छिमेकी वडामा अध्यक्षहरुको सहयोग



हेटौंडा ।
उपमहानगरका दुई वडा अध्यक्षले सामाजिक सेवा थालेका छन् । उनीहरुले आफूले राज्यबाट पाउने सेवासुविधालाई सामाजिक कार्यमा खर्चन सुरु गरेका हुन् ।
हेटांैडा–५ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित राजेश बानियाँ र १४ मा तत्कालिन एमाओवादीबाट निर्वाचित दीपक खड्का अन्य वडा अध्यक्षका लागि अनुकरणीय बन्दै वडा–१३ को ठूलोथलीस्थित गुम्बाडाँडामा पर्यटकीय पार्क निर्माणका लागि रकम खर्च गर्नुभएको हो ।
उहाँहरुले उपमहानगरका सबै १९ वडामा आफूहरुले राज्यबाट पाउने सुविधावापत् रकम पालैपालो सामाजिक कार्यमा खर्च गर्ने योजना बनाउनुभएको छ । निर्वाचनका बेला आफूहरुले राज्यबाट पाउने कुनै सुविधा नलिने गरेको बाचाअनुसार बानियाँ र खड्काले पारिश्रमिकवापत् रकम हरेक वडामा खर्चने बताउनुभयो ।
उहाँहरुले गुम्बाडाँडामा पक्की स्टेज बनाउन एक लाख पचास हजार रुपियाँको चेक हस्तान्तरण गर्दै निर्माण शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रम वडा–१३ अध्यक्ष मनोज वाइबाको प्रमुख आतिथ्यतामा भएको थियो । वाइबाले छिमेकी वडाका अध्यक्षहरुप्रति आभार ब्यक्त गर्नुभयो ।
स्थानीयले छिमेकी वडाका अध्यक्षहरुको सहयोगको प्रशंसा गर्दै सबै अध्यक्षले यसरी नै जनहितमा काम गरे स्थानीयस्तरमा विकास हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्