएको बिचरो नेपाली काङ्ग्रेस अहिले ईष्र्याले जलेको छ । भित्रभित्रै मुर्मुरिएको छ । भुटभुटिएको छ । नजिकै उभिएर मासु लुछिरहेको सजातीयलाई देखेर सिक्रीतोड उफ्रानसाथ भुकानमा मुखर रहेको श्वानराजजस्तै मरिहत्ते उफ्रेको छ । कराएको छ ।

क्रान्तिकारी राजनीति छोडेर संसदीय राजनीतिमा समर्पित भएर आम निर्वाचनका माध्यमबाट सत्तामा पुगेको नेकपालाई साँच्चिकै कम्युनिष्ट देख्दै होहल्लामा दगुरेको देख्दा कहिले त लाग्छ नेपाली काङ्ग्रेस एउटा परम्परागत भजनटोली पनि हो । उसका आफ्नै थोत्रा भजनकथा र मक्किएका तुक्काहरु छन् । आफ्नै पुरानो खैँचडी र खुट्टीनाच छ । जसको कुनै समसाममयिक तुक छैन ।

भर्खरै ‘संसद्लाई सडकको निर्देश मान्य हुँदैन’ भन्ने नेकपा हुङ्कार सुनियो । यस हुङ्कारले के प्रस्ट पारेको छ भने, ‘आजको सडक भोलिको संसद् पनि बन्न सक्छ र आजको संसद् भोलिको सडक बन्न पनि सक्छ’ भन्ने इतिहास प्रदत्त चेत नेकपाले चाँडै नै बिस्र्यो । भुसुक्कै बिस्र्यो । यो सत्ताको उन्माद हो कि अल्जाइमर हो ?

नाममा नभए पनि काममा शमशेर संस्कृतिले ग्रस्त शेरवहादुरको अध्यक्षतामा रहेको नेपाली काङ्ग्रेस अहिले बाहिर जतिसुकै उफ्र,े पनि भित्र भित्र थचक्क्कै बसेको छ । यसैले विकृति विसङ्गतिहरु अलि आत्तिएका छन् । एउटा जगजाहेर यथार्थ के हो भने कुरामा प्रजातन्त्रवादी भनिए पनि व्यवहारमा ०४७ पछिको तीन दशकमा नेपाली काङ्ग्रेस जत्तिकै सत्तालोलुप र अधिनायकवादी दल नेपालमा अरु कुनै देखिएको छैन ।

 

नेपालीकाङ्ग्रेस नेपाली जनताका पक्षमा क्रियाशील रहेको कहिल्यै देखिएन । सत्ताका लागि मरिहत्ते गरेको मात्र देखियो । सत्ताबाहिर बसेर प्रतीक्षा गर्ने धैर्य नेपाली काङ्ग्रेससँग देखिँदै देखिएन । नेपाली काङ्ग्रेससँग आत्म विवेचनाको चेतना पनि देखिएन । नेपाली काङ्ग्रेस बित्थामा अरुलाई अधिनायकवादी देख्ने दृष्टिदोषको बिरामी छ ।

प्रधानमन्त्री मनमोहन अधिकारी अस्पतालमा मरणासन्न अवस्थामा पुगेका समय सत्ता हात लाग्ने खुसीमा सदनमा काङ्ग्रेसीहरु पखेटा फिँजाएर जटायु नाच नाचेको दृश्य नेपाली जनताका आँखामा आज पनि ताजै छ । नेपाली काङ्ग्रेसका विगत तीस वर्षका अर्थराजनीतिक व्यवहारले बारम्बार के प्रमाणित गरेका छन् भने नेपाली काङ्ग्रेस वीपीले परिकल्पना गर्नुभएजस्तो समाजवादी, प्रजातन्त्रवादी बाटोमा हिँडेको पार्टी हुँदै होइन । यसले अख्तियार गरेको बाटो त जीपीको अवसरवादहो, अधिनायकवाद हो ।

कम्युनिष्टका सम्बन्धमा काङ्ग्रेसीहरुले के भन्छन् ? यो मैले विगत साठी वर्षदेखि सुन्दै आएको हुँ । नेपालमा र बनारसमा समेत सुनेको हुँ । जति बेला अमेरिकाले भियतनाममा आक्रमण गरेर आततायी शैलीमा युद्ध चर्काएको थियो त्यति वेला समेत काङ्ग्रेसीहरु अमेरिकाको प्रशंसा गर्थे । पातलो शरीर र बोके दाह्री देखाउँदै हो ची मिन्हको खिसीट्यूरी गर्थे । कम्युनिष्टलाई गाली दिन्थे । अझ यो नेपाली काङ्ग्रेस हिंँग बाँधेको टालो छँदाको कुरा हो । अहिले त त्यो टालो पनि छैन ।

