भारतका विभिन्न स्थानबाट ४ बालकको उद्धार गरी रुपन्देही प्रहरीलाई हस्त्तान्तरण



यमलाल भुसाल, बुटवल ।
घर छाडेर भारतमा पुगी एउटा बाल कल्याण समितिमा आश्रय लिइरहेका चार जना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीले स्वदेश फिर्ता गराएको छ । उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाएका हुन् ।

बालकलाई भारतका विभिन्न स्थानबाट उद्धार गरी राजकीय बालगृहमा राखिएको थियो । प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले दुई जना बाहेक अरु दुई बालकले आफ्नो घर बताउन समेत नसकेकाले सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

काठमाडौं कोटेश्वरस्थित सुन्दर बजार घर बताउने बिजय तामाङ्ग, कुसुमघाट घर बताउने राजेश कुमार र घर ठेगाना बताउन नसक्ने सन्तोष र सुमित कुमार नामका बालकलाई नेपाल ल्याइएको हो । उनीहरुलाई आफ्नो घर पुराउने पहल गर्न भारत सरकारले दिल्लीस्थित नेपाली दुतावासलाई पत्राचार गरेपछि दुतावासले प्रवासी नेपाली मित्र मञ्चलाई जानकारी गराएकोले मञ्चले स्वदेश फर्काएको हो ।
बालकहरुको जिम्मा लिँदै रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले सम्भव भएका बालकहरुलाई घर पुराउने कोसिस गर्ने तर घर पत्ता नलागेकालाई सरकारी आश्रयस्थलहरु आश्रय दिई पठनपाठन गराउने बताउनु भयो ।

मित्र मञ्चका अनुसार १० देखि १४ वर्ष उमेरका बालकमध्ये एकजना घरबाट भागेर भारत पुगेका थिए भने अन्य भारतकै बिभिन्न स्थानहरुमा भेटिएपछि त्यहाँका सामाजिक संघसंस्थाहरुले उद्धार गरि राजकीय बाल कल्याण समितिमा पुराएका थिए ।

प्रतिक्रिया दिनुहोस्