जगजाहेर कुरा छ आज संसदीय म्याराथनमा सहभागी कम्युनिष्टहरु स्वभावतः कम्युनिष्ट रहेका छैनन् । आजका कम्युनिष्ट ब्राण्डका सत्तासीन दलका समानतामा ०७ सालतिरको नेपाली काङ्ग्रेसलाई लिन सकिन्छ । विनम्रता र जनसेवाभावमा भने यति वेलाको सत्तासीन नेकपाभन्दा त्यति वेलाको काङग्रेसीहरु अलि अगाडि नै थिए पनि भन्न सकिन्छ ।

हालको अति भ्रष्ट नेपाली काङ्ग्रेसका तुलनामा नेपाली जनताका लागि नेकपा अलि कम भ्रष्ट विकल्प ठानिएको हो । यो अड्को पड्को तेलको धूप पनि हो । बुढापाकाहरु भन्छन्, ‘भूमिकाका तहमा आजको नेपाली काङ्ग्रेस ०८ सालको खुकुरीदल हो ।’ नेपाली काङ्ग्रेस अव आफ्नो बुताबर्गतले उठ्दैन, उठ्न सक्दैन । यसलाई उठाउने हो भने अव यही सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नै उठाउने हो ।

नेकपाको सरकार र संसदले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विधेयक तैयार गर्दा माथेमा प्रतिवेदन र डा. गोविन्द केसीको अनशनमय आवाजलाई लत्याउन जसरी जुन ताण्डव नाचेको देखियो त्यो मतदाता नेपाली जनताका कल्पना बाहिरको कुरा थियो ।

मतदाता जनताले यस नाचको स्वामित्व ग्रहण गर्ने सम्भावना छैन । नेकपा सरकारको यही ताण्डव नाच नेपाली काङ्ग्रेसका लागि भने कोरामिन बन्न पनि सक्छ । नेकपाले यस्तै यस्तै उन्मत्त व्यवहार दशाँउँदै गयो भने काङ्ग्रेस ब्युँतन्छ । उठ्छ । नेपाली जनताले फेरि पनि त्यही मन्थराको गीत गाउनु पर्ने अवस्था आउन सक्छ्– ‘कोई नृप होई हमेँ का हानि ? चेरी छोडी नहोइवे रानी !’

गफ त सवैले मिठै गर्छन् । आफुलाई म महासामन्त हूँ तानाशाह हूँ सवैलाई ठोकेरै ठीक पार्छु कुनै शीर्ष राजनेताले भन्दैनन् । कुनै पनि दलले आफ्नो विधान र घोषणापत्रमा हामी सामन्तवादी हाँै, शोषणपन्थी हौँ, तानाशाही हाम्रो संस्कार संस्कृति हो, हामी नातावाद कृपावाद र आयस्तावादलाई आत्मसात् गरेर चल्छौँ, राष्टिय ढुकुटीमा धमिराको गोलो बनेर खनिन्छौँ भन्दैनन् । भनेका छैनन् ।

०४७ पछिको नेपाली काङ्ग्रेसले पनि भनेको छैन । कुन दल धमिरा हो कुन माहुरी हो त्यो त व्यवहार हेरेर जनताले निक्र्यौल निकाल्छ । जनता काम हेरेर नाम राख्न खप्पीस छन् । गरुडपुराणका चित्रगुप्त भनेका आजका आम जनता नै हुन् । नेताका आचरण र कर्मचारीका कामकाजहरु जनताका कान आँखा र नाकबाट छिप्दैनन् । कुन नेता कस्ता कुन कर्मचारी कस्तो जनतासँग चल्ता फिरता अभिलेख रहन्छ । जनता आफैमा एक वृहत्तर सामाजिक सन्जाल हो । व्यापक सीसी टीभी हो । जुन समय यी उपकरण थिएनन् जनतासँग ती यन्त्रका क्षमता सवै थिए र निरन्तर कार्यान्वयनमै थिए । आज पनि छन् । कुन नेता केवल अभिनेता हो र कुन दल नौटङ्की दलदल हो जनता आफै सप्रमाण निक्र्यौल गर्न सक्छन् । गर्दै आएका छन् ।

हाम्रा गुरु गोपालप्रसाद गुरुज्यु भन्नुहुन्थ्यो, ‘दशैँमा मकहाँ टीका थाप्न आउनेहरुलाई आशीर्वाद दिनुपर्दा ‘चेतेस् !’ भन्छु । कसैलाई मुखैले भन्छु । कसैलाई मनमनले भन्छु । मानिसमा चेत आएपछि बल्ल सुधार सुरु शुरु हुन्छ, परिवर्तन सुरु हुन्छ । चेत्नु नै भाग्यभविष्य निर्माणको पहिलो कदम हो । जो चेत्दैनन् ती कहिल्यै अग्रगामी हुनसक्दैनन् ।’

नेपालमा सत्तासीनहरुले कहिल्यै चेतेनन् । चेते त आसनबाट खुरमुरिइसकेपछि चेते । कान्लामुनि पुगेपछि भ्यागुताले जति चेते पनि कान्लोमाथि उक्लन सम्भव छैन । नेपालको राजनीतिक इतिहासमा शेरबहादुर साँच्चिकै बहादुर हुन् । उनले खुरमुरिएर भीरमुनि पुग्नमा नेपाली काङ्ग्रेसलाई राम्रै मद्दत पु¥याए । सम्भवतः नेपाली कांग्रेस खुरमुरिएर अझै तल्लो फेदीमा नपुग्दासम्म चेत्दैन । त्यो नै काङ्ग्रेस हुनुको नियति पनि हो ।

अव समाजवादको देवदूत भनिएको नेकपा हुनुको नियति के हो त ? भर्खरै ‘संसद्लाई सडकको निर्देश मान्य हुँदैन’ भन्ने नेकपा हुङ्कार सुनियो । यस हुङ्कारले के प्रस्ट पारेको छ भने, ‘आजको सडक भोलिको संसद् पनि बन्न सक्छ र आजको संसद् भोलिको सडक बन्न पनि सक्छ’ भन्ने इतिहास प्रदत्त चेत नेकपाले चाँडै नै बिस्र्यो । भुसुक्कै बिस्र्यो । यो सत्ताको उन्माद हो कि अल्जाइमर हो ? जे भए पनि यो लर्तरो कुरा होइन ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा माथेमा प्रतिवेदन लत्याउनु, डा० गोविन्द केसीसँग विगतमा सरकारले १४ पटक सम्पुटित गरेका सम्झौता लत्याउनु र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई माफियाकरण गर्न ऐन बनाएरै सघाउन खोज्नुले नेकपा हुनुको नियति निर्धारणको शुभलाभी सङ्केत प्राप्त भइसकेको छ भन्नुमा नियमापत्ति नहोला । लाग्छ माफियाहरु, डनहरु, स्वर्णतस्करहरु, र यस्ता अरुहरुप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हृदय विशाल देखिएको छ ।

‘यं प्रशंसन्ति राजानः यं प्रशंसन्ति तस्कराः । यं प्रशंसन्ति बन्धक्यः स पार्थ, पुरुषाधमः । अर्थात् जसलाई सामन्त, महासामन्तहरुले प्रशंसा गर्छन्, जसलाई तस्करहरुले प्रशंसा गर्छन् , जसलाई बारवधू चरित्रका व्यक्तिहरुले प्रशंसा गर्छन् ती अधम मानिसहरु हुन् ।’ (भीष्मयुधिष्ठिर संवाद, महाभारत)

आज सत्तासीन नेकपाका विशाल हृदय र उदारताको प्रशंसा कसले गर्छ ? अध्ययनको विषय बनेको छ । माओले भनेका छन्, ‘कम्युनिष्टको हृदय विशाल हुनुपर्छ । कम्युनिष्टले निष्टावान् र सक्रिय हुनुपर्छ । क्रान्तिको हितलाई आफ्नो प्राणभन्दा बढी मूल्यवान् ठान्नुपर्छ । आफ्ना व्यक्तिगत हितलाई क्रान्तिका हितको अधीनमा राख्नुपर्छ ।

कम्युनिष्टले सधैँ र सवै ठाउँमा सही सिद्धान्तमा अडिग रहनु पर्छ र सवै गलत विचार र गलत कामका विरुद्ध अथक संघर्ष चलाउनुपर्छ । यसो गर्दा सामूहिक जीवन अझ बढी सुदृढ हुन्छ । पार्टी र आम जनताका बीचकोसम्बन्ध अरु बलियो बन्छ । कम्युनिष्टले कुनै व्यक्तिविशेषको भन्दा पार्टीको, र आम जनताको चिन्ता लिनुपर्छ । आफ्नोभन्दा बढी अरुको ध्यान दिनुपर्छ । अनि मात्र सच्चा कम्युनिष्ट बन्न सकिन्छ ।’ (७ सेप्टम्बर १९३७ मा सङ्कलित ‘उदारताको विरोध गर’ शीर्षक रचनाबाट साभार)

नेकपाका नेताहरुमा माओले भनेजस्ता गुणगण अरु केही नभेटिए पनि स्रोत नखुलेको पूँजी लगानी गरेर कुस्त आय आर्जनमा प्रतिवद्ध आफ्ना सहयोगी आत्मीय महाजनहरुको सर्वाधिक हितभलोका लागि भने हृदय विशाल छ । जुङ्गे साहुको ‘बीस हाते भकारी’ र जमीनदारको ‘बहुत बडा खलिहान’भन्दा पनि विशाल छ । ‘विशाल हृदयी’ संसदवादी सरकारको सडकविरुद्धको हुङ्कार सुनेपछि र स्वास्थ्य तथा शिक्षाका निजीकरण पसलहरुमा व्यापारी साथीहरुका लगानी सुरक्षाको लागि दह्रो अडान देखेपछि हामी नेपाली जनता ढुक्क भएका छौँ, अब नेपालमा समाजवाद आउँछ । छिट्टै आउँछ ।

 

 

प्रतिक्रिया दिनुहोस्